आर्थिक मन्दीले गर्दा बीमाको आवश्यकता र महत्व झनै बढेको छः तिवारी

Advertisement

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका निवर्तमान अध्यक्ष नन्द तिवारीले आर्थिक मन्दीका कारण बीमाको आवश्यकता र महत्व झनै बढेको दावी गरेका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आर्थिक क्षेत्रमा देखिएको विषम अवस्थाले मानिसहरुमा लगानी, बचत र रक्षावरणको महत्व दर्शाएको बताए । तिवारी भन्छन्, ‘विगतका दशैंतिहारमा मैले फजुल खर्च नगर्नु, त्यस्तो पैसा बीमामा लगाउनु भन्दै आएको थिएँ । तर, अहिले मैले दिने सल्लाह परिवर्तन भएको छ । किनभने अहिले अवस्था फरक छ । अहिले फजुल खर्च कटौती गरेर जम्मा गर्दा त्यस्तो पैसाले दिने परिणामबारे धेरै जानकार भइसकेका छन् ।’ 

Advertisement

गएको एक बर्षमा धेरैले बीमा गरेको र देशव्यापीरुपमा मानिसहरुको क्रयशक्ति कमजोर भएको बेलमा मानिसहरुले गर्जो टार्न बीमाको रकमलाई प्रयोग गरेको तिवारीले उदाहरण पनि दिए । 

यस्तो छ उनको बाँकी भनाईः 
अहिले म्याचुरिटिको रकमलाई प्रयोग गरेर धेरै जनाले आर्थिक संकटको बेलामा बीमाको पैसाले महत्वपूर्ण काम चलाएको मलाई थाहा छ । अहिले दशैं छेउछाउकै कुरा गर्ने हो भने धेरै बीमित साथीहरुले मलाई बीमा पोलिसि धितो राखेर ऋण निकालौ भन्नु भएको छ । यस्तो भन्नुको एक मात्रै कारण भनेको बीमा पोलिसि धितो राख्दा पाइने ऋणको ब्याज दर सस्तो पर्ने भएको हो ।  

कतिपयलाई प्रत्येक दशैंमा आफ्नो खर्च टार्न मुस्किल हुनेगर्छ । हामीले त्यही भएर पनि बीमा गराउनु भन्छौ । एउटा मानिसलाई सामान्य अवस्थामा भन्दा चाडपर्वमा आर्थिक संकट बढी पर्छ । ठूल्ठूला विपत्तिमा झन बढी संकट पर्छ । बीमा एउटा यस्तो साथी हो जसले तपाइँको आपतविपतमा आर्थिक सहायताको काम गर्छ । 

आर्थिक मन्दीले बीमाको महत्व दैनिक बढाएको देखिन्छ । पहिले पहिले त बीमा भनेको धनीहरुको लागि मात्रै हो, गरिबको लागि होइन भन्ने थियो । अहिले त्यस्तो सोचाईमा धेरै परिवर्तन आएको अवस्था छ । अहिले त बीमाले आर्थिक सहायता गर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकाहरुको लागि नै बीमा चाहिने भन्ने सत्य पनि स्थापित भएको अवस्था छ । 

मलाई जहाँसम्म लाग्छ अहिलेको समाजमा पहिले पहिलेको जस्तो बीमा बुझाउन पनि त्यति धेरै कष्ट गर्नु पर्दैन । धनीले बैंक परिचालन गर्न सक्छ । उसँग सम्पत्ति पनि धेरै हुन्छ । तर गरिबलाई कठिनाई पर्छ । गरिबहरुले धनी कहाँ ऋण लिने गरेको पनि पाइन्छ । अब धनीसँग होइन बीमासँग नजिक हुनेले धेरै लाभ पाउँदा रहेछन् भन्ने कुराहरु पनि आममानिसले बुझ्न थालिसकेका छन् । हामी अभिकर्ताहरुले बारम्बार बुझाउन खोजेको कुरा पनि त्यही हो । 

अब चर्को व्याज लगाउने, मौका छोप्नेलाई होइन बीमालाई लगानी गर्ने गर्नुपर्छ । श्रमजीवीले थोरै रकम बीमालाई बुझाउँदा उनीहरुले भविष्यमा ठूलो प्रतिफल पाउँछन् । 

Advertisement

Advertisement