उदयपुरको एउटै गाउँबाट दुई करोडको बेसार बिक्री

Advertisement

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्यबराबरको बेसार बिक्री भएको छ ।

विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।  सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले  सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए । स्थानीयवासी देवबहादुर मगरले भने, ‘२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो । २०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रुपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँनै बेसार खेतीमय भएको छ ।’
उनका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार  बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले  अनुसार नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको छ । उनले एक घरले वार्षिक झण्डै तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको बताए । 

Advertisement

किसान सन्तबहादुर मगरले २०७३ सालदेखि यस क्षेत्रको बेसार मंसिर पुस महिनातिरनै विराटनगरका व्यापारीले खरिद गर्न आउने गरेको जानकारी दिए । पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोतनै बेसार भएको चौदण्डी–६ का वडासदस्य देवी मगरले बताइन् । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ ।

केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पकेट क्षेत्रको रुपमा सिद्धिपुर क्षेत्र रहेको बताइन् ।  

त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी महत्वपूर्ण बेसार उत्पादन क्षेत्र रहेको कृिष ज्ञान केन्द्रले जनाएको छ ।

Advertisement