अयोध्यामा राम मन्दिर निर्माण: नेपालले लिने लाभको आगामी मार्गचित्र के ?

Advertisement

– ज्यो.पं. दिवाकर पन्त
लामो रस्साकसीपछि अन्ततः भारतको अयोध्यास्थित रामजन्मभूमीमा भव्य राम मन्दिर निर्माण भएको छ र यही गएको २२ जनवरी अर्थात माघ ८ गते भगवान रामको पूर्णकदको मूर्तिको प्राणप्रतिष्ठासमेत भइसकेको छ । यो घटनाक्रम भारत र भारतवासीका लागि जति महत्व र चर्चाको विषय हो, त्यत्ति नै विश्वभर रहेका सनातन हिन्दू तथा ओमकार परिवारका सदस्यहरुका लागि प्रत्यक्षरुपमा ध्यान खिच्ने विषय बनेको छ । साथै, अप्रत्यक्ष रुपमा विश्वभर रहेका धार्मिक–आध्यात्मिक तथा योगिक साधकहरुका लागि पनि यो विषयले प्रभावित पारेको छ र आगामी दिनमा प्रभाव पारिरहने छ । 

यस विषयमा भारतको अयोध्या रहेको र राम मन्दिर निर्माण भएको राज्य उत्तर प्रदेशसँग सीमा जोडिएको देश नेपाल प्रभावित नभइरहन सक्दैन् । हुन त नेपालको सरकार, राजनीतिक दलहरु तथा प्रमुख सञ्चारमाध्यमहरुले यस विषयलाई निकै निरपेक्ष रुपमा ध्यान दिन खोजेको जस्तो देखाएको भए तापनि यो विषय करिव ९५ प्रतिशत ओमकार परिवार बसोबास गर्ने नेपाली जनस्तरसम्म ठूलो छाल उत्पन्न गर्ने खालको विषय हो । यस विषयको केवल धार्मिक आध्यात्मिक तथा सांस्कृति प्रभाव मात्र नभई आर्थिक प्रभाव समेत यसमा निहीत रहेको तथ्यबारे नेपालका दल तथा सञ्चारमाध्यम तथा बुद्धिजीवीहरुको यथोचित चासो जान नसक्नु आश्चर्यको विषय हो । के अयोध्यामा राममन्दिर निर्माण हुनुसँग नेपाल र नेपालका नीति निर्माता निरपेक्ष रुपमा रहनसक्ने अवस्था छ ? आउनुस् हामी यसबारे सिंहावलोकन गर्ने प्रयास गरौँ ।

Advertisement

अयोध्याको कायाकल्प र नेपाल सम्बन्ध
सन २०१९ नोभेम्बर ९ मा भारतको सर्वाेच्च अदालतले उक्त विवादित २.७७ एकड जमिन रामजन्मभूमि भएको फैसला सुनाएलगत्तै त्यहाँको केन्द्र सरकार र उत्तर प्रदेश सरकारले अयोध्याको तीब्रतम् विकासका लागि पाइला चालेको देखिन्छ । त्यसयता अयोध्यामा फराकिला–फराकिला चार तथा छ लेनका सडक निर्माण गरिएका छन् । विश्वस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको छ, जहाँ राममन्दिर प्राणप्रतिष्ठाका दिन एक सयको संख्यामा निजी जेट त्यहाँ अवतरण गरि पार्किङ्ग समेत गरिए । साथै अयोध्यामा हजारौँ करोडको लगानीमा सयौँका संख्यामा होटलहरु निर्माणाधिन छन् । अनुमान गरिएको छ कि अयोध्यामा दैनिक तीन लाखको संख्यामा पर्यटक आउने छन् । दैनिक यति ठूलो संख्यामा आउने पर्यटकका लागि आवास, खाना तथा यात्रका लागि कति ठूलो पूर्वाधारको आवश्यकता पर्दछ ? यसमा कति ठूलो व्यावसायको सम्भावना छ ? यो सहजै अनुमान गर्न सकिने विषय हो । साथै, अयोध्या साधना नगरी भएका कारण हजारौँ साधकहरु साधनमा रहने र आ–आफ्नो स्थानमा फर्कदा धार्मिक चिन्ह, प्रतिक, सामान तथा लत्ताकपडा, मूर्ति आदी लिएर फर्कने स्वाभाविक छ, यसमा पनि ठूला व्यवसायिक चक्र रहने छ । 

अब हामी नेपाली दृष्टिकोणबाट हेरौँ– नेपालबाट वार्षिक कति संख्यामा नेपाली अयोध्या भ्रमणमा जालान ? साथै, कति संख्यामा अयोध्याबाट भारतीय र अन्य देशका नागरिक नेपाल भ्रमणमा आउलान ? यो विषयमा नेपालको सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, नीति निर्माता, बुद्धिजीवी तथा सञ्चारमाध्यम र पत्रकारहरुले सोचेका छन् ? यसमा नेपालले लाभ लिने गरि व्यावसायिक चक्रको सम्भावना के छ ? हामीले सोच्ने बेला कहिले हो ?

रामायण सर्किटको प्रयास तर सक्रियताको अभाव
रामायण सर्किटका रुपमा भगवान राम, सीतामाता तथा रामायणसँग सम्बन्धित क्षेत्रहरुलाई जोडेर तीर्थालुहरुले यात्रा गर्ने अवधारणा राखिएको छ । यस अवधारणामा भारतले निकै काम गरेको र फड्को मारेको भए तापनि नेपालतर्फको रुचि, चासो, सक्रियता भने निकै निराशाजनक छ । छ सय ५० किलोमिटर लामो सर्किटले भारत उत्तर प्रदेशको अयोध्या, श्रृंगवेरपुर र चित्रकुट, नेपालको जनकपुर, बिहारको सीतामढी, बक्सर, र दरभंगा, मध्य प्रदेशको चित्रकुट, पश्चिम बंगालको नन्दीग्राम, उडिसाको महेन्द्रगिरि, छत्तिसगढको जगदलपुर, तेलंगानाको भद्राचलम, तमिलनाडुको रामेश्वरम, कर्नाटकको हम्पी, महाराष्ट्रको नासिक र नागपुरका विभिन्न धार्मिक स्थललाई जोड्ने छ । यस सर्किटलाई भारतीय पक्षले जति संवेदनशील तवरबाट लिएको छ । नेपाल पक्षले यसबाट फाइदा कसरी लिने ? भन्ने दीर्घकालिन सोचसहित सक्रियता र पूर्वाधार विकासमा खासै चासो दिन सकेको देखिँदैन् । 

नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालिन नेपाली प्रधानमन्त्री केपी ओलीले संयुक्तरुपमा वि.सं. २०७५ वैशाख २८ मा उद्घाटन गरेका थिए । त्रेता युगमा भगवान सीताराम पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिकस्थललाई एउटै मार्गमा जोडेर तीर्थयात्रीहरुलाई समग्र यात्रा गराउने  गरि यो सर्किट तयार पारिएको हो र करिव १६ देखि २० दिन यात्रा गर्न समय लाग्ने छ । अवश्य पनि भगवान रामका बारेमा जति पनि चर्चा हुन्छ, त्यसमा माता सीताको सम्बन्धबिना उक्त चर्चा पूर्ण हुन नसक्ने साश्वत सत्य हो । भगवान रामको शुभ विवाह जनकपुरका राजा जनकी सुपुत्रीका साथमा भएको हो । जनकपुर नेपालमा पर्दछ । यो कुरा हामी सबै जानकार छौँ । 

चौध बर्षको कठोर बनवासका बेला रामका साथ सीताले अनवरत रुपमा सँगै बनबास रहनु भएको थियो । साथै, भगवानको पुकार गर्दा  “सीताराम” शब्दाबलीका साथमा पुकार गरिन्छ । यो यथार्थका बीच नेपाल यस ऐतिहासिक तथ्यमा आधारित बदलिँदो अवस्थामा सिर्जित अनेकौँ नयाँ अवसरका बारेमा तयार छ ? यसबारेमा नेपालमा पर्याप्त छलफल, बहस, चिन्तन, नीति निर्माणबारे कदम अघि बढ्न सकेको छ ? यथार्थरुपमा भन्नै पर्दछ । छैन् । केवल बडो करबलका साथ जस्तो लाग्ने गरि नेपाल रामायण सर्किटमा जोडिन पुगेको जस्तो देखिन्छ । त्यति मात्र होइन । यस नयाँ अवसरलाई नेपालका राजनीतिक दल, सरकार र अनेकौँ निकायहरुले उपेक्षात्मक रुपमा मात्र हेरिरहेको आभाष हुन्छ । 

यस्तो हुनेछ– अयोध्यामा पुग्ने तीर्थयात्री यानेकी पर्यटक
२२ जनवरी अर्थात माघ ८ का दिन भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा भएको भोलीपल्ट अर्थात २३ जनवरी माघ ९ देखि सर्वसाधारणका लागि राम मन्दिर दर्शन खुला गरिएको छ । माघ ९ का दिन ५ लाख दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । सामान्य अवस्थामा पनि औसतमा प्रतिदिन तीन लाख पर्यटकले अयोध्या पुग्ने अनुमान भारतीय निकायले गरेका छन् । यो अनुमानका साथ भारतको उत्तर प्रदेश सरकारले अयोध्यामा आवश्यक सबै खालका पूर्वाधार तयार पारिसकेको छ भने कतिपय पूर्वाधार तीब्र गतिमा तयार गर्दै छ । अयोध्यामा भव्य रुपको अन्तर्राष्ट्रिय विमानस्थल, द्रुत गतिको रेल सेवा, चार लेनका सडक, छ लेनका सडक आदी निर्माण गरिएको छ । 

भगवान रामको मूर्तिको प्राण प्रतिष्ठा भएसँगै संसारभर रहेको ओमकार परिवारका ठूलो मात्राका आस्थावानहरुले इन्टरनेटमा– “अयोध्या कसरी पुग्न सकिन्छ ?” भनि सर्च गर्न थालेको देखिएको छ । साथै खाडीका देशहरुबाट, पश्चिमी देशहरुबाट समेत अनेकौँ धर्ममा आस्था राख्नेहरु समेत अयोध्या आउन चाहेको देखिएको छ । यस्तो अवस्थामा अयोध्या आउने पर्यटकको के कति प्रतिशतलाई भगवान सीतारामसँग अभिन्न रुपमा जोडिएको जनकपुरस्थिति जानकी मन्दिरसम्म ल्याउने बारेमा नेपालमा के चिन्तन हुँदै छ ? कि यो विषय खास जोड दिनु पर्ने विषय होइन ? 

देशका युवा शक्तिलाई लाइन लगाएर विदेशमा श्रम बेच्न पठाउन पल्केको नेपाली आधिकारिक वृत्त कानमा तेल हालेर बसेको छ । साथै, बामपन्थी चिन्तनबाट बसिभुतहरुले यो विषयलाई विशुद्ध धार्मिक कर्मकाण्डिय कार्य हो भनेर उपेक्षात्मक अभिव्यक्ति समेत दिँदै अत्यन्त गैरजिम्मेवार रुपमा प्रस्तुत समेत भएका छन् । अझ दुःख लाग्दो विषयत के भने आफूलाई प्रजातान्त्रिक भनेर रातदिन चिनाउन चाहने राजनीतिक दलहरु समेत यस विषयमा हलुको रुपमा प्रस्तुत भएको देख्दा अच्चमित हुनुबाहेक अरु कुनै ठाउँ देखिँदैन् । 

अन्तर्राष्ट्रिय तीर्थस्थलमा अयोध्या सर्वाधिक अग्रस्थानमा
विश्वका अनेकौँ धर्मका तीर्थस्थलमा कुन तीर्थस्थलमा सर्वाधिक दर्शनार्थीहरु दर्शनका लागि पुग्छन होला ? यस दृष्टिबाट हेर्दा प्रमुख पाँच सार्वाधिक तीर्थयात्री आउने स्थानमा अयोध्याले पहिलो स्थान लिने अनुमान गरिएको छ । अनुमान अनुसार बार्षिक रुपमा पाँच करोड दर्शनार्थीले अयोध्यास्थित राम मन्दिर दर्शन गर्ने विश्लेषण गरिएको छ । 

हालको तथ्यांकलाई हेर्दा सर्वाधिक बढि तीर्थयात्रीले दर्शन गर्ने मुख्य तीर्थस्थलमा भारतका दुई तीर्थस्थल नै रहेका छन् । अब अर्काे तीर्थस्थलका रुपमा अयोध्या थपिने छ । जसमा भारतको अमृतसरस्थित स्वर्ण मन्दिरमा बार्षिक तीन करोड, भारतको आन्ध्र प्रदेशस्थिति तिरुमाला तिरुपतिमा बार्षिक दुई करोड ५० लाखले दर्शन गर्ने गर्दछन् । त्यसैगरी, साउदी अरवको मक्कामा बार्षिक दुई करोड र भ्याटिकन सिटीमा बार्षिक ९० लाख तीर्थयात्री दर्शनका लागि पुग्ने तथ्यांक छ । यी सबै तीर्थस्थललाई अयोध्याले उछिन्ने र प्रथम स्थानमा रहने सहजै अनुमान गर्न सकिन्छ । 

यस्तो अवस्थामा माता सीताको जन्मस्थल रहेको देश नेपालले के सोचिरहेको छ ? यो प्रश्न नेपालमा निरन्तर गर्नुपर्ने अवस्था आएको छ । साथै, भगवान गौतमबुद्धको जन्मस्थल समेत नेपालमा रहेको अवस्थामा लुम्बिनीको बृहत्तर विकास र ब्राण्डिङ्गको अवसरबारे नेपाल किन मौन छ ? अयोध्याबाट जनकपुरको जोडाईसँगै लाभ लिने र भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई अर्काे महत्वपूर्ण तीर्थ केन्द्रका रुपमा अघि बढाउन अयोध्यामा देखिएको प्रत्यक्ष सम्भावनाबाट नेपालले पाठ सिक्न किन ढिलाई र उपेक्षा गर्दै छ ?

निजी क्षेत्रको प्रयासमा दिउँ बलः बुद्ध एयरको प्रयासले कहिले सार्थकता पाउला ?
करिव तीन बर्षअघि देशकै प्रमुख हवाई उडान संस्था बुद्ध एयरले जनकपुर–अयोध्या सिधा उडानका लागि रुचि देखाएको थियो । बुद्ध एयर यस हवाई रुटमा उडान थाल्न इच्छुक रहेको भन्दै स्वीकृतिका लागि नियमनकारी निकाय नेपाल नागरिक उड्ययन प्राधिकरणमा प्रक्रिया समेत अघि बढाएको थियो । तर, हालसम्म पनि यस रुटमा उडान भने हुन सकेको छैन् । 

निजी क्षेत्रले अयोध्यामा विकसित अवस्था र यसबाट उत्पन्न हुनसक्ने अवसरबारे पूर्वानुमान गर्न सकेको देखिन्छ । सो पूर्वानुमानका आधारमा बुद्ध एयरले आफ्ना सोचलाई अघि बढाउन खोजेको स्पष्ट हुन्छ । तर, यस योजनालाई अघि बढाउन जनकपुरमा रहेको विमानस्थलको पूर्वाधार बाधक रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका सहायक प्रवक्ता दीपेन्द्र कर्णले जनकपुर–अयोध्या उडानका लागि सबै सोचसहित अघि बढेको भए पनि जनकपुरको विमानस्थलको पूर्वाधार अभावका कारण उडान थाल्न नसकेको बताउनु भयो । उहाँले यदि जनकपुरको विमास्थलमा आवश्यक पूर्वाधारहरु जस्तै धावनमार्ग, यात्रुलाई आवश्यक पर्ने अन्य पूर्वाधार, इमिग्रेसन, कार्गाे ओसार–पसारको संरचना बनेमा बुद्ध एयर तत्काल यो रुटमा उडान थाल्न तयारी अवस्थामा रहेको बताउनु भयो । 

अब यहाँनेर प्रश्न आउँछ कि देशका निजी क्षेत्र उत्पन्न अवसरलाई छोप्न तयार रहँदा रहँदै र अयोध्या यो रुपमा अघि बढ्दैछ भन्ने स्पष्ट हुँदाहुँदै जनकपुरमा रहेको विमानस्थलमा आवश्यक पूर्वाधार बनाउन यो देशका निर्णयकर्ताहरुको ध्यान किन जान सकेन ? यदि समयमा नै उक्त विमानस्थलको पूर्वाधार बनाउन अघि बढ्न सकेको भए अयोध्यामा भगवान राम मन्दिर निर्माण हुँदै गर्दा र प्राणप्रतिष्ठा भए लगत्तै जनकपुर–अयोध्या रुटमा सिधा उडान थालेको निकै ठुलो सन्देश दिन सकिने थियो । अयोध्या आउने पर्यटकको पाँच प्रतिशत मात्र पर्यटक पनि जनकपुर ल्याउन सकिएमा जनकपुर क्षेत्रको कायापलट हुने आधार बन्ने थियो । तर, यो विषयमा कोही कसैको ध्यान जान सकेको छैन् । सरकारी निकायबाट सोच राखेर अघि बढि निजी क्षेत्रलाई समेत प्रेरित गरि समाहित गर्दै लैजानु पर्नेमा निजी क्षेत्रको कदम अघि बढ्दा पनि सरकारी निकाय भने दिशाहीन अवस्थामा रहेको देखिन्छ ।

एउटै आन्द्रो तर छैन् समन्वयात्मक संवेदनशील व्यावहार
नेपाल र भारतको सम्बन्ध विश्वका अन्य छिमेकी देशहरुका तुलनामा विशिष्ठ प्रकारको छ । त्यसैले अनेकौँ समानता र घनिष्ठता तथा छुट्याउनै नसकिने अन्तरसम्बन्धका कारण यी दुई देशको सम्बन्धलाई आन्द्रो जोडिएको भनि चित्रण गर्न सकिन्छ । 

नेपाल–भारतको धार्मिक, आध्यात्मिक, सांस्कृतिक सम्बन्ध विश्वका अरु देशको तुलनामा फरक रहेको छ । अर्थात यी दुवै देशको सम्बन्ध विशिष्ठ छ । यी दुवै देशको आगमन अर्थात ओरिजिनेशन वैदिक सनातन धर्म संस्कृतिबाट भएको हो । अर्थात यी दुवै देशको ओरिजिनेशनको मुल साझा रहेको छ । साथै राजनीतिक र भौगोलिक हिसावले पनि दुवै देशका सीमा खुला समेत रहेका छन् । दुवै देशका नागरिक पासपोर्ट विना सजिलै आवत–जावत गर्न पाउँछन् । त्यति मात्र होइन यी देशका नागरिकहरुका बीचमा विवाहवारी समेत हुने गरेको छ । 

यसमा अर्काे महत्वपूर्ण पाटोको रुपमा अवसरका हिसावले रहेको सीताराम सम्बन्ध हो । यस सम्बन्धलाई अलिकति व्यावसायिक पक्ष जोडेर अघि बढाउन सक्ने प्रशस्त आधार छ । हाल यसमा बर्ष दिनको एक दिन विवाहपञ्चमीमा रामसीता विवाहको जन्ती आउने बाहेक अन्य ठोस र नेपालले लाभ लिने गरि मोडालिटी अघि बढाउन सकिएको छैन् । साथै, अयोध्यामा निर्मित राम मन्दिरमा भगवान रामको मूर्ति बनाउन नेपाललको कालीगण्डकी क्षेत्रबाट शिला लगिएको सन्दर्भलाई समेत जोडेर अनेकौँ अवसरका अध्याय अघि ढाउन सकिने देखिन्छ । तर यी सबै सम्भावनाका ढोका तब खुल्न सक्छन् जब हामी नेपालीको सोचमा अयोध्याको नयाँ विकसित परिस्थिति नेपालले लाभ लिने सम्भावनाको आधार भएको हुने छ । त्यसैले यो अवसरलाई हातबाट फुत्कन दिने नभई यस प्रत्यक्ष रुपमा लाभ लिने गतिमा नेपाल अघि बढ्नु पर्दछ ।

जय सीताराम !

(लेखक पन्तः युवा ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद् तथा पूर्वीयदर्शनका व्याख्याता हुन् । सम्पर्क ९८१३६३७२३८)

Advertisement

Advertisement