‘राइट टु प्रोटिन रन’ चैत १० मा, सात हजारले सहभागिता जनाउने अनुमान

Advertisement

काठमाडौं । ‘राइट टु प्रोटिन रन’ यही चैत १० गते हुने भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले यो दौड आयोजना गर्न लागेको हो । 

चैत १० गते बिहान ६ बजेदेखि तेश्रो संस्करणको हाफ म्याराथनसहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवं एशोसियनका पूर्वअध्यक्ष डा. सितलकाजी श्रेष्ठले बताए । 

Advertisement

दशरथ रंगशालाबाट शुरु भई सोही स्थानमा आई समापन हुने दौडमा यस बर्ष सात हजार सहभागी हुने अनुमान छ । गत बर्ष पाँच हजार सहभागी भएका थिए । नेपाल जस्ता विकासशील मुलुकहरुमा जनसंख्याको ठूलो हिस्सा सन्तुलित आहारबाट बञ्चित रहेको भन्दै कमजोर आर्थिक अवस्था र सन्तुलित आहारबारे जनचेतनाको अभाव र विशेषगरी प्रोटिनजन्य पदार्थहरु मासु, अण्डा, दूध, माछा, गेडागुडी आदिको हिस्सा कम हुँदा नेपालमा लाखौ मानिसहरु कुपोषणको शिकार हुनुपरेको एशोसियसनको भनाई छ । 

पाँच वर्ष मुनिका ४० प्रतिशत बालबालिकाहरु पुड्को हुने समस्याबाट ग्रसित रहेको र यसै कुरालाई मध्यनजर गर्दै उक्त कार्यक्रमको आयोजना गर्ने गरिएको श्रेष्ठको भनाई छ । प्रतियोगितामा खुला हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किलोमिटर (पुरुष) र ३ किलोमिटर (महिला) र फरक क्षमता भएका व्यक्तिहरुको लागि स्विलचेयर गरी आठवटा विधाका दौडहरु समावेश गरिएका छन् । 

यस कार्यक्रमको कुल पुरस्कार राशी करसहित रु १४ लाख १२ हजार पाँच सय रहेको छ । पाँचौं स्थानसम्म प्राप्त गर्नेलाई पुरस्कारको व्यवस्था रहेको यो प्रतियोगीतामा भाग लिएका सबै विधामा दौड पुरा गर्ने प्रतियोगीलाई मेडलको व्यवस्था गरिएको छ ।

यस प्रतियोगितामा खेलाडीहरुको सुविधाका लागि १२ ठाउँमा पानी र प्राथमिक उपचार कक्षको व्यवस्था गरिने जनाइएको छ । आकस्मिक सेवाको लागि ७ वटा एम्बुलेन्सहरु रहने छन् । प्रतियोगिता व्यवस्थापनको लागि तीन सय स्वयंसेवक परिचालन हुनेछन् । प्रतियोगिताको संरक्षक राष्ट्रिय खेलकुद परिषद् रहेको छ भने नेपाल एथ्लेटिक एशोसिएसनले मान्यता दिएको छ । 

Advertisement

Advertisement