प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुनसक्दैनः राजा ज्ञानेन्द्र, ‘सम्पर्कका निम्ति हाम्रा सबै द्वार खुल्ला छ’

Advertisement

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले आफ्‌नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्ने बताएका छन् । 

यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्ने शाहले बताएका छन् । उनले भनेका छन्, ‘सबैले मिठो खान पाउने, सबैले राम्रो लगाउन पाउने, सबैले स्वस्थ, शान्त र सन्तुष्ट भएर बाँच्नसक्ने, सबैलाई देशमा गतिलो शिक्षा र सबैको क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्तको रसिलो अर्थ रहन्छ ।’ 

Advertisement

राजा ज्ञानेन्द्रले आफू सदैव नेपालीजनसंग निकट रही रहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरु खुल्ला रहने शुभेच्छाभाव पनि राखेका छन् । गणतन्त्र घोषणापछि राजा ज्ञानेन्द्र गद्दीविहीन बनेका छन् । 

यस्तो छ शुभकामना सन्देशः 
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ७४ श्री राष्ट्रिय प्रजातन्त्र विवसको अवसरमा बक्सेको शुभकामना

नेपाली दिदीबहिनी तथा दाजुभाइहरु,

फागुन ७ गतेको समय सन्दर्भमा हामी प्रत्येक वर्ष  राष्ट्रिय प्रजातन्त्र विवस मनाउने गर्दछौं । यस अवसरमा हामी प्रजातन्त्रप्रति प्रतिबद्ध हाम्रा प्रात स्मरणीय पूज्य जिन्यू बुवाज्यू राष्ट्रपिता श्री ५ त्रिभूवनको त्याग र उदारताको संस्मरण गर्दै प्रजातन्त्रका अथक योद्धा बीर शहीद सबैमा श्रद्धाभाव राख्दै हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

प्रजातन्त्र आजको युगको सर्वस्वीकार्य राजनीतिक विश्व व्यवस्था हो । प्रजातन्त्रको प्रगति हुँदै जानु अपरिहार्य देखिन्छ, सबैभन्दा पूरानो र सबैभन्दा स्थायी प्रकृति पद्दति हो । प्रजातन्त्रमा आफ्‌नो देशको प्रकृति, संस्कृति र परिवेश अंकित हुनुपर्दछ । यसैगरि, आफ्नो भू–बनोट, आफ्नो भू–भाग भित्रका विविध समाज सबैलाई संलग्न पार्नुपर्दछ । सबैलाई समाविष्ट गर्ने र सबैको विशेषता, योग्यता तथा योगदानलाई प्रजातन्त्रमा फल्न फुल्न दिनुपर्दछ । आ–आफ्नो राष्ट्रको मौलिक मान्यता तथा आ–आफ्नो सामाजिक संरचना मुताविक आ–आफ्नो शैली, पद्धति र परिपाटीअनुरुप राज्य पद्धति कायम रहनै पर्दछ ।

प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन सक्दैन । आफ्‌नो श्रोत, साधन र सीप सबै यसमा समाहित हुनुपर्दछ । यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ । सबैले मिठो खान पाउने, सबैले राम्रो लगाउन पाउने, सबैले स्वस्थ, शान्त र सन्तुष्ट भएर बाँच्नसक्ने, सबैलाई देशमा गतिलो शिक्षा र सबैको क्षमताअनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्तको रसिलो अर्थ रहन्छ ।

प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्द कर्म कर्तब्य, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम् सही प्रकारको आचरणले मात्र हुने हो । जनता जनार्दनले जे भन्दछन् त्यो सुनौ त्यसलाई गुनौ र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातली यथार्थका आधारमा प्रजातान्त्रिक बिधि व्यवहार झल्काउनु पर्दछ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागीरहने प्रतिबद्धता हामी राख्दछौ । प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैब नेपालीजनसंग निकट रही रहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरु खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौ ।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल,

२०८० साल फागुन ७ गते

Advertisement

Advertisement