दश इन्द्रियमाथि विजयको उत्सव– विजयादशमी

Advertisement

शिरीषवल्लभ प्रधान
विजया दशमी नेपालीहरुको निम्ति महान् राष्ट्रिय चाड हो । वडादशैं केवल हिन्दूहरुले मात्रै नभै बौध्द लगायत अन्य धर्मावलम्वीहरुले आफ्आफनै तरिकाले मनाउछन् । त्यसैले त दशैंमा आधा जनसंख्या काठमाडौं बाहिर जान्छ आफ्आफ्नो घरतर्फ, राजधानी शहर नै सुनसान हुने गरी । सबै नेपालीले दशैं मनाउंछन् धूमधामसंग देवीको पूजा आराधना गरी, मीठो परिकार तयार गर्दै, नयां लुगा लगाई, परिवारसंग बसी रमाइलो गर्दै । के दशैं यत्ति नै हो त, खायो, पियो, रमाइलो गर्यो टिकालायो सकियो । दशैं किन यति महत्वपूर्ण छ, किन यसरी सिंगो राष्ट्र नै दशैं मनाउनमा मस्त हुन्छन् त ? वास्तवमा यो केवल सांस्कृतिक र परम्परागत हिसाबले मात्र नभै आध्यात्मिक हिसावले पनि एक महत्वपूर्ण पर्व हो । कतिपयले यसको महत्व बुझेर दशैं मनाउंछन् भने कतिले नबुझेरै पनि मनाउने गरेका छन ।

दशैं आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको उत्सव हो, चाहे त्यो रामव्दारा रावणको वध गरिएको अवसर होस् वा सर्वशक्तिमान् देवीव्दारा महिषासुरको वध गरिएको अवसर होस् । विजयादशमी असत्यमाथि सत्यको विजयको पर्व हो, अन्धकारमाथि प्रकाशको विजयको पर्व हो । अझ भन्नपर्दा यो आत्मविजयको पर्व हो । रावणका दश टाउकाहरु हाम्रा दश इन्द्रियहरुका प्रतीक हन्, पांच ज्ञानेन्द्रिय र पांच कर्मेन्द्रिय । ती इन्द्रियरुपी दश टाउकोलाई शुध्द चेतना र विवेकको तरवारले काटेपछि मानिस आत्मजेयी कहलाइन्छ अर्थात् उसलाई आत्मज्ञान प्राप्त हुन्छ र विजयादशमी त्यही आत्मविजयको प्रतीकस्वरुप मनाइने उत्सव हो । असुर हामी भित्रै छ, त्यसलाई खोज्न कतै बाहिर जान पर्दैन । जब ती इन्द्रियहरु अनेकन कामनाहरु पूर्ति गर्नकानिम्ति विषय, वासना तर्फ आकर्षित हुन्छन्, तब त्यहां आसुरी प्रवृत्ति प्रकट हुन्छ । किनभने मानिस कामनाहरुको पछि लागेर कहिल्यै सन्तुष्ट हुंदैन, एउटा कामना पूर्ति भएपछि फेरि अर्को कामना उत्पन्न भैहाल्छ । रावणको एउटा टाउको काटेपछि पुनः अर्को टाउको उत्पन्न भए जस्तै । त्यसैले कामनाको पछि लाग्ने आसुरी प्रवृत्तिका मानिस कहिल्यै सुखी हुन सक्दैन । रावणलेआफ्नी पत्नीले मात्र चित्त नबुझाई अर्काकी पत्नीमा समेत आंखा गाडेपछि उनको विनाश  भयो । श्रीमद्भागवत अनुसार नृसिंहरुपी विष्णुले प्रशन्न भै प्रल्हादलाई तिमी के वर माग्छौ भनी प्रश्न गर्दा प्रल्हादले भन्छ, यदि वर दिनुनै छ भने हे भगवान् मलाई त्यस्तो वर दिनुस् कि मेरा मनमा कामनाहरुको वीज पनि उत्पन्न नहोस् । किनकि उनलाई थाहा थियो कामनाहरुले सधैं बन्धनमा पारिराख्छ, त्यसबाट कहिल्यै मुक्ति पाइन्न भनेर ।

Advertisement

दुर्गा सप्तशतीको कथामा वर्णित विष्णुको कानबाट उत्पन्न मधु, कैटभ जस्ता दैत्यहरु वास्तवमा विषय, वासनाहरुतर्फ दौडिरहने हाम्रा इन्द्रिय नै हुन् । यहां कान पांच ज्ञानेन्द्रियको प्रतीक हो । कानबाट पलाएका ती विषयतर्फ प्रवृत्त इन्द्रियरुपी असुरहरुले सृजनात्मकताका प्रतीक ब्रह्माको हत्या गर्ने दुस्साहस गरेपछि तिनलाई शुध्द चैतन्यरुपी विष्णुले परास्त गरेका थिए । मार्कण्डेय पुराणमा आधारित सो कथा अनुसार एवं रीतले विभिन्न असुरहरुसंग देवताहरुको संघर्ष चल्छ र अन्त्यमा सम्पूर्ण देवी, देवताहरुको शक्ति संचय गरी दुर्गा भवानीले महिषासुर वध गर्छिन् ।

वास्तवमा देवासुर संग्राम हामी भित्र सदासर्वदा चलिरहेकै हुन्छ । हाम्रो मनमा कहिले आहार, निद्रा, कामवासना, मनोरन्जन जस्ता पाशविक प्रवृत्ति हावी हुन्छन् भने कहिले शास्त्र तथा गुरु वचनको अनुशरण गरी इन्द्रियहरुलाई संयमित राख्दै मुक्ति र स्थायी शान्तिको मार्ग खोजी गर्ने निवृत्ति मार्ग प्रति आकर्षण देखिन्छ । यी दुईप्रकारका स्वाभाविक प्रवृत्ति र शास्त्रोक्त निवृत्ति वीच अन्तरव्दन्व्द हजारांैवर्ष देखि, जन्मजन्मान्तरदेखि चलिआएको देवासुर संग्राम हो। त्यसमा कहिले देैवी प्रवृत्तिको विजय हुन्छ भने कहिले आसुरी प्रवृत्तिको । यो मनभित्र चलिरहने अन्तव्र्दन्व्दको उचित व्यवस्थापन गर्न सकियो भने आखिरमा अमृतरुपी सत्य प्रकट हुन्छ ।

वेदमा भनिएको छ, संसार माया हो, जुन असत्य छ, ब्रह्म मात्र सत्य छ, अर्थात् ब्रह्म सत्य, जगन्मिथ्या । ईश्वरले आफ्नो माया शक्तिव्दारा संसार सृष्टि गर्छ र त्यही महामाया ले सम्पूर्ण प्राणिहरुलाई वशमा पारिरहेको हुन्छ ।

सो कथा अनुसार घरबारबाट आफ्नै पत्नी तथा पुत्रहरुव्दारा निकालिएका समाधि नामक वैष्य र दरवारबाट पदच्युत गरिएका राजा सुरथ सांसारिक जीवनबाट विरक्त भै जंगलमा पस्दा उनीहरुको एकापसमा भेट हुन्छ । वैष्यलाई घरबाट निकालिए पनि आफ्नी पत्नी, पुत्र, घर तथा धनसम्पत्तिको चिन्ता लागिरहेको हुन्छ भने राजालाई अझै पनि दरवारका भाइभारदार, परिवारजन, हात्ति, घोडा एवं प्रजाहरु के कस्तो अवस्थामा होलान् भन्ने चिन्ताले सताइरहेको हुन्छ । उनीहरु दुबै मेधा ऋषिको शरणमा जान्छन् र आफ्ना चिन्ताका कारण जान्न खोज्छन् ।

मै हुँ भन्ने ज्ञानी पण्डितलाई पनि देवीको सम्मोहन शक्ति वा मायाले बलपूर्वक खिँचेर संसार सागरमा फसाइराखेको हुन्छ, दुर्गासप्तशतीका अनुसार राजा सुरथ र समाधि वैष्यलाई मेधा ऋषिले यस्तोे उपदेश दिन्छ । ती देवीको मोहनी शक्तिबाट छुट्कारा पाउन देवी कै आशिर्वादको जरुरत छ भन्दै ऋषिले देवीको उपासना गर्ने उपाय उनीहरुलाई बताउंछन् । देवीको त्यस मोहनी शक्तिको महिमा गाउंदै काठमाडौका नेवार समुदायले दशैंलाई मोःनि भनेका हुन् । दशैंमा सामान्यतया अवीर, चामल र दही मिश्रित रातो टिका लगाइन्छ । तर नेवारहरु रातो टिकासंगै मसिनो कालो थोप्लो टिका पनि लगाउंछन्, शायद त्यही मोहनी शक्तिबाट रक्षा होस् भनेर । यसरी मेधा ऋषिको उपदेश सुनेर सुरथ र समाधि दुबै देवीको उपासनामा लाग्छन् । उनीहरुले ऋषिको सल्लाह अनुसार नदी किनारामा गै बालुवाबाट देवीको मूर्ति बनाई निराहार रही फूल, फलफुल, अक्षता, अवीर, धूप, दिप आदि व्दारा देवीको पूजाआजा गर्छन् । साथै आफ्नै शरीरको अलिकति रगत देवीलाई चढाउंछिन् ।

शास्त्रले हाम्रा अगाडि दुई मार्गहरुको व्यवस्था गरेको छः श्रेय र प्रेय, जुन कथोपनिषद्मा यमराज र नचिकेतावीचको सम्वादको माध्यमले पनि दर्शाइएको छ ।  श्रेय त्यस्तो मार्ग हो, जो निरस देखिन्छ तर अन्ततोगत्वा त्यसबाट परम् शान्ति र मुक्ति पाइन्छ भने प्रेयलाई अपनाउनेहरु क्षणिक आनन्द र मोजमस्तीमा जिन्दगी बिताउंछन् तर उनीहरु सदा दुःखले भरिपूर्ण संसारमा जन्म, मृत्युको चक्रमा फसिरहन्छन् ।

उनीहरुको उपासनाबाट देवी प्रशन्न भई तिमीहरु के वर माग्छौ भनी सोध्दा राजाले मेरो राज्य फिर्ता होस्, म फेरि राजकीय सुख भोग गर्न पाउं भनी वर माग्छ भने वैष्यले मलाई ज्ञान दिनुस् ताकि मलाई यस सांसारिक भुलभुलैयाबाट मुक्ति मिलोस् भनी माग्छ । देवीले तथास्तु भन्दै दुबैलाई आफ्आफ्नो इच्छानुसार वर दिन्छन् । राजाले अर्को जन्ममा पुनः सम्राट भै सुखसयल भोग गर्ने वर माग्छ र त्यसैनुसार उनको कामना देवीले पूरा गरिदिन्छन् भने वैष्यलाई ज्ञान मार्फत परम् पुरुषार्थ स्वरुप मोक्ष प्रदान गर्छन् । वेद, उपनिषद्मा यही दुई मार्ग प्रवृत्ति र निवृत्ति वारे उल्लेख छ । वैष्यले छान्दोग्योपनिषद्मा उल्लिखत न च पुनरावर्तते अर्थात् संसारमा पुनरागमन हुन नपर्ने गरी परम्पद प्राप्त गर्छन् ।

यसरी विजया दशमीले दश इन्द्रियलाई वशमा राख्तै संयमित र सन्तुलित भई जीवन ज्युन सक्नुपर्छ भन्ने सन्देश हामीलाई दिएको छ ।

Advertisement