विभागको पूरानो पत्र दुरुपयोग गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्टविरुद्ध गलत प्रचार

Advertisement

काठमाडौं । देशको अहिलेको आर्थिक अवस्था विषम खालको छ । आर्थिक मन्दी, उपभोक्ताको क्रयशक्तिमा आएको शिथिलता, सञ्चालन खर्चमा भएको वृद्धि, सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा सानादेखि ठूला उद्योग व्यवसाय समस्यामा पर्न थालेका छन् । 

पछिल्लो आर्थिक परिस्थितिकै कारण औद्योगिक क्षेत्रले उत्पादन गरेका सामानको समेत खपत घट्दै गएको छ । पूर्वका उद्योगहरुले श्रमिकहरु कटौती गर्न सुरु गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताएका छन् । बैंकको चर्को ब्याजदेखि नेपाल राष्ट्र बैंक र सरकारले लिएको नीतिले गर्दा यो परिस्थिति सिर्जना भएको उनको भनाई छ । 

Advertisement

नेपालको कानुनी र प्रशासनिक प्रक्रिया निकै झन्झिटिलो र जटिल हुँदा उद्योगी व्यवसायीले निकै सास्ती खोप्नुपर्ने बाध्यता नौलो होइन् । यस्तै अवस्थामा उद्योगधन्दाका बारेमा नकारात्मक प्रचार गर्ने प्रवृत्तिले गर्दा केही सिमेन्ट उद्योगहरु पछिल्लो दिनमा सास्ती खेप्नुपर्यो । 

के हो घट्ना ? 
नेपाल गुणस्तर तथा नापतौल विभागले २०७८ मंसिर १ मा नेपाल गुणस्तर चिन्ह प्राप्त मारुती सिमेन्ट, युनाइटेड सिमेन्ट, जगदम्बा सिमेन्टलाई केही ब्याचका सिमेन्ट मापदण्डअनुसार उत्पादन नगरेकोले बजारमा उत्पादन गरी पठाएका सिमेन्ट फिर्ता गर्न र थप उत्पादन नगर्न भन्यो । 

विभागले तीन वटै उद्योगबाट सिमेन्टको नमुना संकलन गरी आफ्नो प्रयोगशालामा परीक्षण गरेपश्चात एक–डेढ महिनामै कारवाही फुकुवा गरेर पूर्ववतरुपमा सामान उत्पादन गर्न बाटो खोलिदियो । 

तर पछिल्लो समयमा केही व्यक्तिले विभागको पूरानो पत्र सामाजिक सञ्जालमा राख्दै उल्लेखित सिमेन्ट उद्योगहरुको ‘सामान किन्नुअघि विचार गर्नुहोला’ भनेर सामाजिक सञ्जालमा लेखेर प्रचार गरिदिँदा आम उपभोक्तामा नकारात्मक सन्देश प्रवाह भएको र आफूहरुलाई ठूलो मार परेको उद्योगीहरुको गुनासो छ । 

पछिल्लो समयमा विकास निर्माणका कार्यहरुमा सुस्तता आउँदा सिमेन्ट उद्योगहरुको खपत घटेर गएको छ । त्यसमाथि नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइनको महशुल विवाद सिर्जना गरेर अनावश्यक तनाव दिने काम गरेको छ । सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर भइसकेपछि चिनियाँ लगानीका ठूला उद्योग खोल्न दिएपछि स्वदेशी लगानीका सिमेन्ट उद्योगहरु त्यसै पनि धरासायी हुने हो कि ? भन्ने चिन्ता बढेको छ । 

सिमेन्ट उद्योगको सिजन सुरु हुन लागेको मौका छोपेर नेपाल गुणस्तर तथा नापतौल विभागको पूराना पत्र र गलत सुचनाहरु सामाजिक सञ्जालमा राखेर प्रचार गर्ने कुरालाई सरकारले कारवाही गरेर निरुत्साहित गर्नुपर्ने उद्योगीहरुको भनाई छ । 

पीडित ती उद्योगमध्येका एक उद्योगका उच्च व्यवस्थापकले भने, ‘बर्षौंअघिको गुणस्तर विभागको पत्र फेसबुकमा राखेर प्रचार गर्दा त मानिसमा भ्रम पर्छ । सबैलाई यथार्थ कुरा थाहा हुँदैन् । सबै मानिसले मिति हेर्दैनन् । पत्र पढ्दा ‘यी उद्योगका सिमेन्ट त खराबै रैछ कि क्यो हो ?’ भन्ने भ्रम सिर्जना हुन्छ । हामीले जतिसुकै मेहनत गरे पनि जतिसुकै गुणस्तरको सिमेन्ट उत्पादन गरे पनि के गर्नु ? मानिसले गलत ढंगले बुझ्ने अवस्था रहन्छ । यो कुरामा चाहिँ सरकारको सम्वन्धित निकाय, प्रहरी प्रशासनले हेर्ने, कारवाही गर्ने पद्दती हुनुपर्ने हो ।’  

दुई बर्षअघिको विभागको उक्त कारवाहीमा तीन सिमेन्ट उद्योगबाहेक जानकी केवल ई. प्रा.लि. र ग्यास वान नेपाल प्रा.लि.माथि पनि कारबाही गरिएको थियो । राजन पाण्डे नामका सरकारका एक अवकाशप्राप्त पूर्वसहसचिवले किन विभागको पूरानो पत्र राखेर केही सिमेन्ट उद्योगहरुविरुद्ध गलत प्रचार गरे ? अर्थपूर्ण देखिन्छ । पछि अरु मानिसहरुले पूरानो पत्र राखेको औंल्याउँदै आलोचना गर्न थालेपछि पाण्डेले कुतर्क गर्ने र आफ्नो गल्ती लुकाउने प्रयास गरेको देखिन्छ । आलोचना धेरै हुन थालेपछि उनी आफ्नो स्टाटस मेटाउन बाध्य भए । 

पाण्डे जस्तै कतिपय पात्रहरु विभागका यस्ता पत्रलाई अध्ययन नगरी वा आफ्नो निहीत स्वार्थ पूर्तिका लागि सामाजिक सञ्जालमा राखेर दुरुपयोग गर्नेगरेका घटना पहिला पनि हुने गरेको सम्वन्धित उद्योगहरुले उदाहरण दिए । ती उच्च व्यवसथापकले भने, ‘हरेक मानिसले उद्योग व्यवसायको संवेदनशीलता बुझ्नुपर्छ । मिडियाले पनि । सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि । गलत कुरा छ भने आलोचना गर्न मिल्छ । लेख्न मिल्छ । तर त्यो कुरा सत्य हो वा होइन् ? जाँच त गर्नुपर्यो नि ।’ 

उनले विभागको पत्र दुरुपयोग भएको कुराले आफूहरुलाई आर्थिक नोक्सानीसँगै केही समय तनाव बनाएको र आम उपभोक्तादेखि डिलरहरुसम्मलाई वास्तविकता बुझाउने काम आफूहरुले गरेको बताउँदै आफूहरुले उत्पादन गरेको सिमेन्टमा कुनै कैफियत नरहेकोले ढुक्कसँग उपयोग गर्न सकिने बताए । 

Advertisement

Advertisement