पोखरा–माउन्टेन क्रस क्रन्टी प्रतियोगितामा प्रथम भयो नेपाली टीम

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा र युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा पर्यटकीय नगरी पोखरामा  पोखरा–माउन्टेन क्रस क्रन्टी प्रतियोगिता सम्पन्न भएको छ । 

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा पर्यटन र आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण भएको बताउँदै आफुहरुले नेपालको खेल पर्यटनमा चीन सरकारले सहयोग गर्ने अपेक्षा गरेको बताए ।

Advertisement

शनिबार पोखरामा सम्पन्न नेपाली र चिनियाँ खेलाडी सहभागी प्रतियोगितामा टिम इभेन्ट र व्यक्तिगत इभेन्ट दुवैमा नेपाली धावकहरुले राम्रो प्रदर्शन गर्दै ४० किलोमिटरको टिम इभेन्ट मुख्य प्रतियोगितामा सुमन कुलुङ, रमेश लिम्बु र इन्द्रकला नेम्वाङको जोडीले प्रथम स्थान हासिल गरेको छ । जीतसंगै उनीहरूले तीन लाख ६० हजार रुपियाँ पुरस्कार  प्राप्त गरेका छन् । 

यस्तै वसन्त थारु, मुकेश थारु र श्रीबी महर्जनको जोडीले दोस्रो स्थान हासिल गर्दै दुई लाख ८८ हजार रुपियाँ र श्रीकास राई, तिलक सुनुवार र केशरी थापा मगरको जोडी तेस्रो हुँदै दुई लाख १६ हजार रुपियाँ पुरस्कार  प्राप्त गरेका छन् भने लिन काइची, याङ हुङझाङ र झोउ किङको जोडी चौथो हुँदै एक लाख ४४ हजार रुपियाँ प्राप्त गरे ।  

undefined

३८ किलोमिट एकल महिलातर्फ मन्जु रावतले प्रथम, पदमकुमारी सुनुवार दोस्रो, चीनकी झाङ जुन्युएले तेस्रो स्थान हासिल गरेकी छन् । यस्तै पुरुषतर्फ होमलाल श्रेष्ठ प्रथम, वेदबहादुर सुनार दोस्रो र तीर्थबहादुर तामाङले तेस्रो स्थान हासिल गरे । एकलतर्फको प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ४४ हजार, एक लाख आठ हजार र ५४ हजार रुपियाँ पुरस्कार प्राप्त गरे । 

यस्तै पाँच किलोमिटर विद्यार्थी सडक दौडको छात्रतर्फ कुमुदिनी होम्सका कृष्ण परियार प्रथम , छोरेपाटन माविका तेन्जोन मगर दोस्रो र कास्की मोडनाइजका बादल कार्की तेस्रो भए । छात्रातर्फ छोरेपाटन माविकी नारायणी भण्डारी प्रथम, मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी दोस्रो र ताल बाराही माविकी गीता श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । 

छात्र/छात्रा दुवैतर्फका प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे । पोखराको पर्यटकीय केन्द्र लेकसाइडको बाराहीघाटबाट सुरु भएको दौडअन्तर्गत खेलाडीहरुले साइक्लिङपछि बोटिङ पनि गरेका थिए । प्रतियोगितामा सहभागी हुन १ सयभन्दा बढी चिनियाँ खेलाडीहरु विमान चार्टर्ड गरेर बिहीबार पोखरा आएका थिए । 

सन् २०१९ मा पोखरामा पहिलो पटक आयोजना भएको दौड कोभिड–१९ को समयमा रोकिएको थियो, अब यो कार्यक्रम पुनः सुचारु भएसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने र पोखराको पर्यटनलाई विश्वभर साहसिक गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बताए ।  

Advertisement

Advertisement