ईभी र पेट्रोल ट्याक्सीको इन्धन खर्चमा ठूलो भिन्नता, भाडादर भने एउटै, सरकार मुकदर्शक

Advertisement

काठमाडौं । विद्युतीय ट्याक्सी र पेट्रोलबाट सञ्चालित ट्याक्सीको इन्धन मूल्यमा निकै ठूलो अन्तर भए पनि भाडा दरमा यात्रुले पाउने सुविधामा भने कुनै अन्तर छैन् । 

यो भाडादर निर्धारण वैज्ञानिक र न्यायोचित गर्नुपर्छ भन्ने कुरामा सरकारी निकाय यातायात व्यवस्था विभाग नै उदासिन र अन्योलमा देखिन्छ । अहिले विद्युतीय सवारी साधन (ईभी)का ट्याक्सीहरु राजधानीका सडकहरुमा पनि बाक्लो देखिन थालेको छ । यस्ता ट्क्याक्सीको ब्याट्री रिचार्ज गर्दा हुने इन्धन खर्च पेट्रोल ट्याक्सीको भन्दा कयौं गुणा सस्तो पर्छ ।  

Advertisement

भन्सार महशुलदेखि विद्युत महशुलसम्म सस्तो भएका आधारमा यात्रुहरुलाई पनि सहुलियत भाडादरमा सुविधा दिनुपर्नेमा अहिलेसम्म यात्रुले सो सुविधा पाउन सकेका छैनन् । यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडेलले उल्टै ईभी ट्याक्सीको पक्षमा वकालत गरे । 

उनी भन्छन्, ‘विद्युतीय ट्याक्सी किन्दा अन्य ट्याक्सी भन्दा धेरै लागत लाग्छ । त्यस्ता ट्याक्सीको लागत र बैंकको किस्ताका कारण भाडा घट्नुपर्ने जति नघटेको हुनसक्छ । एकातर्फबाट मात्रै हेरेर त हुँदैन । हामीले दीर्घकालिन रुपमा पनि हेर्नैपर्ने हुन्छ ।’ 

विद्युतबाट चार्ज गर्दा पेट्रोल गाडीको भन्दा सस्तो पर्ने भएकाले पनि ईभी ट्याक्सीको भाडा दर कम पर्नुपर्ने कुरालाई पौडेलले स्वीकार गरे । उनको भनाईअनुसार ईभी ट्याक्सीको तत्काल भाडादर समायोजनको पक्षमा विभाग छैन् । 

यता नेपालमा ईभी बिक्री वितरण गर्दै आएका व्यवसायी लोकेश ओलीले ईभी ट्याक्सीको भाडादर कम गर्दा पेट्रोल ट्याक्सी चलाउनेहरुलाई नै असर पर्ने भएकाले आफूहरुले भाडा नघटाएको तर्क गरे । 

उनले भने, ‘ईभीले त अहिले पनि भाडा दर सस्तो गरौं भनिरहेकै छन् । ईभी सस्तो भयो भने पेट्रोल ट्याक्सीको व्यवसायमा असर पर्छ भनेर हो । ईभीको भाडादर कम हुने बित्तिकै पेट्रोल ट्याक्सीहरुको व्यवसाय सुक्छ । नभए त ईभी किनेपछि यसबाट किन्न व्यक्ति र यात्रु दुवैलाई लाभ हुने अवस्था छ ।’ 

बनेपा–बर्दिबास चल्ने कतिपय विद्युतीय सवारी साधनले भाडादर सस्तो गर्न खोज्दा अर्काथरी व्यवसायीले विरोध गरेर महङ्गो भाडादर कायम गर्न बाध्य भएको उदाहरण दिँदै ओलीले नचाहेर पनि यात्रुसँग ईभी ट्याक्सी र बसहरुले बढी भाडा अशुल्नुपरेको स्वीकार गरे । अन्तर्राष्ट्रिय बजारका कारण पेट्रोलियम पदार्थको भाउ आकाशिएको बेला विद्युत महशुल भने स्थिर छ । ईभीलाई प्रोत्साहित गर्न अझ विद्युत महशुलमा कमी गर्ने तथा सहुलियत दिनुपर्ने आवाज समेत उठ्ने गरेको छ । नेपालमै उत्पादित विजुली खेर जान दिनुभन्दा खपत बढाउनुपर्ने माग भइरहेको बेला विद्युतीय सवारी साधनको आयात पनि दिनप्रतिदिन बढ्दै गएको छ । 

ट्याक्सीहरुबाट यात्रुहरु ठगिने समस्या लामो समयदेखि रहँदै आएको छ । ट्याक्सीमा यात्रा गर्न खोज्दा मिटरमा जान नमान्ने, अस्वाभाविक बढी रकम माग गर्ने, आफ्नो अनुकुलको रुटमा मात्रै जान खोज्ने, सामान छुटे फिर्ता नहुने जस्ता समस्या रहँदै आएको छ । विगतमा यात्रुलाई एकान्त स्थानमा लगेर लुटपाट गर्नेदेखि बलात्कारका घटनासमेत हुने गरे पनि अहिले भने त्यसमा कमी आएको छ । 

एकातिर सरकारले नै ईभी ट्याक्सीलाई बढ्वा प्राथमिकता दिने नीति लिएको छ । यस्तो ट्याक्सीप्रति मानिसहरुको आकर्षण बढाउन भाडादरमा कमी गरिनुपर्नेमा न त ट्याक्सी चालक र सञ्चालकहरुले ध्यान दिएका छन्, न त सरकारले नै त्यसमा ध्यान दिएको छ । 

Advertisement

Advertisement