अब लघुबीमा कम्पनीहरुले ‘बण्डल प्याकेज’मा जोखिम बहन गर्नुपर्छः बीमा प्राधिकरण

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी दिनमा लघुबीमा कम्पनीहरुले ‘बण्डल प्याकेज’ प्रोडक्ट (सामूहिक रुपमा जोखिम धारण गर्ने बीमालेख) ल्याउन जरुरी रहेको सुझाव दिएको छ । 

कर्पोरेट नेपालसँगको कुराकानीमा बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बीमितको चाहना अनुसारका प्रोडक्टहरु लघुबीमा कम्पनीहरुले सिर्जना गर्नुको विकल्प नरहेको बताए । 

Advertisement

उनले भने, ‘लघुबीमा कम्पनीहरुले ग्रामिण भेगमा लक्षित भएर बीमा गराउँनु पर्ने भएकाले उनीहरुले अब सामूहिक प्याकेजमा प्रोडक्ट ल्याउँन जरुरी छ । नयाँ बीमा उत्पादन नल्याएको खण्डमा लघु बीमा कम्पनीलाई आफ्नो व्यवसाय बढाउन त्यति धेरै सहज अवस्था भने छैन् । पूराना कम्पनीहरुले लघुबीमाको काम गर्न सकेनन् भनेर नै नयाँ कम्पनीहरुलाई लाइसेन्स दिइएको हो । त्यसैले अब पूराना कम्पनीहरुले बेचिरहेका पुराना बीमालेख भन्दा पनि नयाँ (बीमा उत्पादन) बीमालेखमा लघुबीमा कम्पनीहरु केन्द्रीत हुनुपर्ने देखिन्छ ।’

अधिकारीका अनुसार नेपाल सरकारको बजेट बक्तव्य र बीमा ऐनले नै माग गरेकाले लघुबीमा कम्पनीहरु सञ्चालनमा आएका हुन् । त्यसरी लघुबीमा कम्पनीहरुलाई सञ्चालन अनुमति पत्र वितरण गरे पनि उनीहरुले गर्नुपर्ने कामको भने स्पष्ट गाइडलाईन हालसम्म तयार भइसकेको छैन् ।
 
अधिकारीले थपे, ‘लघुबीमा कम्पनी त बीमा ऐन र बजेट बक्तव्य दुवैले माग गरेर ल्याइएको हो । त्यसरी ल्याए पनि लघु बीमाका लागि स्पष्ट गाइडलाइन भने तोक्न बाँकी छ । अब छिट्टै लघुबीमा सम्बन्धी गाइडलाइन तयार गरेर हामीले पनि सार्वजनिक गर्नेछौ । लघुबीमालाई नाफा चाहिने कुरा त छँदैछ । तैपनि उनीहरुले नागरिकहरुको जोखिम पहिचान गर्न सक्नुपर्छ ।’

उनले लघुबीमा कम्पनीहरु प्रविधिमैत्री बन्नुपर्ने, बजारको जोखिम अध्ययन गरेर त्यसलाई सम्बोधन गर्ने किसिमको बीमालेख जारी गर्न अग्रसर हुनुपर्ने स्पष्ट पारे । काठमाडौंमा एक लाख रुपियाँसम्मको रोग लाग्दा नागरिकलाई सामान्य लाग्ने भए पनि गाउँको स्वास्थ्य चौकी पुगेका कतिपय नागरिकलाई १० हजार रुपियाँसम्मको स्वास्थ बीमाले पनि निकै ठूलो राहात दिने अधिकारीले बताए । 

त्यस्तै, उनले लघुबीमाले रिचार्ज कार्ड किन्दा होस् वा गाडीको टिकट काट्दा लाख रुपियाँसम्मका जोखिम बहन गर्ने स्किम अगाडी सार्नुपर्ने बताए । अधिकारीले लघुबीमा कम्पनीहरुले बीमा गर्दा एउटै घरमा घरको बीमा, त्यस घरमा रहेको मोटर साइकलको बीमा, नागरिकहरुको खेतबारीका उत्पादनका बीमा र किसानहरुको जोखिमका दुर्घटना बीमालाई एकै प्याकेजमा समेटने हिसाबले बीमालेख जारी गर्नु पर्ने बताए । 

उनले घाँस काट्न गएका किसानले सर्पले टोक्दा देखि खेतबारीमा बाँदर आएर अन्नबाली नष्ट गर्दासम्मको बीमा अबको दिनमा लघुबीमाले बहन गर्न आवश्यक रहेको बताए ।
 
हालसम्म लघुबीमा कम्पनीहरुलाई नयाँ जोखिम बहन गर्न लाईसेन्स वितरण भएको भए पनि उनीहरुले बजारमा नयाँ उत्पादन ल्याउन नसकेको आरोप लाग्न थालेको छ । नयाँ कम्पनी भएकाले बजारीकरणका चुनौति भए पनि लघु किसिमका स–साना जोखिमसँग भने उनीहरुलाई नजोडि बस्न छुट नरहेको अधिकारीले बताए ।

Advertisement