हाम्रो धरातल ओरालो नपार्ने हो भने जति लगानी सम्मेलन गरे पनि लगानी आउँदैनः अग्रवाल

Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका कार्यबहाक अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र एकदमै शिथिल अवस्थामा रहेको बताएका छन् । कर्पोरेट नेपालको दशौं बार्षिकोत्सवमा उनले निजी क्षेत्र इतिहासमा सबैभन्दा धेरै अहिले निरुत्साहित रहेको बताए । 

अग्रवालले आठ–नौ बर्षअघि संविधान जारी गर्दा भूकम्पको प्रभाव हुँदाहुँदै पनि निजी क्षेत्र उत्साहित रहेको, त्यसपछिका तीन आर्थिक बर्षको आर्थिक वृद्धिदर पनि उत्साहजनक नै रहे पनि त्यसपछि भने अर्थतन्त्रमा समस्या आउन थालेको बताए । 

Advertisement

उनले कोरोना महामारीको विश्वव्यापी प्रभावका कारण नेपालमा पनि ‘जीडीपी ग्रोथरेट’ कुल गार्हस्थ उत्पादनको नकारात्मक वृद्धिदर) हुनु स्वाभाविक रहेको, दुई पटक लकडाउन भएकोको परिस्थितिमा केन्द्रीय बैंकले खुकुलो मौद्रिक नीति लिएकाले लकडाउनको प्रभाव थेग्न सहज भएको बताए । 

त्यसपछिको मौद्रिक नीति र वित्त नीति राम्रो आउन नसक्दा अर्थतन्त्र झन खुम्चिने अवस्था बनेको अग्रवालको भनाई छ । निजी क्षेत्र हतोत्साहित हुँदा आर्थिक बर्ष २०७९–८० मा जीडीपी १.८६ प्रतिशत मात्रै भएको र चालु आर्थिक बर्षमा पनि तीन प्रतिशत पुग्न पुस्किल रहेको उनले बताए । 

अग्रवालले अर्थतन्त्रका विभिन्न क्षेत्रहरुः घरजग्गा, शेयर बजार, निर्माण, मिडियालगायत प्रायः सबै शिथिल अवस्थामा रहेको औंल्याउँदै तथ्यले नै नीतिहरु लगानीमैत्री भयो भने आर्थिक वृद्धिदर राम्रो हुन्छ, नभए हुँदैछ भन्ने पछिल्लो अवस्थाले दर्साएको बताए । 

उनले आर्थिक संवृद्धिमा आर्थिक मिडियाको ठूलो भूमिका हुने बताउँदै निजी क्षेत्र र सरकारको बीच सेतुको रुपमा कर्पोरेट नेपालले महत्वपूर्ण भूमिका निर्वाह निर्वाह गर्दै आएको बताए । 

Advertisement