एफपीओ र मर्जरको कर हिसाब मिलान गर्न सकस, जगेडा कोषबाट कट्टा गर्न पाउँः बैंकहरु

Advertisement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले फर्दर पब्लिक अफरिङ (एफपीओ) र बार्गेन पर्चेज (मर्जर)मा तिरेको रकम जगेडा कोषबाट व्यवस्थापनको अनुमति मागेका छन् । करवापतको रकम भुक्तानी गरे पनि हिसाब मिलान गर्न अलमलमा रहेका उनीहरुले जगेडा कोष (रिजर्भ फण्ड) बाट कट्टी गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति माग गरेका हुन् । 

एफपीओ र मर्जरमा तिरिएको करवापतको रकम व्यवस्थापनको लागि अनौपचारिक छलफल भएको नेपाल बैंकर्स संघ (एनबीए)का उपाध्यक्ष सन्तोष कोइरालाले बताए । उनले कर्पोरेट नेपालसँग भने ‘पुरानो दायित्व तिर्नुपर्यो । त्यो रकम अब कुन शीर्षकमा मिलाउने भन्ने विषयमा चुनौति बैंक तथा वित्तीय संस्थालाई छ । हामीले जगेडा कोषबाट सो रकम व्यवस्थापन गर्ने विषयमा राष्ट्र बैंकसँग अनौपचारिक छलफल सुरु गरेका छौं ।’

Advertisement

माछापुच्छ्रे बैंकका सीईओसमेत रहेका कोइरालाका अनुसार अनौपचारिक छलफल भए पनि एनबीएले कुनै पत्राचार गरेको छैन् । जगेडा कोषबाट घटाउन मिल्ने या नमिल्ने भन्ने विषयमा पनि स्पष्ट भइनसकेको उनले बताए । । 

उक्त रकम जगेडा कोषबाट घटाउन लेखामान बोर्डले पनि अनुमति दिनुपर्नेछ । यस्तै, राष्ट्र बैंकले अनुमति दिएर मिल्ने या नमिल्ने विषयमा पनि स्पष्ट हुन बाँकी रहेको छ भन्दै उनले सबै कानुनी पक्षको विश्लेषणबाट मात्रै यो विषयले पूर्णता पाउने बताए ।  

बैंकको हिसाब राफसाफ गर्नका लागि अहिले समस्या भएको अरु बैंकरहरुले पनि स्वीकार गरेका छन् । हिसाब राफसाफ नहुदा उनीहरुको पुँजी कोषमा असर गरिरहेको छ । यसरी तिरिएको कर खर्चमा कट्टि गर्न नपाउने ठूला करदाता कार्यालयले बताइसकेको छ । 

लामो समयदेखि कर प्रशासन नै अन्योलता रहेको एफपीओ र मर्जरको कर अशुलीका लागि अर्थमन्त्री प्रकाशरण महतले आर्थिक ऐन २०८० मा राखेका थिए । आर्थिक ऐनले मर्जर र एफपीओमा लाग्ने कर गएको मंसिरभित्र दाखिला गरे जरिवाना र ब्याज शुल्क मिनाहा हुने व्यवस्था गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध बैंक तथा वित्तीय संस्था सर्वोच्च अदालतसम्म पुगेका थिए । 

तर अदालतले रिट निवेदन खारेज गरेपछि उनीहरु  कर दाखिला गर्न बाध्य भएका हुन् । बाणिज्य बैंक, विकास बैंक, लघुवित्त, बीमा कम्पनीसमेत गरी ४५ वटा संस्थाबाट सरकारले १३ अर्ब पाँच करोड रकम अशुल्न सफल भएको छ । राजश्व लक्ष्यअनुसार नउठेर दबाबमा रहेको सरकार पछिल्लो समय राजश्व अशुलीमा निर्मम बन्दै गएको छ । 

Advertisement