सोलुखुम्बुमा सर्वाधिक राशीको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ हुने

Advertisement

काठमाडौं । सोलुखुम्बुमा सर्वाधिक राशीको ‘विश्वशान्ति अन्तर्राष्ट्रिय ट्रेल म्याराथन’ हुने भएको छ । 

बुधवार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै ३ लाख पुरस्कार राशी रहेको ट्रेल म्याराथनको आयोजना हुने भएको मुन स्टार क्लबले जानकारी गराएको हो । उक्त पुरस्कार राशी ट्रेल म्याराथनको इतिहासमा नेपालकै ठूलो पुरस्कार राशी मानिएको छ । 

Advertisement

मुन स्टार क्लबको वार्षिक उत्सवको अवसरमा आगामी अक्टोबर २१ तारिखमा आयोजना गरिने ट्रेल म्याराथन करिब ४३ किलोमिटर दूरीको हुनेछ । सोलुखुम्बुको तल्लो क्षेत्रमा खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय ट्रेल म्याराथनको आयोजना गर्न लागेको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक चन्द्र बहादुर राईले जानकारी दिए । 

सोलुदुधकुण्ड नगरपालिका ५ सल्लेरीदेखि सुरु हुने म्याराथन माप्य दुधकोशी गाउँपालिका–२ बासाखाली माध्यमिक विद्यालय (खालीडाँडाँ)मा पुगेर विविध सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसहित समापन गरिने क्लबका अध्यक्ष भुवनसिं राईले बताए । 

१६ वर्ष माथिका स्वदेशी तथा विदेशी महिला/पुरुष सहभागी बन्न सक्ने ट्रेल म्याराथनका शीर्ष तीन विजेतालाई क्रमशः ३ लाख, २ लाख र एक लाख नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना ५/५ जना धावकलाई ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । महिला र पुरुषतर्फको प्रतिस्पर्धा विजेतालाई समान पुरस्कारको व्यवस्था मिलाइएको छ ।

अक्टोबर २१ मै स्थानीय खेलाडीलाई विशेष प्रोत्साहन गर्न महिला/पुरुष ‘मातृभूमि म्याराथन’को समेत आयोजना गरिने मुन स्टार क्लबका सचिव पूर्ण राईले बताए । खुम्बु पासाङल्हमू गाउँपालिका १ खरिखोलादेखि सुरु हुने उक्त म्याराथन जुभिङ हुँदै खालीडाँडाँसम्म २१ किलोमिटरको रहनेछ । महिला र पुरुष तर्फको विजेतालाई समान पुरस्कार राशी २० हजार, १५ हजार र १० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ भने सान्त्वना १÷१ जना धावकलाई ५/५ हजार नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय धावक अर्जुन कुलुङले विश्वशान्तिको कामनासहित आयोजना गरिने ट्रेल म्याराथनले खेल पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।   
 

Advertisement

Advertisement