एनआरएनको लगानीमा रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण, फागुनदेखि सञ्चालन हुने

Advertisement

काठमाडौं । रुपन्देहीमा गैरआवासीय नेपालीको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । 

बिहीवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधिन क्रिकेट रंगशाला फागुन १ गतेबाट प्रतियोगिता खेलाउनका लागि तयार हुने जानकारी दिइएको हो । 

Advertisement

यो रंगशाला अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले निर्माण गरिरहेको छ । कम्पनीका निर्देशक विनोद कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए । उनले मैदानमा सात वटा पिच रहेको र फागुन एक गतेबाट प्रतियोगिताका लागि योग्य हुने बताए । 

कुँवरले रंगशाला निर्माणको समयसीमा सकिन चार महिना बाँकी रहँदै निर्माण सम्पन्न भएको बताए । रंगशाला वैशाखसम्ममा निर्माण गरिने लक्ष्य राखिएको थियो । उक्त रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरु निर्माणको काम माघ महिनाबाट शुरु गर्ने पनि कुँवरले बताए । 

सबै रुमहरुको काम वैशाखसम्म सकिसक्ने बताउँदै उनले रंगशालामा तत्कालका लागि दर्शक सिट पाँच हजार क्षमताको बनाउने र अरु अस्थायी बस्ने स्थान बनाइने बताए । कुँवरले आगामी दशैँसम्ममा रंगशालाको सम्पूर्ण काम पूरा हुने बताए । 

उनले भने, ‘क्रिकेट रंगशाला बनाउने विश्वास आज अलिकति पूरा भएको छ । अहिलेसम्म हामीले ग्राउण्ड चाहिँ इन्टरनेशनल स्टाइलको, त्यहाँ हुनुपर्ने मापदण्डमा कुनै कमी कमजोरी नराखिकन तयार भइसकेको छ । सात वटा पिच बनाइएको छ । फागुन १ गतेबाट टुर्नामेण्टको लागि हामी तयार छौँ । तपाइँहरु टुर्नामेण्ट लिएर आउनुस् । मैदान तयार छ । अबको योजना पहिलो चरणमा मैदान बनाउने भनेका थियौँ । मैदान बनेको छ । वैशाखसम्म मैदान बनाउने घोषणा थियो तर ४ महिनाअघि नै तयार भएको छ । माघ १ गतेबाट पेभेलियन, ड्रेस चेन्जिङ रुमहरु बनाउन शुरु गर्नेछौँ । वैशाखसम्म हामी सबै बनाउने छौँ । पाँच हजार क्षमताको सिट आगामी दशैँसँग र पाँच हजार क्षमताको माटो र दुबो बिछ्याएर तयार गर्ने योजना छ । आगामी दशैँसम्ममा ।’

क्रिकेट रंगशालाको निर्माणमा ४० करोड रुपियाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म पाँच करोड रुपियाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ । नेपालमा क्रिकेटको लोकप्रियता बढिरहेको समयमा गैरआवासीय नेपालीबाट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनेको हो । 

 

Advertisement

Advertisement