विदेशबाट आएको समानमा सुन भए/नभएको कसरी छुट्याउँछ एक्सरे मेसिनले ?

Advertisement

काठमाडौं । पछिल्लो समय नेपालमा सुन तस्करी बढ्न थालेको छ । नेपालको फितलो प्रशासनिक कमजोरीको फाइदा उठाउँदै सुन तस्करी बढेको हो ।

भन्सार विभाग अन्तर्गत रहेका ४१ वटा भन्सार कार्यालय मध्ये एक भन्सार कार्यालयमा मात्रै एक्सरे मेसिन रहेको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा मात्रै समान स्क्यान गर्ने मेसिन रहेको छ । सोहि मेसिनबाट जाँचपास गरेको ब्रेक सु मा सुन भेटिएपछि भन्सारका ७ कर्मचारीले मुद्दा खेपिरहेका छन् ।

Advertisement

हवाइजहाज चढाएर ल्याइने समान त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गोदाममा आइपुग्छ । यसरी समान गोदाममा आइपुगेपछि भन्सार एजेन्टले प्रज्ञापन पत्र सहित भन्सार घोषणा गर्ने गरिन्छ । यसरी भन्सार घोषणा भएपछि कार्यालयको मूल्यांकन शाखाले सन्दर्भसूचि वा कानुन बमोजिम लाग्नुपर्ने राजस्व तोकिन्छ । यसरी आयातकर्ताले लाग्नुपर्ने राजस्व तिरेपछि सामान जाँचपासमा लगिन्छ ।

सबैभन्दा पहिले कार्यालयको एक्सरे मेसिनमा राख्ने गरिन्छ । यसरी सामान राख्दा एक्सरेले सामानको इमेज देखाउने गर्छ । एक्सरे मेसिनमा विशेष किसिमको रे को प्रयोग गरिएको हुन्छ । यो रेले वस्तुको घनत्व वा खदिलो पन अनुसार वार पार गर्ने गर्छ । सामान्यतय सुन र हिरालाई यो रेले सहजलै वारपार गर्न नसक्ने भन्सार विभागका निर्देशक मानबहादूर पौडेलले बताए ।

एक्सरे मेसिनको रेले वस्तुलाई वारपार गर्न नसकेपछि गाढा धब्बा देखिने गर्छ । यसैका आधरमा जोखिम युक्त सामाग्री हो या होइन भनि छुट्याउने गरिन्छ । निर्देशक पौडेलले कर्पोरेट नेपालसँग भने, 'वस्तुको एक्सरेमा वस्तुको गाढा आकृति आएमा यसलाई जोखिमयुक्त मानिन्छ, यसैको आधारमा सुन या हिरा छुट्याउन सकिन्छ ।'

साउन २ गते रेडी ट्रेड प्रालीले ल्याएको ब्रेक शु एक्सरेमा गाढा धब्बा देखाएको थियो । यो विषयमा निर्देशक पौडेललकै नेतृत्वमा आन्तरिक छानविन समिति बनेको थियो । समितिले अध्ययनमा एक्सरेमा रहेका सरोज श्रेष्ठले ब्रेक शुको गाढा धब्बा देखिएपछि जोखिमयुक्त भनि छुट्याएका थिए । यसपछि मूल्यांकनमा बस्ने खरिदार कुमार ढकाल र अधिकृत सन्तोष चन्दले केही पिस चेक जाँच गरेको बाहिरबाट सुन नदेखिएकाले सामान जाँचपास गरेको सिसि क्यामेरा भिडियोमा देखिएको छ ।

एक्सरे मेसिनले गाढा धब्बा देखाएपछि भन्सार कर्मचारीले सामानलाई फुटाएरै हेर्नुपर्ने बाध्यता छ । नेपालको भन्सार मध्ये त्रिवी भन्सार कार्यालयमा मात्रै एक्सरे मेसिन रहेको छ। अन्य भन्सार कार्यालयमा एक्सरे मेसिन रहेको छैन ।

सुनचादी तस्करीको बिगबिगी रहेको बेला अन्य भन्सार नाकाबाट सुन चेकजाँच गर्ने कुनै  मेसिन रहेको छैन। पछिल्लो समय तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट सुन तस्करी भैरहेका छन् । यदि कुनै व्यक्तिले कुनै वस्तुमा सुन मिलाएर ल्याए त्रिवी भन्सार कार्यालय भन्दा बाहिरबाट सजिलै ल्याउन सक्ने अवस्था छ ।

Advertisement

Advertisement