खुम्बु क्षेत्रमा सुविधा सम्पन्न दुई वटा रिसोर्ट निर्माण गर्दै पर्यटन व्यवसायी शेर्पा

Advertisement

काठमाडौं । सगरमाथा क्षेत्रमा पर्यटकीय मौसममा विदेशी तथा आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ । विशेषगरी पदयात्रा, हिमाल आरोहणको गर्ने समयमा खुम्बु क्षेत्रमा पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव हुने गर्छ । 

सोही कुरा देख्दै र अनुभव गर्दै आएका पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा खुम्बु क्षेत्रमा दुई वटा सुविधासम्पन्न रिसोर्ट निर्माणको तयारी गरेका छन् । नेपाल पर्वतारोहण संघका प्रमुख सल्लाहकार तथा एसियन ट्रेक्स कम्पनीका अध्यक्षसमेत रहेका उनले सगरमाथा क्षेत्रमा दुई वटा लक्जरी रिसोट निर्माण कार्य भइरहेको बताए । 

Advertisement

थप दुई वटा रिसोर्टसहित आफ्नो सगरमाथा क्षेत्रमा पाँच वटा होटल हुने शेर्पाले बताए । उनले भने, ‘पहिला ३० वर्ष अगाडी नै हामीले लोबुचे, गोक्यो, खुम्जुङमा गरी पाँच वटा होटल सञ्चालन गर्दै आएका थियौं । तर भूकम्पले पाँच वटामध्ये दुई वटा भत्काइ दियो । तीन वटा होटल त्यसपछि पनि सञ्चालनमा थिए । अहिले दुई वटा रिसोर्ट निर्माणको काम अघि बढेको छ ।’ 

भूकम्पले फाकदिङमा भएको होटल भत्काइदिएकोले त्यसलाई नै पूरा भत्काएर नयाँ रिसोर्ट निर्माण भइरहेको शेर्पाले बताए । सगरमाथा क्षेत्रमा आउने पर्यटकहरुलाई थप सेवा, सुविधा साथै लक्जरी सुविधा दिने उद्देश्यले दुई ठाउँमा दुई वटा लक्जरी रिसोर्टको निर्माण भइरहेको भन्दै उनले रिसोर्टको नाम ‘हिमालय इको’ रहेको छ । 

शेर्पाले भने, ‘अहिले निर्माण भइरहेको रिसोर्टहरु फाकदिङ र त्याङबोचेमा हो । भूकम्पले भत्काइदिएपछि अहिले हामीले चाहिँ दुई वटा होटललाई नै लग्जरी रिर्साट निर्माण गरिरहेको छौं । फाकदिङ र त्याङबोचेमा निर्माण भइरहेको रिसोर्ट एक वर्षभित्र तयार हुन्छ । अहिले निर्माण भइरहेको रिसोर्ट स्तरीय नै बनाउन लागेका छौं । काठमाडौंको लाँकुरी भञ्ज्याङमा रहेको हाम्रो ‘द टेरेसेस रिसोर्ट’ जस्तै हुने छ ।’

फाकदिङ र त्याङबोचेमा निर्माण भइरहेको रिसोर्टका कोठाहरु थोरै नै हुने भन्दै व्यवसायी शेर्पाले माथितिर त्यति धेरै कोठा नचाहिने बताए । तर पछि थप्न परे थप्न सकिने उनको भनाई छ । शेर्पाले भने, ‘हाम्रो यो रिसोर्ट सगरमाथा क्षेत्रमा उत्कृष्ट होटल नै हुन्छ । लाँकुरी भञ्ज्याङको जस्तै रिसोर्ट हो । तर, त्यहाँ स्विमिङ पुल चाहिँ हुँदैन् । रुमहरु स्टाण्डर्ड, सुइट, डिलक्स प्रकारका हुनेछ । लाँकुरी भञ्ज्याङको जस्तै डिजाइनको रिसोर्ट बन्ने छ ।’

त्याङबोचेमा निर्माण भइरहेको रिसोर्टमा २८ वटा कोठा र फाकदिङमा २० वटा कोठाहरु हुनेछ । साथै सुट रुममा जाकुजी हुने उनले बताए । आफू अरु पनि होटल निर्माणको योजनामा रहेको बताउँदै शेर्पाले त्यसका लागि अरु लगानीका साझेदारहरुको खोजीमा आफू रहेको बताए । 

Advertisement