अर्थतन्त्रबारे अर्थमन्त्री र गभर्नरको विपरित धारणा, अर्थतन्त्र अनिश्चिताको भुमरीमा छः अधिकारी

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अनिश्चिताको भुमरीमा परेको बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउँदै गभर्नर अधिकारीले भने त्यसको ठिक विपरित धारणा राखेका हुन् । 

अधिकारीले अर्थतन्त्र सकरात्मक दिशामा अघि बढ्ने समयमा आन्तरिक तथा अन्तर्राष्ट्रियसँगै समस्याले अफ्ठ्यारो पार्ने गरेको बताए । उनले पछिल्लो समय अन्तर्राष्ट्रिय तथा आन्तरिक रुपमा नेपालको अर्थतन्त्रमा अनिश्चिताको भुमरी देखिएको बताए । 

Advertisement

नेपालको अर्थतन्त्रमा भूकम्प र कोरोना महामारीले ठूलो असरपछि रुस–युक्रेन युद्ध नरम हुन नपाउँदै अधिकारीले अर्को इजरायल र हमासको युद्ध र शुक्रवारको भूकम्पले थप असर पार्ने बताए । उनले बाह्य क्षेत्र सकरात्मक हुँदा त्यसको फाइदा लिन सक्नुपर्ने बताए । 

उनले सप्लाई चेन र बजारमूल्य निर्धारणको कारण मूल्यवृद्धि हुने गरेको बताए । अधिकारीले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजना छिटो टुंग्याउँदा अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने बताए । 

उनले भने, ‘मुलुकको अर्थतन्त्र विश्व परिवेशमा हेर्दा केही वर्षदेखि अनिश्चिताको बीचमा भूमरीमा परिरहेका छौं । एउटा समस्या सकियो । फेरि अर्को समस्या आउने गरेको छ । भूकम्प र कोभिड महामारीले ठूलो असर गर्यो । अन्तर्राष्ट्रिय रुपमा भएका रुस र युक्रेनको युद्ध नरम भएर अर्थतन्त्र लयमा आउँछ भनेको समयमा खाडी तिर अर्को युद्धका कारण विश्वमा नै त्यो खालको अनिश्चिता देख्छौंं । शुक्रवार बेलुका फेरि पश्चिम नेपालमा भूकम्पले ठूलो क्षति पुर्याएको छ । यसले गर्दा पनि नेपालमा समय–समयमा ठूलो समस्या ल्याइरहेको छ । यस्तो हुँदा पनि नेपालको अर्थतन्त्रमा केही राम्रा कुराहरु छन् । जसलाई हामीले अगाडि ल्याउन सकिरहेका छैनौं ।’ 

गभर्नर अधिकारीले १२.७ महिनाको आयात र १०.३ प्रतिशत आयात र सेवालाई धान्ने क्षमताको विदेशी मुद्रा सञ्चिति रहेको भन्दै अर्थतन्त्रका यस्ता सकारात्मक पक्षलाई इग्नोर गरेर जान नमिल्ने बताए । उनले अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकार मिलेर आयोजन छिटो टुंग्याउनुपर्ने बताए । 

Advertisement