दूरसञ्चार क्षेत्रका विविध आयाम र ‘कर्पोेरेट’ संस्कृति

Advertisement

–आनन्दराज खनाल, दूरसञ्चारविज्ञ
१. पृष्ठभूमि

नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको असोज २०८० को ‘दूरसञ्चार अन्तर्दृष्टि’ प्रतिवेदनअनुसार नेपालमा दुईवटा मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मोबाइल सेवा दिइरहेका छन् र क्रियाशील मोबाइल टेलिफोन घनत्व ८४.३९ प्रतिशत पुगेको छ । नेपाल टेलिकमले मात्रै स्थिर ल्यान्डलाइन टेलिफोन सेवा दिएको छ, जसको घनत्व केवल दुई प्रतिशत छ । करिब एक सय ३१ वटा इन्टरनेट सेवाप्रदायकले इन्टरनेट सेवा प्रदान गरिरहेका छन् । स्थिर इन्टरनेट घनत्व ४३.४३ प्रतिशत पुगेको छ भने क्रियाशील मोबाइल ब्रोडब्यान्डको घनत्व ५५.५५ प्रतिशत छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्ने उद्देश्यले २३ वटा नेटवर्क सेवाप्रदायक कार्यरत छन् र तिनले करिब १६२८ जीबीपीएस ब्यान्डविथ नेपाल भित्राइएका छन् । मोबाइल सेवामा डुओपोली छ भने इन्टरनेट सेवामा आवश्यकताभन्दा बढी प्रतिस्पर्धा छ । तर। एक लाखभन्दा बढी सेवाग्राही भएका इन्टरनेट सेवाप्रदायको संख्या भने आठभन्दा बढी छैन ।

नेपाल अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रतर्फको यात्रामा अघि बढ्दै गर्दा नेपालमा कार्यरत व्यावसायिक संस्थामा कर्पोेरेट संस्कृतिको विकास, प्रतिस्पर्धात्मकता, गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई बढावा दिनु झनै महत्वपूर्ण हुनेछ । संस्थागत विकासका मुख्य स्तम्भमध्ये कर्पोरेट संस्कृतिको अवधारणा महत्वपूर्ण छ, जसले कम्पनीहरूको आन्तरिक गतिशीलतालाई आकार दिनुका साथै विश्वव्यापी बजारमा आफ्नो उपस्थिति जनाउन सक्ने क्षमतालाई पनि प्रभाव पार्दछ । यस लेखमा, हामी नेपालको दूरसञ्चार व्यवसायभित्र कर्पोरेट संस्कृतिका विविध आयामका साथै जिम्मेवार व्यावसायिक आचरणका मानक, अन्तर्राष्ट्रिय मापदण्ड र स्थानीय परिदृश्यबीचका असमानता अन्वेषण गर्दै सुधारका लागि रणनीति प्रस्तुत गर्नेछौं । 

Advertisement

अति कम विकसितबाट विकासोन्मुखतर्फको फड्को 
सन् १९७१ मा संयुक्त राष्ट्र संघले बनाएको विकाससम्बन्धी एक विधिअनुसार नेपाल अहिले अतिकम विकसित राष्ट्रको सूचीमा छ । प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय, मानव संशाधन, र आर्थिक जोखिमसम्बन्धी तीन सूचकांकमध्ये दुईवटा सूचकांकका मापदण्ड पूरा गर्ने देशहरू अतिकम विकसित राष्ट्रको श्रेणीबाट विकासोन्मुख राष्ट्रको श्रेणीमा स्तरोन्नतिका लागि योग्य हुन्छन् । 

सन् २०२१ मा नेपालले सन् २०२६ को अन्त्यसम्ममा स्तरोन्नति हुने सहमति गरेको थियो । उक्त समयमा पहिलो मापदण्डअनुसार नेपालको प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय एक हजार २२२ अमेरिकी डलर हुनुपर्नेमा, एक हजार २७ अमेरिकी डलर, दोस्रो मानव संशाधन सूचकांक कम्तीमा ६६ हुनुपर्नेमा ७४.९ र तेस्रो आर्थिक जोखिम सूचकांक ३२ भन्दा कम हुनुपर्नेमा २४.७ थियो ।

बलियो मोबाइल नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायकहरूद्वारा प्रतिनिधित्व गरिने नेपालको दूरसञ्चार क्षेत्रले नेपाललाई अतिकम विकसित राष्ट्रको श्रेणीबाट स्तरोन्नति गर्दा आउने आर्थिक–सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्न र अवसरको अधिकतम उपयोग गर्न महत्वपूर्ण माध्यमका रूपमा काम गर्न सक्छन् । 

२. दूरसञ्चार क्षेत्रले पार्न सक्ने प्रभावका मुख्य क्षेत्र
समग्र आर्थिक तथा सामाजिकलगायत अर्थतन्त्रका अनेकौं क्षेत्रमा दूरसञ्चार क्षेत्रले सकारात्मक प्रभाव पार्दछ । तीमध्ये केहीको यहाँ चर्चा गरिनेछ । 

सुधारिएको वित्तीय पहुँचः मोबाइल तथा इन्टरनेटको व्यापक पहुँच र प्रयोगले नेपालको क्रेडिट रेटिङ बढाउन मद्दत गर्नेछ, वित्तमा व्यावसायिक पहुँचलाई सहज बनाउनेछ । ​

प्रत्यक्ष विदेशी लगानीको आकर्षण: मोबाइल सेवाप्रदायक तथा इन्टरनेट सेवाप्रदायकहरूले प्राविधिक विकास र बजार स्थायित्वमार्फत एफडीआई (प्रत्यक्ष वैदेशिक लगानी) प्रवाहलाई आकर्षित गर्दै नेपालको लगानी क्षमता देखाउन सक्छन् । ​

निर्यातउन्मुख माइक्रो स्मल एन्ड मिडियम इन्टरप्राइजेजको विकासः दूरसञ्चार कम्पनीहरूले डिजिटल प्लेटफर्म र ई–कमर्सजस्ता सेवा फस्टाउने वातावरण तयार गरिदिँदा त्यसको लाभ उठाएर माइक्रो स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एमएसएमईएस) ले आयात–निर्यातका चुनौतीलाई परास्त गर्न सक्छन् र व्यापार फस्टाउन सक्छ ।

बढ्दो ‘कनेक्टिभिटी’ र विश्वव्यापी पहुँच: पूर्वाधारमा व्यापक लगानी गरेर, दूरसञ्चार कम्पनीहरूले ‘कनेक्टिभिटी’ मा सुधार गर्न, सेवाको गुणस्तर र अनुभव कायम गर्न र सेवा प्रयोगको लागत घटाउँदै, नेपाली निर्यातकर्ताका लागि विश्वव्यापी बजारमा पहुँच सहज बनाउन सक्छन् ।

नवप्रवर्तन र प्राविधिक उन्नयनः उदीयमान प्रविधिलाई आत्मसात् गर्दै दूरसञ्चार कम्पनीले आर्थिक लचिलोपनलाई बढावा दिँदै उत्पादकत्व र प्रतिस्पर्धात्मकता बढाउन सक्छन् र डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सक्छन् । 

सार्वजनिक–निजी साझेदारीः सरकार, नियामक, र दूसञ्चार क्षेत्रका सरोकारवालाहरूबीचको सहकार्य महत्वपूर्ण छ । अनुकूल वातावरण र पूर्वाधारमा लगानीले समावेशी र दिगो विकास गर्न सम्भव हुनेछ । 

नवप्रवर्तन, प्राविधिक उन्नयन, आविष्कार र सहकार्यको संस्कृतिलाई सदुपयोग गर्दै दूरसञ्चार कम्पनीले नेपालको आर्थिक रूपान्तरण गर्दै नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रको श्रेणीमा स्तरोन्नति गर्न र त्यसपछिको समयमा दिगो विकासका लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान दिन सक्छन् । 

३. नेपालको दूरसञ्चार क्षेत्रमा कर्पोरेट संस्कृतिः
नेपालको दूरसञ्चार क्षेत्रमा कर्पोरेट संस्कृति विभिन्न प्रकारका सेवाअनुसार कम्पनीको प्रकृतिअनुसार फरक–फरक हुन सक्छ । कर्पोरेट संस्कृति संगठनभित्र विभिन्न अभ्यास र व्यवहारमा प्रकट हुन्छ । तर, सबै कम्पनीमा केही साझा विशेषता हुन्छन्, जसलाई यहाँ उल्लेख गरिनेछ । 

१) भावी सोच, ध्येय, लक्ष्य (भिजन, मिसन र गोल): कुनै पनि कम्पनीको भावी सोच, ध्येय, लक्ष्यले कम्पनीको मूल सिद्धान्त र उद्देश्यलाई जनाउँछ, जसले संगठनको कार्य र निर्णयलाई मार्गदर्शन र कम्पनीको दिशा निर्धारण गर्छ । कर्पोरेट संस्कृतिलाई आकार दिने र निर्णय लिने प्रक्रियालाई प्रभाव पार्ने मार्गदर्शक सिद्धान्तहरू यिनैमा आधारित हुन्छन् । संस्थाको दीर्घकालीन आकांक्षा र वाञ्छित भविष्यको अवस्था बोध गराउने भिजनले कर्मचारी र सरोकारवालालाई उत्प्रेरित गर्छ । मिसनले कम्पनीको अस्तित्वको कारण, यसको मूल मान्यता र यसले ग्राहक र समाजलाई प्रदान गर्ने अद्वितीय मूल्यको रूपरेखा कोर्छ । लक्ष्यहरू भने निश्चित, मापनयोग्य, प्राप्त गर्न सकिने र समय सीमा तोकिएका हुन्छन्, जुन भिजन र मिसनसँग तादात्म्य राखी इच्छित परिणाम प्राप्त गर्नका लागि ‘रोडम्याप’ प्रदान गर्ने खालका हुन्छन् । यी सबै कम्पनीको कर्पोरेट संस्कृतिका लागि महत्वपूर्ण तत्व हुन् । यिनले कर्मचारी, शेयरहोल्डरलाई एउटै उद्देश्य र साझा मूल्यमा एकताबद्ध गर्न उत्प्रेरित गर्दै अन्ततः सामूहिक प्रयासलाई साझा उद्देश्यतर्फ चलायमान गराउँछन् । यी तत्वलाई सबै सरोकारवालाबीच स्पष्ट रूपमा सञ्चार गरेर, कम्पनीहरूले बलियो कर्पोरेट पहिचान स्थापित गर्न सक्छन् । 

२) मूल्य–मान्यताः संगठनहरूका लागि, मूल्य–मान्यताले आधारभूत विश्वास, सिद्धान्त र नैतिकस्तरलाई प्रतिनिधित्व गर्छन् । मूल्य–मान्यताले नै संस्थाको कार्य, निर्णय प्रक्रिया र समग्र व्यवहारलाई मार्गदर्शन गर्छ । कर्पोरेट संस्कृतिका लागि आधार बन्छ भने सरोकारवालासँगको अन्तक्र्रियालाई दिशाबोध गर्छन् । नेपालमा मोबाइल तथा इन्टरनेटजस्ता दूरसञ्चार सेवाप्रदायकका सन्दर्भमा पछिल्लो समयमा सेवाको पहुँच विस्तार, ग्राहककेन्द्रित सेवा, नवप्रवर्तन, सामाजिक उत्तरदायित्वजस्ता मूल्यहरू कर्पोरेट संस्कृतिभित्र महत्वपूर्ण अवयवका रूपमा देखापरेका छन् । कागजमा लेखिएका र कार्यालयको भित्तामा टाँसिदैमा संस्थागत मूल्य–मान्यता व्यवहारमा लागू भएको मान्न सकिन्न । समग्र दूरसञ्चार क्षेत्रमा अहिले मूल्य–मान्यताहरू डगमगाएको अवस्था छ ।

३) नेतृत्व शैलीः नेतृत्व शैलीले सम्पूर्ण संगठनका लागि एक प्रकारको सन्देश दिइरहेको हुन्छ । नेपाल टेलिकमको नेतृत्व सरकारले नियुक्त गर्छ, जुन खुल्ला प्रतिस्पर्धाबाट आउने भने पनि नेतृत्व चयनमा स्पष्ट राजनीतिकरण देखिँदै आएको छ । यसरी आउने नेतृत्वले स्वतन्त्र भएर संगठनको हितमा काम गर्न सक्दैन । पछिल्लो समयमा त कमजोर नेतृत्व चयन गरी संगठन दोहन गर्ने एक प्रकारको डरलाग्दो क्रम चलिरहेको छ । बोर्डमा विभिन्न मन्त्रालयको प्रतिनिधित्व हुने भएकाले निर्णय प्रक्रिया जटिल बन्न सक्छ । सडकदेखि संसद्सम्म नै चासोको विषय हुने भएकाले निर्णय प्रक्रिया झन्झटिलो बन्न सक्छ । अर्कोतर्फ एनसेल, एक बहुराष्ट्रिय कम्पनी भएकाले छिटो निर्णय तथा निर्णयमा लचिलोपन अपेक्षित हुन्छ । तर, नेपालको सन्दर्भमा त्यो सत्य देखिन्न । इन्टरनेट सेवाप्रदायकको नेतृत्वमा मूलतः लगानीकर्तामध्येबाटै हुने भएकाले र सानो आकारको संगठनका कारण नेतृत्वले चाहेजसरी नै कम्पनी चलेको देख्न सकिन्छ । कर्मचारीहरूसँग गरिने अन्तक्र्रिया र लिइने निर्णयले नेतृत्वको झलक दिन्छन् । 

नेपालको दूरसञ्चार क्षेत्रमा नेतृत्व केन्द्रीकृत नै देखिन्छ । तथापि कर्मचारीलाई सूक्ष्म व्यवस्थापन नगरी सशक्तीकरण गरेरै मात्र राज्यव्यापी सेवा दिन सम्भव हुने भएकाले सबै सेवाप्रदायकको नेतृत्व एक हदसम्म सचेत देखिन्छन् । रणनीतिक महत्वका निर्णय भने ‘टप–डाउन’ शैलीकै हुन्छन्, जुन नोकरशाही संस्कृतिको द्योतक मानिन्छ । इन्टरनेट सेवाप्रदायकभित्रको नेतृत्व अधिक पहुँचयोग्य हुन सक्छन् । संस्थापक वा मालिकहरू दिन–प्रतिदिन संगठन सञ्चालनमा सक्रिय रूपमा संलग्न हुन्छन् । बजारको माग र ग्राहकको आवश्यकतालाई द्रुत प्रतिक्रियाका लागि अनुमति दिँदै निर्णय लिने विकेन्द्रीकृत अभ्यास पनि देखिन्छ । पछिल्लो समयमा ठूला इन्टरनेट सेवाप्रदायकको नेतृत्वमा अधिकार प्रत्यायोजन गर्ने प्रणाली विकास गरिएको देखिएको छ ।

४) संस्थागत सोपान, औपचारिक सम्बन्ध कर्मचारीबीच अन्तरक्रिया, अग्रज र अख्तियारवालालाई सम्मान तथा र सञ्चारः दूरसञ्चारलगायत प्रायः सबै कम्पनीमा संस्थागत सोपान हुन्छ र त्यसले औपचारिक सम्बन्ध स्थापित गर्छ । त्यसले कर्तव्य र अधिकारका स्पष्ट रेखाहरू भएको तहगत संरचना तयार गर्छ । कर्मचारीले एक–अर्कासँग र व्यवस्थापनसँग अन्तक्र्रिया गर्छन् । खुलेर र आदरपूर्वक कुराकानी गर्छन् । सञ्चारमा पदानुक्रमको भावना रहन्छ । सञ्चार र अन्तरक्रियामा औपचारिकता कायम गरिन्छ । निर्णय प्रक्रिया र कार्यान्वयन क्रममा यो स्पष्ट अनुभव गर्न सकिन्छ । खुलापन र सम्मानको संस्कृतिले सकारात्मक कर्पोरेट संस्कृति झल्कन्छ, जसले सहयोग र पारदर्शी वातावरण बन्दछ । यसको विपरीत एक पदानुक्रमित सञ्चार शैलीले अधिक औपचारिक वा परम्परागत संस्कृतिलाई संकेत गर्न सक्छ । नेपाली संस्कृतिले अग्रज र अख्तियारवाला व्यक्तित्वको सम्मानमा विशेष ध्यान दिन्छ । यो कर्पोरेट संस्कृतिमा पनि प्रतिबिम्बित हुन्छ, जहाँ वरिष्ठता र अनुभवलाई उच्च महत्व दिइन्छ । 

एनसेलजस्तो बहुराष्ट्रिय कम्पनीमा त्यस्तो खालको औपचारिकता नहुन सक्छ । निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकमा पनि औपचारिकता कमै हुन सक्छ ।

५) समूहमा कार्य गर्ने र सहयोगी भावना: नेपाली कर्पोरेट संस्कृतिमा समूहमा कार्य गर्ने र एक–अर्कालाई सहयोग गर्ने शैलीलाई प्रायः प्रोत्साहित गरिन्छ । कर्मचारीले साझा लक्ष्य प्राप्त गर्न सँगै काम गर्ने अपेक्षा गरिन्छ र सहकर्मीबीच सद्भावको बलियो भावना रहन्छ  । तर, कर्मचारीतन्त्रमा भइरहेको चरम राजनीतीकरणका कारण यो सुन्दर भावना स्खलित हुँदै गएको छ र अस्वस्थ प्रतिस्पर्धाले स्थान लिँदै गएको यथार्थ भुल्न सकिन्न । यो समस्या सरकारी कम्पनीमा मात्रै नभएर निजी क्षेत्रमा समेत यदाकदा देखिएको छ । इन्टरनेट सेवाप्रदायकमा भने यस्तो समस्या सुनिएको छैन ।

६) कर्मचारी संलग्नता र पहिचानः कर्मचारीलाई निर्णय प्रक्रियामा सहभागी गराइयो भने आफ्नो काममा बढी उत्पादक र सन्तुष्ट हुन्छन् । नेपाल टेलिकम र एनसेल दुवैले तालिम कार्यक्रम, कार्यसम्पादन प्रोत्साहन र उत्तम कार्यसम्पादन गर्ने कर्मचारी पहिचान गरी पुरस्कृत गर्छन् । निर्णय प्रक्रियामा सांगठनिक सोपानका आधारमा सम्बन्धित कर्मचारी संलग्न भएकै हुन्छन् । तर, रणनीतिक निर्णयमा व्यवस्थापन समूहका खास–खास व्यक्ति मात्रै संलग्न हुने पनि देखिन्छ । पछिल्लो समयमा आईएसपीहरूमा समेत यस्ता यस्ता खाले अभ्यास हुन थालेको सुन्नमा आउँछ ।

७) कार्य–वातावरणः नेपाल विभिन्न जातजाति, भाषा र संस्कृति भएको विविधतायुक्त देश हो । नेपालका दूरसञ्चार कम्पनीहरूले प्रायः विविधतालाई महत्व दिन्छन् र उनीहरूको पृष्ठभूमिलाई पर्बाह नगरी सबै कर्मचारीका लागि समावेशिता र सम्मानलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेको देख्न सकिन्छ । भौतिक परिवेश, सांगठनिक नीति, अभ्यास, सञ्चारशैली, नेतृत्व र कर्मचारीबीचको पारस्परिक सम्बन्धसहित कार्य–वातावरणले कर्पोरेट संस्कृतिलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छ । सकारात्मक कार्य–वातावरणले कर्मचारी संलग्नता, उत्प्रेरणा, सहयोग, सामूहिक कार्य, ग्राहककेन्द्रित मानसिकता, नवीनता, अनुकूलन क्षमता, प्रतिभा आकर्षण साथै संगठनको ब्रान्डिङ र प्रतिष्ठा बढाउँछ । दूरसञ्चारको क्षेत्रमा कार्य–वातावरणका सम्बन्धमा सुधार गर्नुपर्ने धेरै ठाउँ देखिन्छ । रोजगारीको वैकल्पिक सम्भावना न्यून भएकाले कर्मचारी टिकिराख्नुले मात्रै कार्य–वातावरण राम्रो भएको मान्न सकिन्न ।

८) ग्राहककेन्द्रित दृष्टिकोण– सेवाः दूरसञ्चार क्षेत्रको प्रतिस्पर्धात्मक प्रकृतिलाई ध्यानमा राख्दै नेपालका कम्पनीले प्रायः ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्न थालेका छन् । गुणस्तरीय सेवा प्रदान गर्ने, सेवाको मूल्य कम गर्ने, ग्राहकका जिज्ञासा र गुनासो तुरुन्तै समाधान गर्ने तथा ग्राहकका आवश्यकता पूरा गर्न नवीन समाधान प्रदान गर्ने कुरामा सेवाप्रदायकहरू केन्द्रित हुँदै गएको देख्न सकिन्छ । दूरसञ्चार क्षेत्रमा ग्राहक सन्तुष्टि सर्वोपरि रहन्छ । नेपाल टेलिकम र एनसेल दुवैले उत्कृष्ट ग्राहक सेवा, भरपर्दो नेटवर्क कभरेज र नवीन उत्पादन तथा सेवा उपलब्ध गराउने प्रयास गर्दैछन् । यद्यपि, तिनीहरूको दृष्टिकोण फरक हुन सक्छ । नेपाल टेलिकमले राष्ट्रिय हित र सेवा नपुगेका क्षेत्रहरूमा सेवाहरू प्रदान गर्न आफ्नो भूमिकालाई ग्रहण गर्नुपर्ने दायित्व छ भने एनसेल बजार विभाजन र सहरी उपभोक्ताको आवश्यकता पूरा गर्नमा केन्द्रित हुँदै गर्दा आफ्नो सेवा विस्तार पनि गरिरहेको छ  । उच्च प्रतिस्पर्धाका कारण इन्टरनेट सेवाप्रदायक त ग्राहककेन्द्रित नहुनुको विकल्प नै छैन । 
इन्टरनेट अब अत्यावश्यकीय सेवा भइसकेको छ । मोबाइल र इन्टरनेट दुवै सेवामा ग्राहकका अनगिन्ति गुनासा छन् । यिनको समाधान गर्न दुवैखाले सेवाप्रदायकहरू रातोदिन खटिएको देखिन्छ । ग्राहकबाट प्रतिक्रिया संकलन गर्ने संयन्त्र तयार गरिएका छन् । आफ्ना ग्राहक सकभर अन्य सेवाप्रदायकमा नजाऊन् भन्नका लागि पनि ग्राहककेन्द्रित सेवा आज सबैका लागि मूलमन्त्रजस्तै भएको छ । 

९) नवीनता, नवप्रवर्तन र अनुकूलनताः नेपालको दूरसञ्चार क्षेत्र गतिशील र द्रुत रूपमा विकसित हुँदै गइरहेको छ । प्राविधिक विकास र परिवर्तनशील उपभोक्ता प्राथमिकताले नवप्रवर्तनलाई आत्मसात् गर्नैपर्ने वातावरण तयार गरेको छ । यस क्षेत्रका कम्पनीले प्रायः अनुकूलनताको कदर गर्छन् र कर्मचारीलाई नवीनतम प्रवृत्ति र प्रविधिसँग अद्यावधिक रहन प्रोत्साहित गर्छन् । दूरसञ्चार उद्योगमा प्रतिस्पर्धी रहन नवीनता, नवप्रवर्तन र अनुकूलनता महत्वपूर्ण छन् । 

नेपाल टेलिकम र एनसेल दुवैले ग्राहकको बढ्दो चाहना र आवश्यकता साथै प्रविधि विकासअनुसार सेवा प्रवाह गर्नुपर्ने अवस्थालाई आत्मसात् गर्न नवीनता, नवप्रवर्तन र अनुकूलन क्षमतालाई प्राथमिकता दिएकै देखिन्छ । सरकार तथा नियमनकारी निकायले ल्याउने नयाँ नीति, कानून तथा कार्यक्रमलाई पनि पछ्याएकै देखिएको छ । यद्यपि, एनसेल एक बहुराष्ट्रिय कम्पनी भएकाले नेपाल टेलिकमको तुलनामा नवप्रवर्तन तथा आन्तरिक डिजिटल रूपान्तरणको गति द्रुत हुनुलाई अन्यथा मान्न सकिन्न । अत्यन्त धेरै प्रतिस्पर्धा भएकाले नेपालका इन्टरनेट सेवाप्रदायकमा बजारमा उपलब्ध र राज्यको नीति तथा कानुनले दिने सबै खाले अत्याधुनिक प्रविधि र नवप्रवर्तनमा अग्रणी रहेको देख्न सकिन्छ । इन्टरनेटको गति बढ्दै जानु र शुल्क घट्दै जानु त्यसैको द्योतक हो । स्रोतको कमी भए तापनि साना इन्टरनेट सेवाप्रदायकसमेतले सेवा प्रवाहमा सुधार गर्न, नयाँ बजार खण्ड अन्वेषण गर्न र नियामकीय मापदण्ड पूरा गर्न प्रविधिको प्रयोग गरेर नवीनता र अनुकूलन क्षमता प्रदर्शन गर्ने कोसिस गरेको देख्न सकिन्छ । सरकारको नीतिअनुसार ‘पोर्न साइट’ वा ‘टिकटक’ बन्द गर्ने कार्यमा इन्टरनेट सेवाप्रदायकले तत्काल कदम चालेको देखियो । तर पनि ठूलो संख्याका इन्टरनेट सेवाप्रदायकमा त्यो क्षमता अझै विकास भइसकेको छैन ।

१०) कार्य–जीवन सन्तुलन (वर्क–लाइफ ब्यालेन्स): काम महत्वपूर्ण छ तर काम र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्न पनि जोड दिइन्छ । केही टेलिकम कम्पनीमा लचिलो समयतालिका स्वीकार्य हुन्छ र परिवारअनुकूल नीति अवलम्बन गरेको देख्न सकिन्छ । विशेषगरी कोभिड–१९ महामारीले सिर्जना गरेको ‘लकडाउन’ र ‘सोसल डिस्ट्यान्सिङ’ ले गर्दा ‘वर्क फ्रम होम’ को संस्कृति नेपाली कम्पनीहरूमा पनि देखिएको छ । देशव्यापी सेवा भएका कम्पनीमा सरुवाले कसैको पारिवारिक जीवन असहज हुन सक्छ । त्यस्तो अवस्थामा व्यवस्थापनले कर्मचारीलाई सहज हुने स्थानमा पदस्थापन गरिदिन सक्छ । कर्मचारीको कल्याणलाई प्राथमिकता दिँदा कर्मचारीमा सन्तुष्टि वृद्धि हुन गई उत्पादकत्व बढ्दछ । सरकारी स्वामित्वको नेपाल टेलिकममा भने यो कार्य कठिन छ । कुनै कर्मचारीलाई दुःख दिनकै लागि असहज स्थानमा सरुवा गरिदिने घटना पनि यदाकदा सुनिन्छ । यस्तो घटनाले कर्मचारीको मनोबल कमजोर हुन्छ । उत्प्रेरणा कम हुन्छ र कार्यमा मन लाग्दैन । यसको असर कम्पनीलाई नै पर्न जान्छ ।

११) कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर): नेपालमा धेरै टेलिकम कम्पनी समुदायलाई केही दिन र सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यले सीएसआर गतिविधिमा संलग्न भएको देख्न सकिन्छ । भूकम्पका बेला होस् वा सरकारले लिएको कुनै नीतिगत उद्देश्य प्राप्त गर्न, ठूला दूरसञ्चार सेवाप्रदायकले उल्लेख्य योगदान गरेको देख्न सकिन्छ । यसमा शिक्षा, स्वास्थ्य, वातावरणीय दिगोपन र प्रकोप राहतसम्बन्धी पहल समावेश छन् । कर्पोरेट संस्कृतिले संगठनभित्र कार्य–वातावरण, व्यवहार र मानलाई आकार दिने विभिन्न तत्वहरू वा विशेषताहरू समावेश गर्छ । समग्रमा, नेपालको दूरसञ्चार क्षेत्रको कर्पोरेट संस्कृतिले परम्परागत नेपाली मूल्यमान्यताका तत्वलाई आधुनिक व्यावसायिक अभ्याससँग जोडेको छ । यसले देशको सांस्कृतिक सम्पदा र यसको विकास र विकासका आकांक्षालाई प्रतिबिम्बित गर्ने अद्वितीय मिश्रण सिर्जना गर्छ ।

१२) सञ्चार च्यानल: प्रभावकारी सञ्चार कुनै पनि संस्थाको लागि आवश्यक छ । दूरसञ्चार क्षेत्रमा सञ्चारमाध्यम बलियो र प्राविधिक रूपमा उन्नत हुने सम्भावना छ । नेपाल टेलिकम र एनसेल तथा इन्टरनेट सेवाप्रदायक सबैले मोबाइल एप्स, वेबसाइट र सामाजिक सञ्जालजस्ता विभिन्न प्लेटफर्म प्रयोग गरी कर्मचारी, ग्राहक र सरोकारवालासँग स्पष्ट र पारदर्शी सञ्चारमा जोड दिएको देख्न सकिन्छ । सानो आकारका कारण इन्टरनेट सेवाप्रदायकभित्र सञ्चार च्यानल अनौपचारिक र प्रत्यक्ष हुन सक्छन् । खुलापन र पारदर्शिताको संस्कृतिलाई बढावा दिनु आवश्यक छ । तर, सेवा अवरुद्ध हुँदाका बखत होस् वा साइबर आक्रमण हुँदा होस्, यो मामिलामा सबै चुकेको देखिन्छ । 

कर्पोरेट संस्कृतिका यी तत्वले नेपालको दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम र एनसेलजस्ता मोबाइल सेवाप्रदायक तथा इन्टरनेट सेवाप्रदायकको संगठनात्मक गतिशीलता र सफलतालाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छन् । सबै कम्पनीहरूले एउटै उद्योगभित्र काम गर्दा तिनीहरूको कर्पोरेट संस्कृतिले स्वामित्व संरचना, संगठनात्मक इतिहास र सांस्कृतिक सन्दर्भजस्ता कारकद्वारा प्रभावित फरक विशेषताहरू प्रदर्शन गर्न सक्छन् । 

४. मोबाइल तथा इन्टरनेट सेवाप्रदायक कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, सुशासन अभ्यास र व्यापार संस्कृतिः

१) प्रतिस्पर्धी क्षमताः दूरसञ्चार उद्योगमा प्रतिस्पर्धी क्षमताको मूल्यांकन गर्न प्रायः ग्राहक आधार र राजस्व, बजार हिस्सा, नेटवर्क कभरेज, सेवा तथा अनुभवको गुणस्तर, नवीनतम प्रविधि प्रयोग, सेवाशुल्क तथा मूल्य निर्धारण रणनीति, ग्राहक सन्तुष्टिकोे स्तरजस्ता सूचकांक प्रयोग गरिन्छ । नियामकीय अनुपालन र निष्पक्ष प्रतिस्पर्धा सिद्धान्तको पालना पनि उत्तिकै महत्वपूर्ण छन् । इन्टरनेट सेवाप्रदायक पछिल्लो समय ‘प्राइस वार’ को अवस्थामा प्रवेश गरिसकेका छन् । आफ्नो वित्तीय क्षमतालाई नजरअन्दाज गरेर जुन खालको अस्वस्थ प्रतिस्पर्धा बजारमा देखिएको छ, यसले निश्चित रूपमा इन्टरनेट सेवाको दिगोपना प्रश्नको घेराभित्र पुगेको अनुभव हुँदैछ । मोबाइल सेवाप्रदायकको आम्दानी र नाफा घट्दै गइरहेको वर्तमान अवस्थामा प्रतिस्पर्धी क्षमताका सबै सूचकांक लडखडाएको अवस्था छ ।

२) सुशासनः वित्तीय पारदर्शिता, नियामकीय अनुपालन, पारदर्शी निर्णय प्रक्रिया, प्रभावकारी जोखिम व्यवस्थापन, जवाफदेही संयन्त्र र आन्तरिक नियन्त्रण र नैतिक व्यापार आचरण आदि दूरसञ्चार कम्पनीको सुशासनमा समावेश हुन्छन् । ‘कर्पोरेट गभर्नेन्स’ का दृष्टिले सञ्चालक समितिको संरचना र स्वतन्त्रता महत्वपूर्ण छ । नेपाल टेलिकममा सरकारी प्रतिनिधिहरूको बाहुल्यताका कारण निर्णय प्रक्रिया बढी झन्झटिलो देखिन्छ । विभिन्न मन्त्रालयका आ–आफ्नै रुचि र प्राथमिकता भएकाले पनि कतिपय अवस्थामा वस्तुनिष्ठ निर्णय हुन कठिन भएको देखिन्छ । बहुराष्ट्रिय कम्पनीका हकमा पनि निर्णय प्रक्रिया सरल र सहज देखिन्न । 

अनुमतिपत्र, नवीकरण, ‘स्पेक्ट्रम’ विनियोजन, सेवा दस्तुर निर्धारण, सेवा गुणस्तर, उपभोक्ता संरक्षण, सरकारलाई बुझाउनुपर्ने दै–दस्तुरलगायतका विषयमा बेला–बेला विवाद आइरहने हुँदा दूरसञ्चार क्षेत्रमा कर्पोरेट सुशासनको अवस्थामा व्यापक सुधार आवश्यक देखिन्छ । घुसखोरी, भ्रष्टाचार र स्वार्थको द्वन्द्व हुन नदिन संगठनभित्र नैतिक व्यापार आचरणलाई प्रवद्र्धन गर्नुपर्छ । यदाकदा यस्ता समस्यामा दूरसञ्चार कम्पनी मुछिएको देखिन्छ ।

३) जिम्मेवार व्यवसाय संस्कृतिः जिम्मेवार व्यवसाय संस्कृतिलाई कर्पोरेट सामाजिक उत्तरदायित्व, वातावरणीय दिगोपन, कर्मचारी कल्याण, सरोकारवालाहरूको संलग्नता, सामुदायिक विकासमा योगदान, मानव अधिकारको सम्मान, समावेशी कार्य–वातावरण आदिका आधारमा मूल्यांकन गर्न सकिन्छ । आम्दानी मात्रै गर्ने होइन, समाजलाई पनि दिने; जस्तै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, प्रकोप राहत प्रयासमा सहयोग गर्ने, ऊर्जा प्रभावकारी प्रविधि र उपाय अवलम्बन गर्ने र हरित ऊर्जा प्रयोगमा जोड दिने, विद्युतीयलगायत अन्य फोहोर व्यवस्थापनका प्रभावकारी अभ्याससहित वातावरणीय स्वास्थ्यमा ध्यान दिने, कर्मचारीका हकमा स्वास्थ्य बीमा, प्रशिक्षण र विविधता र समावेशी पहलजस्ता कर्मचारी कल्याण कार्यक्रमलाई प्राथमिकता दिने, आपूर्तिकर्ता, ठेकेदार, तथा सरोकारवाला सबैमा उचित व्यवहार सुनिश्चित गर्ने, कम्पनीको आपूर्ति शृंखला व्यवस्थापन प्रभावकारी रूपमा गर्ने, सार्वजनिक परामर्शलाई नियमित गर्ने, सामुदायिक सरोकारका विषयमा जवाफदेहितासहित स्थानीय समुदाय र सरोकारवालासँग कम्पनीको संलग्नता सुनिश्चित गर्नेजस्ता कार्यले जिम्मेवार व्यवसाय संस्कृतिको जगेर्ना हुन्छ ।

नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीमध्ये दुवै मोबाइल सेवाप्रदायक र ठूलामध्येका केही इन्टरनेट सेवाप्रदायक कम्पनीमा जिम्मेवार व्यवसाय संस्कृतिका केही गुण देख्न सकिन्छ । तर, यसमा गर्नुपर्ने धेरै छ ।

५. दूरसञ्चार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाः
दूरसञ्चार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनका लागि तलका विशेषताहरू हुनुपर्दछ–
बहुसेवाप्रदायक: कमसेकम पनि तीन वटा सेवाप्रदायकले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने वातावरण हुनुपर्छ, जसले उपभोक्तालाई सेवाको पहुँच, मूल्य र गुणस्तरको सन्दर्भमा विकल्पहरू प्रस्तुत गर्छन् । नेपालमा छवटा भ्वाइस सेवाप्रदायक रहेकामा हाल दुईवटा मात्र टिक्न सकेका छन् । तसर्थ, प्रतिस्पर्धा कमजोर छ । इन्टरनेटमा भने त्यो प्रतिस्पर्धा यति धेरै छ कि ‘प्राइस वार’ को अवस्थाले सबै धराशायी हुन सक्छन् । 

निष्पक्ष नियामकीय वातावरणः नियामक ढाँचाले एकाधिकार प्रथा रोक्न, नयाँ खेलाडीका लागि बजार प्रवेशमा सहजता प्रदान तथा प्रवद्र्धन गर्न र उपभोक्ता संरक्षणका साथै सेवा विस्तार र प्रविधि प्रयोग तथा नयाँ बिजनेस मोडल लागू गर्न सक्ने निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्नुपर्छ ।

नवप्रवर्तन र लगानीः प्रतिस्पर्धाले पूर्वाधार, प्रविधि, र सेवामा नवप्रवर्तन र लगानीलाई प्रेरित गर्छ । यसले सुधारिएको नेटवर्क कभरेज, सेवाको राम्रो गुणस्तर, नयाँ उत्पादन र सुविधा उपलब्ध हुन्छ । नियामक निकायको साख र विश्वसनीयता खस्कँदै जानु र एकपछि अर्को सेवाप्रदायक असफल हुनुले नियामकीय वातावरणको उपादेयता प्रश्नको घेराभित्र छ ।

ग्राहक सन्तुष्टिः प्रतिस्पर्धात्मक दबाबले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिन, भरपर्दो नेटवर्क जडान, उत्तरदायी ग्राहक सेवा र गुनासो सम्बोधन, र आकर्षक मूल्य निर्धारण योजनाहरू प्रदान गर्न बाध्य बनाउँछ । 

दक्षता र लागत प्रभावकारिताः प्रतिस्पर्धाले कुशलतापूर्वक सञ्चालन गर्न, लागत घटाउन र प्रतिस्पर्धी मूल्य निर्धारण र अतिरिक्त सेवामार्फत उपभोक्तालाई बचत गर्न प्रोत्साहन दिन्छ । 

बजार वृद्धि र विस्तारः स्वस्थ प्रतिस्पर्धाले बजार वृद्धि र विस्तार, लगानी आकर्षण, रोजगारी सिर्जना, आर्थिक विकास आदिलाई प्रोत्साहन दिन्छ । आर्थिक संकटका बाबजुद पनि प्रतिस्पर्धाका यी सबै विशेषता र गुणमा खरो उत्रन दूरसञ्चार सेवाप्रदायकहरूले देखाएको अग्रसरता सराहनीय छ । सरकार र नियामक निकायले यो क्षेत्रको दिगोपनका लागि नयाँ ढंगले सोच्नुपर्ने बेला भइसकेको छ ।

६. नेपालमा दिगो व्यवसायका लागि मोबाइल सेवाप्रदायको संख्याः
कुनै पनि दूरसञ्चार बजारमा कतिवटा सेवाप्रदायक दिगो रहन सक्छन् भनेर विश्लेषण गर्ने आधार भनेको बजारको आकार (जनसंख्या) र माग (सम्भावित प्रयोगकर्ता), भौगोलिक स्वरूप (नेपालको दुर्गम भू–भाग र छरिएको जनसंख्या र त्यसले नेटवर्क स्थापना तथा पूर्वाधार विकासका लागि प्रदान गर्ने चुनौतीहरू (नेटवर्क कभरेज र पहुँच सुधार), नियामकीय वातावरण (निष्पक्ष प्रतिस्पर्धा प्रवद्र्धन गर्न र उपभोक्ता हित संरक्षण गर्न दूरसञ्चार काुून र नियामक ढाँचाको प्रभावकारिता), लगानी र दिगोपन (टेलिकम उद्योगलाई नेटवर्क पूर्वाधार निर्माण गर्न, स्पेक्ट्रमलगायत अनुमतिपत्र र नवीकरण, प्रविधि अपग्रेडमा लाग्ने पुँजी, आम्दानी र सञ्चालन खर्च, नाफा) हुन् । 

अहिलेकै कानुनी अवस्था रहेमा ‘फ्रिक्वेन्सी’ शुल्क, नवीकरण दस्तुर, २५ वर्षपछि अनुमतिपत्र के हुने ? भन्ने अन्योलका बीच भएका दुई मोबाइल सेवाप्रदायक नै टिक्न नसक्ने अवस्थामा तेस्रो सेवाप्रदायक आउने सम्भावना न्यून छ र आइहाले पनि टिक्न सक्ने देखिन्न । इन्टरनेट सेवाप्रदायकको संख्या नेपाली बजारका लागि अति नै धेरै भयो । आर्थिक र प्राविधिक क्षमता सुनिश्चित गरेर मात्रै अनुमति पत्र दिने व्यवस्था गर्नुपर्छ र वर्तमान असुरक्षित पूर्वाधार निर्माण रोकेर पूर्वाधार कम्पनी यथाशीघ्र ल्याउन सके मात्रै इन्टरनेट सेवामा स्वस्थ प्रतिस्पर्धा कायम गर्न सकिन्छ । 

७. नेपालमा फाइभजी प्रविधि कहिले ?
दक्षिण कोरियालगायत अन्य कैयौं मुलुकले सन् २०१९ मै व्यवसायिक रूपमा फाइभजी सेवा सुरु गरिसकेका थिए । तर, पाँच वर्ष बितिसक्दा पनि नेपालमा किन सुरु नभएको ? भन्ने प्रश्न स्वाभाविक हो । टूजी थ्रीजी र फोरजीको नेपाली इतिहास अध्ययन गर्ने हो भने विश्वमा ती प्रविधि सुरु भएको औसत आठ वर्षपछि नेपालमा सुरु गरिएको पाइन्छ । फाइभजी भनेको टूजी, थ्रीजी र फोरजीभन्दा निक्कै पृथक् बिजनेस मोडलमा काम गर्छ भन्ने कुरा नबुझी र नेपाली बजार फाइभजीको बिजनेस मोडलअनुसार तयार नभई फाइभजी सेवा सुरु गर्दा सेवा प्रदाययकहरू डुब्ने सम्भावना अधिक रहन्छ । फाइभजी नेटवर्कलाई अघिल्लो पुस्ताको तुलनामा धेरै साना सेल र बेस स्टेसन भएको सघन पूर्वाधार चाहिन्छ । असहज भू–भाग र छरिएको जनसंख्याले नेटवर्क सघनताका लागि चुनौती थपिन्छ । ‘साइट प्लेसमेन्ट’ र पूर्वाधार साझेदारीका लागि नवीन समाधान आवश्यक पर्दछ । नयाँ फाइबर ‘ब्याकहलिङ’ र ‘ब्याकबोन नेटवर्क’ निर्माण जरुरी हुनेछ । ‘राइट अफ वे’ को समस्या टड्कारो रूपमा देखापर्नेछ । प्राधिकरण र सरकार फ्रिक्वेन्सीबाट मनग्ये राजस्व उठाउने धुनमा गयो भने त्यसै पनि वित्तीय स्थिति कमजोर हुनेछ । नेपाल टेलिकमले फाइभजीको परीक्षण गरिरहेको भए पनि व्यावसायिक सेवा सुरु गर्न अझै ४–५ वर्ष कुर्नु नै राम्रो हुन्छ । बजार फाइभजीका लागि तयार हुँदा आईओटी, एआई, एआर, भीआर, क्रिप्टो माइनिङ, रियल–टाइम डेटा एनालिटिक्स, रिमोट कोलाबोरेसन, स्वचालनजस्ता नवप्रवर्तनकारी प्रविधिमार्फत यसले नेपालको व्यापार परिदृश्यलाई धेरै तरिकाले रूपान्तरण गर्ने क्षमता राख्छ । नेपालका अन्य उद्योग र दूरसञ्चार सेवाप्रदायक कम्पनीकै तौरतरिकाका साथी सरकार र नियामकीय सोचलाई विचार गर्दा नेपाल फाइभजीका लागि तयार हुन समय लाग्ने देखिन्छ ।

८. मोबाइल र इन्टरनेट सेवाको गुणस्तरको प्रश्नः
नेपालमा मोबाइल र इन्टरनेट सेवाको गुणस्तरका बारेमा सेवाग्राहीका अनेकौं गुनासा छन् । सेवाग्राही मात्रै होइन, सरकार, नियामक र सम्बन्धित अन्य सरोकारवालाले पनि प्रश्न गरिरहेका छन् । यसका पछि सहायक पूर्वाधारका सीमितता (कुनै समयमा १८ घन्टासम्म लोडसेडिङ हुन्थ्यो, अझै पनि ब्याकबोन पूर्वाधार सबै ठाउँमा पुगेको छैन), नियामकीय अवरोध (‘राइट अब वे’को स्वीकृति वर्षौं नपाउने अवस्था), भौगोलिक चुनौती र सामाजिक आर्थिक असमानतालगायत विभिन्न कारक छन् । यी चुनौतीहरूलाई सम्बोधन गर्न पूर्वाधारमा लगानी, नियामक सुधार, क्षमता अभिवृद्धि र सरोकारवालाको सहकार्यमा बहुआयामिक दृष्टिकोण आवश्यक छ । पूर्वाधार विस्तारमा सार्वजनिक–निजी साझेदारी तथा ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग, पूर्वाधार कम्पनीको स्थापना, वर्तमान कानुनी व्यवस्थामा व्यापक परिवर्तन गरी नीतिगत, कानुनी तथा नियामकीय अवरोधको अन्त्य गर्दै नियामकीय भूमिकालाई सशक्त बनाई सेवाप्रदायकलाई सहजीकरण गरेरै गुणस्तर कायम गराउने मार्ग अवलम्बन गर्दा सबैको जित हुनेछ । समस्या र चुनौती यथावत् राखेर सबै दायित्व सेवाप्रदायकमा थोपर्दैमा गुणस्तरीय सेवा प्राप्त हुन सक्दैन । भएको फ्रिक्वेन्सी वितरण मात्रै गरिदिने हो भने सेवाको गुणस्तर त बढ्छ नै, राज्यले समेत राम्रो राजस्व पाउनेछ । इन्टरनेट पूर्वाधार निर्माणका लागि विशेष पहल गर्दा सेवाप्रदायक गुणस्तरमा ध्यान दिन सक्नेछन् । तर, अहिले कहाँ तार काटिन्छ ? भन्ने चिन्ता मात्रै छ उनीहरूलाई । 

९. अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथः
अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथका लागि हामी छिमेकी ‘अपस्ट्रिम’ प्रदायकमा निर्भर छौं, जसले धेरै चुनौतीहरू खडा गरेको छ । लागत बढेको छ र इन्टरनेट महँगो भएको छ । अन्तर्राष्ट्रिय इन्टरनेट जडानको गुणस्तर, लेटन्सी, नेटवर्क कन्जेसनजस्ता समस्या स्वाभाविक हुन जान्छन् । सीमित अन्तर्राष्ट्रिय ब्यान्डविथ क्षमता र केही अपस्ट्रिम प्रदायकमा निर्भरताले उच्च गतिको इन्टरनेट सेवा पहुँचमा बाधा पुगेको छ । 

यी समस्यालाई सम्बोधन गर्न नेपालले धेरै छिमेकी देशहरूसँग प्रत्यक्ष केवल ल्यान्डिङ स्टेसनसम्म पहुँच राख्ने प्रयास गर्नुपर्छ । फाइबर अप्टिक लिंकमा लगानी गरेर आफ्नो अन्तर्राष्ट्रिय इन्टरनेट जडान विकल्प विविधीकरण गर्न खोज्नुपर्छ । यसले ‘रिडन्डन्सी’ बढाउन सक्छ । एकल ‘अपस्ट्रिम’ प्रदायकमा निर्भरता घटाउन सक्छ र नेटवर्क अवरोधविरुद्ध लचिलोपनमा सुधार गर्न सक्छ । यसका लागि क्षेत्रीय सहयोग र पारस्परिक सम्झौता र साझेदारीमार्फत सीमापार ‘कनेक्टिभिटी’ पूर्वाधारको विकास गर्न र इन्टरनेट ट्राफिकको आदानप्रदानलाई सहज बनाउन भारत, चीन, बंगलादेशलगायतका छिमेकी देशसँग सहमति गर्न सकिन्छ । 

अन्तर्राष्ट्रिय ब्यान्डविथमा निर्भरता कम गर्न घरेलु पूर्वाधारमा लगानी गर्ने, इन्टरनेट एक्चेन्ज प्वाइन्ट विस्तार गर्ने, क्यास सर्भर र ‘सीडीएन’ मा जोड दिने, डेटा सेन्टरजस्ता पूर्वाधारमा लगानीलाई प्राथमिकता दिनुपर्छ । अहिलेकै अवस्थामा पनि अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिदमा सरकारले छिमेकी राष्ट्रसँग सहुलियत दरमा उपलब्ध गराउन अनुरोध गर्न सक्छ ।

१०. उपसंहारः
यदि दूरसञ्चार क्षेत्रबाट लिन सकिने लाभका बारेमा सरकार गम्भीर छ भने सेवाप्रदायकमा मात्रै होइन, सरकारका सबै सरोकारवाला निकाय (मन्त्रालय, विभाग, नियामक निकायका साथै संसद् तथा न्यायालय) मा समेत कर्पोरेट संस्कृति विकास भए मात्रै यो क्षेत्रको समुचित विकास हुनेछ । साथै, सन् २०२६ पछि विकासोन्मुख राष्ट्रका रूपमा नेपालले विकासमा फड्को मार्नेछ । डिजिटल अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको मोबाइल तथा इन्टरनेट सेवामा देखापरेका समस्या र चुनौती सम्बोधन गर्न अब पनि ढिला गर्नु हुन्न । भविष्य यसैमा छ । विकासका अन्य सम्भावनाहरू यसको दिगो विकासबिना कल्पना गर्न सकिन्न । 

कर्पोरेट नेपालको दसौं वार्षिकोत्सवमा प्रकाशित जर्नल बुक ‘कर्पोरेट कल्चर’बाट

Advertisement

Advertisement