ऋण तिर्न नसक्दा लघुवित्तका २५०३ ऋणी कालोसुचीमा, संख्या बढ्दो

Advertisement

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८०–८१ मा लघुवित्त वित्तिय संस्थाका दुई हजार ५०३ जना ऋणी कालोसुचीमा परेका छन् । कर्जा सुचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत २७ गतेसम्म सो बराबरको ऋणी कालोसुचीमा परेका हुन् । 

ऋण तिर्न नसकेको भन्दै लघुवित्तहरुले उनीहरुलाई कालोसुचीमा राख्न सिफारिस गरेको थियो । त्यसपछि कर्जा सुचना केन्द्रले उनीहरुलाई कालोसुचीमा राखेको छ । कालोसुचीमा पर्ने व्यक्ति तथा कम्पनीले बैंकबाट कर्जा सुविधा पाउन सक्दैनन् । 
 
यसअघि लघुवित्तका ऋणीलाई कालोसुचीमा राख्ने व्यवस्था थिएन । तर, चालु आवदेखि भने लघुवित्तको ऋण नतिर्ने ऋणीलाई पनि कालोसुचीमा राख्न सुरु गरिएको छ, यसको तथ्यांक कर्जा सुचना केन्द्रले छुट्टै सार्वजनिक गर्दै आएको छ । 

Advertisement

पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्या र आर्थिक शिथिलता कारण नै यस्ता ऋणीहरु कालोसुचीमा पर्न बाध्य भएको बताइन्छ । बिगतमा सही नियमन नहुँदा, जथाभावी ऋण प्रवाह हुँदा र ऋणीहरुले जथाभावी ऋण लिएका कारण लघुवित्तमा अहिले समस्या आएको हो । पछिल्लो समयमा आर्थिक मन्दी र मानिसहरुको क्रयशक्तिमा आएको गिरावटले गर्दा पनि मानिसहरुलाई ऋण तिर्न समस्या पर्ने थरेको छ ।  

एउटै व्यक्तिले एक दर्जन लघुवित्तबाट समेत कर्जा ल्याएका तथ्यहरु पनि पाइएका थिए । एउटा लघुवित्तबाट ल्याएको कर्जा तिर्न अर्को लघुवित्तबाट कर्जा ल्याउने र लघुवित्तको चर्को ब्याजदर तिर्न नसक्दा ऋणमाथि ऋण बढ्दै जाने अवस्थाले पनि लघुवित्त संस्थासँगै सहकारी संस्थाहरुमा समेत समस्या सिर्जना भएको छ । 

सप्तरी छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिकले लघुवित्तकै ऋण तिर्न नसकेर २०७९ माघ ११ गते आत्महत्या गरेका थिए । उनले महुली लघुवित्तबाट १५ हजार र ग्लोबल आईएमई लघुवित्तबाट ९० हजार ऋण लिएका थिए । 

त्यसमा महुलीमा ४ हजार रुपियाँ र ग्लोबलमा ४४ हजार रुपियाँ ऋण बाँकी थियो । यो प्रतिनिधि उदाहरण हुन्, पछिल्लो समय लघुवित्तका केही ऋणीहरु कर्जा नतिर्ने अवस्थामा पुगेको छन् । 
यस्तै, बिगतमा केही समूहले लघुवित्तको ऋण नै नतिर्ने अभियान चलाएका थिए । 

लघुवित्तको ऋण सरकारले ऋण मिनाहा गर्नुपर्ने माग समेत अहिले चर्को रुपमा उठेको छ । यसको नेतृत्व व्यवसायी दुर्गा प्रसाइँले गरिरहेका छन् । ऋण मिनाहा हुने आशामा ऋण नतिर्दा पनि कालोसुचीमा पर्ने ऋणीहरुको संख्या बढेको लघुवित्तका सीईओहरुको बताउने गरेका छन् । 

यस्तो समस्या देशको विषम आर्थिक अवस्थाले मात्रै नभई लघुवित्तले तोकिएको सिमा र दायराभन्दा बाहिर गएर कर्जा प्रवाह गर्ने गरेकाले समस्या आएको जानकारहरु बताउछन् । बिगतमा समग्रमा लघुुवित्तहरुले आफ्नो मुल सिद्धान्तभन्दा बाहिर गएर बढी नाफा कमाउने होडमा काम गरेका थिए । लघुवित्त संस्था खोल्न दिने र त्यसको शेयरबाट मालामाल हुने खेलमा ठूलो गिरोह नै लाग्दै आएको थियो । 

कतिपय लघुवित्तका कर्मचारीले ऋणीलाई ऋण तिर्न मिटर व्याजमा समेत व्यक्तिगत कर्जा दिएको देखिने गरेको छ । ऋण अशुल गर्न अनावश्यक दबाब दिने, शर्त राख्ने,  नाजायज सम्वन्ध राख्न प्रलोभन राख्ने जस्ता कुराले पनि मानिसहरुको लघुवित्तप्रतिको धारणा नकारात्मक हुँदै गएको छ । आर्थिक मन्दीले साना पेशा, व्यवसायीको व्यवहार बिग्रिएका कारण र सहकारीहरुले भुक्तानी दिन नसकेका कारण ऋण तिर्न नसकेकोले कालोसुचीमा पर्ने क्रम बढेर गएको छ । 

Advertisement

Advertisement