नयाँ समझदारीका लागि तयार हुन लिङ्देनको दाहाल, देउवा र ओलीलाई आग्रह, नभए विद्रोह

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुक लागि अभिशाप भइसकेको बताएका छन् । मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन काँग्रेस, एमाले र माओवादी केन्द्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ सम्झदारी गरेर अघि बढ्नुपर्ने उनको भनाई छ । 

राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गदै बुधवार र्यालीसहितको बिरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा बोल्दै लिङदेनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए । उनले आफूहरुले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शीर्ष नेताहरुलाई सचेत गराए । 

Advertisement

लिङदेनले भने, ‘अहिले मुलरुपमा हामीले भन्ने खोजेको के हो भने अब देश यही अवस्थामा रहिराख्न सक्दैन । देश अहिले जुन अवस्थाबाट अगाडि बढिराखेको छ, यसले हाम्रो सुदूरभविष्य अन्धरकारपूर्ण छ र कुनैपनि बेला देश दुर्घटनामा जानसक्छ भन्ने टुुंगो भईसकेको छ । त्यसकारण देशलाई दुर्घटनाबाट रोक्नका लागि अब नयाँ सम्झौता, नवीन सम्झदारी आवश्यक छ ।’ 

उनले थपे, ‘म यहाँबाट सबै राजनीतिक दलहरु र खासगरी अहिलेको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको प्रश्तावक वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको एजेण्डाको पछि लागेका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई पनि आग्रह गर्न चाहन्छु । अब गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको बाटो असफल भइसक्यो । तपाइँहरुले अवलम्वन गरेको मार्गचित्रबाट देशलाई जब्बरजस्त अगाडि बढाउन चाहनु भयो भने, त्यो दुष्पप्रयास गर्नुभयो भने देशले दुर्घटना व्यहोर्ने अवश्यम्भावी छ । त्यसकारण कुनैपनि प्रकारको अहम, कुनैपनि प्रकारको घमण्ड नगरिकन नयाँ सम्झौताका लागि तयार हुनुहोस् ।’ 

आफूहरुले कसैलाई पनि निषेधको प्रश्ताव नराखेको बताउँदै लिङदेनले राप्रपाले पछाडि फर्कने कुरा नगरेको बताए । उनले भने, ‘तपाइँहरु भ्रममा पनि नपर्नुहोस् । र, भ्रमपूर्ण प्रचार पनि नगर्नुहोस् । तपाइँहरु बेलाबेला भन्नुहुन्छ– राप्रपाले पछाडि फर्कने कुरा गर्छ । हामीले पछाडि फर्कने कुरा गरेको छैन् । हामीले देश यही अवस्थामा रहिरहन सक्दैन, अब हिजोका पनि राम्रा कुराहरु, आजका पनि राम्रा कुराहरु लिएर नयाँ सम्झौता गरौं र देशलाई नयाँ सम्झौताको बाटोबाट अगाडि बढाऔैं ।’ 

नयाँ समझदारीको लागि ढिलो नगरौं भन्दै लिङदेनले कांग्रेस र कम्युनिष्टहरुले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता सुविचारका साथ ल्याएको हो भने पनि हाम्रो डेढ दशकको अभ्यासले नेपालका लागि उपयुक्त छैन् भन्ने प्रमाणित गरेको बताए । उनले भने, ‘देशका लागि उपयुक्त रहेनछ भन्ने मात्रै होइन, अभिशापसिद्ध हुने रहेछ भन्ने कुरा पुष्टि भयो । त्यसकारण हामीले अब बाटो सच्याउने नयाँ सम्झदारी गरौं ।’  

देशलाई नयाँ बाटोबाट अगाडि लैजानुपर्ने लिङदेनको भनाई छ । उनले माओवादीले २०५२ सालमा ४० बुँदे मागसहित जनयुद्ध सुरु गर्दा कसैले नपत्याएको तर अहिले राप्रपाले ४० बुँदे मागसहित आन्दोलन सुरु गर्दा राप्रपा माओवादीभन्दा निकै संगठित रहेको बताए । 

लिङदेनले भने, ‘माओवादीले २०५२ सालमा जनयुद्ध शुरु गर्दा सरकारलाई बुझाएको ज्ञापनपत्रलाई कसैले पत्याएको थियो ? त्यो सम्भव होला भनेर कसैले पत्याएको थिएन । आज त्यो दिन सम्झनुहोस् म त भन्छु–सायद त्यसको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्डले पनि कल्पना गर्नुभएको थिएन होला । तर राप्रपा त्यसबेलाको माओवादी भन्दा देशमा संगठित छ । र आज भत्काउने, बिगार्ने होइन । देश बनाउने । कसैलाई निषेध गर्ने होइन । राजादेखि माओवादीसम्मलाई जोडने विचार लिएर, मुद्दा लिएर हिँडेको छ ।’ 

सबैलाई जोडन, जुट्न एक चोटी आफ्नो बाटोमा पुनर्विचार गर्न आग्रह गर्दै उनले भने, ‘हाम्रो यो मागलाई तपाइँले उपेक्षा गर्नुभयो भने, ख्यालठट्टा गर्नुभयो भने परिस्थिति बिग्रन सक्छ । हामीले बारम्बार भनेका छौं– हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । अहिंसात्मक हुनेछ । राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैन् । प्रजातन्त्र, मानव अधिकारजस्ता विषयमा राप्रपा पूर्णरुपमा विश्वास गर्दछ । तर तपाइँहरुले उपेक्षा गर्नुभयो भने राप्रपाको अहिंसा र प्रजातन्त्रप्रतिको प्रतिवद्धतालाई कमजोरी ठान्नुभयो भने कठोर बन्दै गएर विद्रोहमा परिणत हुनसक्छ भन्ने कुरा पनि हेक्का राख्नुहोस् ।’
 

Advertisement

Advertisement