होटल ‘हिल्टन’को नामाकरण सम्पन्न, बुकिङ सुरु, आउँदो जुनमा औपचारिक उद्घाटन
तस्वीरः रत्नसंसार श्रेष्ठ

Advertisement

काठमाडौं । शंकर ग्रुपले राजधानीको नक्सालमा निर्माण सम्पन्न गरेको होटल हिल्टन काठमाडौंको औपचारिकरुपमा नामाकरण गरिएको छ । 

कुल १८ तल्लाको यो भवनमा ‘हिल्टन’को साइन राखिएको हो । हिल्टन अन्तर्राष्ट्रिय चेन होटल हो । ‘फुल सर्भिस अपस्केल फाइभस्टार होटल’ हिल्टन पाँच तारेमा पनि उच्चस्तरमा पर्ने शंकर ग्रुपका कार्यकारी निर्देशक साहिल अग्रवालले बताए ।   

Advertisement

होटलले आउँदो अगष्टका लागि बुकिङ सुरु गरिसकेको छ । आउँदो जुनमा औपचारिक उद्घाटन नै गर्ने तयारी गरिएको यो होटलको निर्माणसँग सम्वन्धित् काम सम्पन्न भई व्यवस्थापकीय कुराहरु मिलाउने काम भइरहेको छ । 

पाँच तारे लक्जरी होटल हिल्टन निर्माण लागत आठ सय करोडभन्दा बढी भएको छ । होटल हिल्टनको निर्माण कार्य सन् २०१८ देखि निर्माण सुरु गरिएको थियो । ‘दुई–अढाई बर्ष त कोभिड–१९ ले समय ढिलो भई लागत बढेको अग्रवालको भनाई छ । 

सुरुमा छ अर्ब ६८ करोड लागत अनुमान गरिएको होटल हिल्टन तीन वर्षमै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । शंकर ग्रुपको अधिकांश लगानी रहेको होटल हिल्टनमा साहिल अग्रवालले ९० प्रतिशत शेयर होल्डिङ गरेका छन् । 

अहिले १७२ रुम पुगेको छ । छ वटा कार्यक्रम हल पनि छ ।  यसलाई सात वटा बनाउन मिल्छ । न्यू फेजमा अर्को ठूलो हल पनि बन्दै गरेको जनाइएको छ । होटलको व्यवस्थापन हिल्टन वर्ल्डवाइड म्यानेज लिमिटेड इङल्याण्डले गर्नेछ । 

हिल्टन वर्ल्डवाइड अमेरिकाको बहुर्राष्ट्रिय ब्राण्ड हो । यो कम्पनीले विश्वका १२३ भन्दा बढी देशहरुमा होटलको व्यवस्थापन गरिरहेको छ । कुल नौ रोपनी क्षेत्रफलमा रहेको होटल हिल्टन्मा पौडी पोखरी छतमा छ । यसबाहेक हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्विमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा हुनेछ । 

होटलमा स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खानाका परिकारहरु उपलब्ध हुनेछ । विवाह, सभा, बैठक सबै गर्न मिल्ने यस होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधा पनि हुने छ । होटलमा तीन सयको हाराहारीमा कर्मचारी हुने प्रारम्भिक अनुमान छ । 

Advertisement

Advertisement