सरकारको आम्दानीभन्दा खर्च ८७ अर्बले बढी, दबाबमा रहेका अर्थमन्त्री विदेशी ऋण बढाउँदै

Advertisement

काठमाडौं । सरकारको आम्दानीको तुलनामा खर्च बढ्दै गएको छ । चालु वर्षको पहिलो चार महिना २४ दिनमा सरकारको आम्दानीको तुलनामा खर्च ८७ अर्बले बढि भएको छ । 

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको खातामा मंसिर २४ गतेसम्म तीन खर्ब ४५ अर्ब ९५ करोड जम्मा भएको छ । यस्तै, खर्चतर्फ चार खर्ब ४५ अर्ब पुगेको छ । 

Advertisement

आम्दानीतर्फ सरकारले राजश्व शीर्षकमा तीन खर्ब एक अर्ब १८ करोड प्राप्ति गरेको छ । यस्तै, गैरकर राजश्वतर्फ २४ अर्ब ४५ करोड प्राप्ति गर्दा अन्य आयतर्फ १७ अर्ब ५५ करोड प्राप्ति भएको छ । 

खर्चतर्फ चालु शीर्षकमा तीन खर्ब ४१ अर्ब ६८ करोड खर्च भएको छ । यस्तै, विकास खर्चतर्फ ३३ अर्ब ६४ करोड खर्च भएको छ भने वित्तिय व्यवस्थातर्फ ५६ अर्ब ९३ करोड खर्च भएको छ । 

खर्च धान्नका लागि सरकारले कार्तिक महिनासम्म एक खर्ब १३ अर्ब १६ करोड आन्तरिक तथा बाह्य ऋण लिइसकेको छ । सुरुमा दिनमा आन्तरिक ऋण बढाएको सरकारले पछिल्ला दिनमा विदेशी ऋणका लागि दाताहरुसँग हात बढाउँदै लगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार कार्तिकसम्म आन्तरिक ऋणको ९७ अर्ब ३१ करोड र बाह्य ऋण १५ अर्ब ८५ करोड सरकारले लिएको छ । जसमध्ये ८७ अर्ब ऋणको पैसा सरकारले खर्च गरिसकेको छ । 

हालसम्म सरकारको कुल ऋण दायित्व २३ खर्ब ५७ अर्ब ६ करोड पुगिसकेको छ । जसमा आन्तरिक ऋणको हिस्सा ११ खर्ब ८३ अर्ब ५७ करोड र बाह्य ऋण ११ खर्ब ७३ अर्ब ४९ करोड पुगिसकेको छ । चालु आर्थिक वर्षमा आन्तरिक ऋण दुई खर्ब ४० अर्ब उठाउने सरकारको लक्ष्य छ । वैदेशिक ऋण परिचालनमा सरकारको क्षमता कमजोर बन्दा आन्तरिक ऋणमा थप दबाब पर्ने देखिएको छ ।

Advertisement

Advertisement