राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

Advertisement

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद बिमला घिमिरे निर्वाचित भएकी छिन् । 

राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित हुनुभएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।  
    
अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए । एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो । 

Advertisement

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गरेका थिए । 

सभाको अर्को बैठक यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने छ ।      

Advertisement