स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्योः घिमिरे

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राजनीतिक दल र जनप्रतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम भ्रष्टाचारको माध्यम बन्न गएको उनको भनाई छ । 

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिवार गरेको एक कार्यक्रममा घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारालाई नियन्त्रण गर्न सकिने बताए । क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा दल प्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुने बताए । 

Advertisement

घिमिरेले जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोगहरु लाग्ने भएको र त्यसलाई लाग्नै नदिने गरी जनप्रतिनिधिहरुले चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै क्यान्सर रोगको निदानका लागि आवश्यक ऐन, कानून बनाउने कुरामा आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । 

उनले भने, ‘अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभुति के छ भने स्वास्थ्य जाँच गर्न जाने, बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाका राम्रोसँग विकास हुन थालेको छ । तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाई छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरुकै चेतना छैन् । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी हुनसक्छ ? भन्ने कुराकै जानकारी छैन् ।’ 

समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रम समेटी क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन । क्यान्सर रोगको पीडाबाट मुक्त हुनुभएकी उनले किशोरीहरुलाई पाठेघरबिरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए । उनले काठमाडांै उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने बताए । 

Advertisement

Advertisement