बीमा कम्पनीहरुलाई ‘एनएफआरएस’का लागि दबाब दिन लागेको कुरा सत्य होइन्ः पौडेल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आउँदो असारपछि बीमा कम्पनीहरुलाई नेपाल लेखामान प्रणाली (एनएफआरएस) लागू गर्न प्राधिकरणले दबाब दिएको भन्ने हल्लामा सत्यता नरहेको बताएका छन् । 

बीमा कम्पनीहरुले एनएफआरएस लागू गर्न धेरै शर्त र पूर्वाधार तयार गर्नुपर्ने भएकाले आउँदो असारपछि नै एनएफआरएस पूर्णरुपमा लागू गर्न नसकिने, कम्तिमा दुई बर्ष समय दिनुपर्ने आवाज उठाएपछि उनको यस्तो भनाई आएको हो । यसअघि असारपछि नै यो प्रणाली लागू गर्न प्राधिकरणले दबाब दिएको समाचार कर्पोरेट नेपालमा प्रकाशित भएको थियो । 

Advertisement

यद्यपि पौडेलले बीमा कम्पनीहरुले ढिलो चाँडो अनिवार्यरुपमा एनएफआरएस लागू गर्नुको विकल्प नरहेको बताए । अहिले नै कम्पनीहरुलाई दबाब दिने पक्षमा प्राधिकरण नरहेको बताउँदै उनले भने, ‘हामीले एकै पल्ट एनएफआरएस लागू गर्न खोजेको पनि होइन् । बाहिर गलत सन्देश गएछ । अब यसको सुरुवात गरौं, कार्यान्वयन गर्न ढिलाई नगरौं भन्न खोजेको हो । हामीले एनएफआरएस लागू गर्दा बीमा कम्पनी, जीवन बीमक संघ, चाटर्ड एकान्टेन्ट, एक्चुरी (बीमांकी)लगायत विभिन्न गणीत विज्ञहरुको पनि सल्लाह लिन्छौं । हाम्रो भनाई के हो भने यो सिस्टम अब बीमामा पनि लागू गर्नुको विकल्प छैन् । साच्चै छँदा पनि छैन् । त्यसैले यसमा ढिला नगरौं भन्ने हो ।’

प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले बीमा क्षेत्रमा एनएफआरएस लागू गर्दा आर्थिक पारिदर्शीतादेखि वित्तीय सुशासानमा ठूलो टेवा पुग्ने बताए । एनएफआरएस लागू गर्ने क्रममा सफ्टवयर खरीद आदिमा हुने ठूलो खर्च कम्पनीहरुले आफूले गर्दै आएको सूचना प्रविधि क्षेत्रको लगानी जस्तै तोकिने उनले बताए । पौडेलले कुन सफ्टवेरमार्फत एनएफआरएसमा जाने ? भन्ने कुरा छलफलकै क्रममा रहे पनि नेपाली बीमा बजार सुहाउँदो सफ्टवयर आफूहरुले राख्ने बताए । 

हालसम्म छिमेकी राष्ट्र भारतमा समेत एनएफआरएस लागू हुन नसकेको प्रसंगमा भने उनले नेपालको बीमा बजार भारतको तुलनामा सानो रहेकाले यहाँको बजारलाई धान्ने कम लागत र कम शक्तिको भए पनि काम चल्ने बताए । हाल बीमा क्षेत्रमा एनएफआरएस लागू गर्नुपर्ने भन्ने निर्णयमा मात्रै पुगेको बताउँदै पौडेलले आगामी दिनमा सबैसँग छलफल गर्दै यसलाई कार्यान्वयनमा लगिने बताए । 

एनएफआरएस लागू गर्ने कुरा जटिल रहेको उनले स्वीकार गरे । यद्यपि पौडेलले बीमा क्षेत्रको दिगो विकासका लागि नयाँ अभ्यास र प्रणालीले ठूलो भूमिका खेल्ने बताए । हाल नेपालको बैकिङ क्षेत्रमा भने एनएफआरएस पूर्णरुपमा कार्यान्वयन भइसकेको छ । 

जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले एनएफआरएस लागू गर्ने कुरामा आफूहरु सकारात्मक रहे पनि असारपछि नै पूर्ण कार्यान्वयन गर्नेगरी निर्देशन आएकोमा भने असन्तुष्टि जनाएका थिए । प्राधिकरणले ताकेताभन्दा पर्याप्त समय दिएर सहजीकरण गर्नुपर्ने उनको आशय थियो । 

Advertisement