बीमालेख छोटो, सरल र बुझ्ने बनाउनुस्: सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले गरिवले पनि बीमा गर्नसक्ने बाटो बनाउनुपर्ने बताएका छन् । शुक्रवार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बीमा उत्पादन ‘सही प्लान’ सार्वजनिक गर्ने कार्यक्रममा उनले बीमाको बारेमा आम मानिसमा बुझाउनुपर्ने आवश्यकता देखिएको बताए । 

बीमाको बारेमा स्थानीय तहलाई बुझाउनसके मात्र आम सर्वसाधारणले पनि सहजै बुझ्नसक्ने स्थिति रहेको बताउँदै सिलवालले देशका प्रत्येक परिवार र व्यक्तिलाई कसरी आर्थिक रुपमा सुरक्षित र सहयोग गर्ने भन्नेबारेमा प्राधिकरणले काम गरिरहेको बताए । 

Advertisement

उनले आउने समय बीमाको हिसावमा अझै सुखमय हुने दावी पनि गरे । आम सर्वसाधारणलाई किन बीमा गर्ने र बीमा गर्दा के हुन्छ ? भन्ने कुराको आवश्यकता बुझाउन जरुरी रहेको बताउँदै सिलवालले ७० वर्षको मानिसले प्रिमियम फिर्ता पाउँछ भने ७५ वर्षको मानिसले के गर्ने ? भन्नेबारेमा पनि सोच्न जरुरी रहेको बताए । 

बीमालाई सरकारी निकायले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनले बताए । सिलवालले नेपालमा मात्र नभई अन्य मुलुकमा पनि बीमा नबुझ्ने समस्या रहेको जापानमा हालै आयोजित बीमा नियामकहरुको कार्यक्रममा सहभागी हुँदा आफूले पाएको सुनाउँदै बैंक वित्त जस्तो बीमालाई कसैले नबुझ्ने बताए । 

सरकारले घर र सम्पत्तिको बीमा अनिवार्य गर्ने प्रक्रिया अघि बढाउन लागेको खुलासा गर्दै सिलवालले त्यसलाई अघि बढाउन प्राधिकरणले के गर्नुपर्ने हो ? त्यसको लागि आफूहरु तयार रहेको बताए । 

सिलवालले भने, ‘बीमा भनेको तपाइँ नरहँदा पनि यो बीमाले साथ दिन्छ । हामीले टुँडिखेलमा जम्मा गरेर सबैलाई बुझाउन सक्दैनौ । जम्मै वडा अध्यक्ष, वडाका सदस्य र मेयर बीमाको बारेमा बुझ्नुपर्छ । हामीले तीन सय स्थानीय तहसँग अन्तरक्रिया गरेका छौं ।’ 

विद्यालयमा चुरोटको खराबीको बारेमा जानकारी दिएजस्तै बीमाको सबल पक्षको बारेमा पनि जानकारी दिनुपर्ने उनले बताए । अध्यक्ष सिलवालले प्रत्येक नागरिकलाई बीमाले साथ दिने बताए । जाजरकोट र रुकुमको भूकम्पको घटना उठाउँदै उनले घर तथा सम्पत्तिको बीमा गर्नुपर्छ भनेर दिएको सुझाव नमान्दा अहिले ठूलो लगानी गर्नुपर्ने अवस्था आएको, त्यति ठूलो लगानी अब सरकारले कसरी जुटाउँछ ? भनेर प्रश्न गरे । 

बीमामा जोडिएका हरेकले बीमामा आवद्ध भएमा यसबाट साथ पाउने बताउँदै सिलवालले कम्पनीले पनि यस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने र परम्परागत बीमालेख रोकेर नवीन प्रोडक्टहरुको विकास गरेमा बीमा व्यवसाय बढ्ने बताए । 

उनले गरिबहरुले पनि बीमा गर्न पाउने किसिमका बीमालेख आवश्यक रहेको बताए । नागरिक वडापत्रमा बीमाको सुविधा थप्नुपर्ने उनले बताए । सिलवालले छिमेकी मुलुक भारतमा गाडी चलाउनेसँग ब्लु बुक नभई बीमा गरेको प्रमाण हेर्ने गरिन्छ भन्दै गरिबहरुको बीमा गर्न बीमा कम्पनीहरु अग्रसर हुनुपर्ने बताए । 

निर्जीवन बीमाको बजार धेरै परिवर्तन भएको सिलवालको भनाई छ । उनले विश्वमा गाडी चलेको दिनको मात्रै बीमा गराउने, नचलेको दिनको नगर्ने चलन आएको बताउँदै नेपालमा पनि फरक ढंगले बीमा गर्ने परिपाटीको विकास गर्नुपर्ने बताए । 

बीमा क्षेत्रमा नयाँ किसिमका खोज अनुसन्धान आवश्यक रहेको सिलवालको भनाई छ । उनले बीमालेख लामोभन्दा पनि छोटो, सरल र आवश्यक कुराहरु मात्रै लेख्नुपर्ने बताउँदै त्यस्तो गर्न सके मात्रै बीमातर्फ मानिसहरुको आकर्षण बढाउन सहयोग पुग्ने बताए । 

अध्यक्ष सिलवालले दाबी भुक्तानी समयमा बीमा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी पनि दिए । विगत दुई वर्षको तुलनामा बीमाको दाबी भुक्तानीमा निकै सुधार आएको उनले बताए । सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी दिने बेलामा पैसा एकैपटक दिने वा टुक्राएर दिने भन्दा पनि सम्बन्धित व्यक्ति र यसले समयमा पैसा पाउने कुराले महत्व राख्ने बताए । 

मर्जरमा सूर्यज्योती सफल भएको सिलवालले दाबी गरे । उनले सूर्य लाइफ र ज्योति लाइफ सरलरुपमा मर्ज भएको बताउँदै सूर्यज्योतिले ल्याएको नयाँ प्रोडक्ट नवीन र फरक खालको रहेको र यो कति प्रभावकारी हुन्छ ? बजारमा गएपछि थाहा पाउन सकिने बताए । 

बीमाको पहुँच बढेर ६० प्रतिशत पुग्नु उपलब्धीको रुपमा चित्रण गर्दै उनले अहिले आर्थिक मन्दीकै कारण बीमा क्षेत्रले चाहेजस्तो फस्टाउन सकस भएको बताए । उनले भने, ‘बीमा भनेको विश्वास हो । कम्पनीप्रति नागरिकहरुको विश्वास हुनुपर्यो । बीमा गर्ने म हो भने मैले बुझ्नुपर्छ । डकुमेन्टलाई साधारण बनाएर नागरिकहरुले बुझ्ने पाटोमा काम गर्नु पर्छ । एउटा पोलिसिलाई पाँच पान्ना छ भने दुई पन्नामा झारेर नागरिकले बुझ्ने हिसाबले बीमा गराउनुपर्छ । अब अभिकर्ताहरुले बुझेको भए मात्रै लाइसेन्स पाउँछ । हामी त्यस्तो प्रणालीमा पनि लागिसकेका छौं । हामीले अब नयाँ प्रोडक्टको बारेमा बुझाउने हिसाबले काम गर्न जरुरी छ ।’ 

Advertisement