प्रहरीले संसद भवन छिर्न नदिएपछि पूर्वसभामुख ढुंगानालाई फनफनी घुमायो

Advertisement

काठमाडौं । कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन् । 

मंगलवार सभासद मञ्चले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ढुंगानालाई अतिथिको रुपमा बोलाएको थियो । कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो । तर ढुंगानालाई कार्यक्रम संसद भवनमा हुने सोचसहित नयाँ बानेश्वर पुगे । 

Advertisement

नयाँ बानेश्वर पुगेपछि प्रहरीले ढुंगानालाई भित्र छिर्न नदिएर यो र त्यो गेटमा जानुस् भनेर फनफनी घुमायो । उनले प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउँदिन भन्ने आफूलाई महशुुस भएको बताउँदै अघिल्लो पटक संसद विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको पनि कार्यक्रममा जानकारी गराए । 

ढुंगानाले तेस्रो पटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताए । सिंहदरबारस्थित कार्यक्रममा पुगेर सम्बोधन गर्ने क्रममा उनले भने, ‘मलाई अलिकति त्रास पनि छ । के भने यो धमला बैनीले बनाएको (कल्पना धमला) पहिलो कार्यक्रममा संसद विघटन हुँदाखेरी बाबुरामजी पनि बोल्नुभएको थियो । मैले केही भनेँ ममाथि अदालतको अपहेलनाको मुद्दा लाग्यो । अहिलेसम्म नि म तारिखमै छु । त्यो बेला त तारिखमै बसियो । यसपालि त संसदमा अघि नै उता माथि पुगेछु । त्यहाँ यता दुई नम्बर गेटमा जा भन्छ । तीन नम्बर गेटमा जा भन्छ । प्रहरीले घेरेको घेरेकै छन् । त्यहाँबाट निस्किन पाउँछु कि पाउँदिन यसपाली त पक्राउ नै परेँ कि जस्तो पनि भयो । किनकी म भुलेछु उता भन्ठानेछु नानीले पनि भनिनन् ।’ 

उनले थपे, ‘कतिबेरसम्म यताबाट गेटमा जान्छु आर्मीले यता पनि होइन भन्छ, उता पनि होइन भन्छ । प्रवेश नै पाइन मैले । पहिले त म मुद्दामा मात्रै परेँ । यसपालि त पक्राउ नै परेँ जस्तो लाग्यो । अब तेस्रोचोटी के हुन्छ ? थाहा छैन ।’ 

सोमवार (हिजो) प्रतिनिधि सभा बैठक चलिरहेको बेलामा लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेर नाराबाजी गरेसँगै संसद भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद भवन परिसर बाहिरको सडक पेटीमा समेत तारबार गरेर निषेधित क्षेत्र तोकिएको छ ।

कार्यक्रम आयोजक संस्था सभासद मञ्चकी अध्यक्ष कल्पना धमलाले पूर्वसभामुख जस्तो व्यक्तिलाई समेत सिंहदरबार छिर्न छिर्न गाह्रो परेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले पूर्वसभामुख तथा संविधान सभा सदस्य र सांसदहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताइन् । 

Advertisement

Advertisement