गृहमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षीको संसद अवरोध जारी

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पनि संसद अवरोध जारी राखेको छ । 

गृहमन्त्रीले सहकारीको रकम हिनामिनाका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको भन्दै कांग्रेसका सांसद संजय गौतमले, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ,’ कांग्रेस सांसद गौतमले भने ।

Advertisement

यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । सो कुराप्रति गौतमले आपत्ति जनाए । 

प्रहरी प्रमुख कुँवरले सहकारीको ठगीका सन्दर्भमा ‘सबै इस्युको मेन जड’ जीबी राई रहेको उल्लेख गर्दै  ‘रवि लामिछानेको नाम आएको छ, तर यसमा उहाँको कुनै संलग्नता देखिएको छैन’ भनेका थिए । कांग्रेसले गत फागुन २४ गतेदेखि लामिछाने सहकारी ठगीमा मुछिएकाले यससम्वन्धमा संसदीय छानविन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने अडान राख्दै आएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले समेत लामिछाने निर्दोष रहेको दावी गर्दै संसदमा जवाफ दिएका थिए । तर कांग्रेसले सो कुरामा चित्त बुझाएको छैन् । आज संसदमा बोल्ने क्रममा गौतमले भने, ‘राजनीतिक पूर्वाग्रहको रुपमा यो उठेको होइन । आफूहरुले सुरुमा प्रधानमन्त्रीको जवाफ खोजेको तर, प्रधानमन्त्रीले क्लिन चिट दिन खोजेपछि संशय पैदा भएको छ ।’ 

गृहमन्त्री लामिछानेको सहकारी प्रकरणमा संलग्नता देखिँदा देखिँदै उनलाई गृहमन्त्रालयमा स्वार्थ बाझिने गरी नियुक्ति गरिएको भन्दै उनले यो विषय गृहमन्त्रीको नैतिक विषय भएको बताए । विगतमा कांग्रेसका तर्फबाट अर्थमन्त्री रहेका रामशरण महतलगायतले आफूमाथि प्रश्न उठ्दा राजीनामा दिएको, उदाहरण दिँदै तर अहिले प्रधानमन्त्री नै गम्भीर नरहेको बताए । 

गौतमले भने,  ‘प्रधानमन्त्रीज्युले ठूलो माछा काखीमा च्यापेर सानो माछा मात्रै खोजी गर्ने कुरामा प्रतिबद्धता जनाएर पुग्छ ?’ उनले आफूहरुले यो विषय गम्भीर रुपमा प्रश्न उठाएको र गृहमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम रहेको बताए ।

Advertisement