संसदीय समितिद्वारा महालेखापरीक्षक पदका लागि प्रस्तावित तोयम रायाको नाम अनुमोदन

Advertisement

काठमाडौं । संसदीय सुनुवाई समितिले महालेखापरीक्षक पदका लागि प्रश्तावित तोयम रायाको नाम अनुमोदन गरेको छ । मंगलवार सिंहदरबारमा बसेको बैठकले उनीमाथि परेको उजुरीमाथि छानविन गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । 

संवैधानिक परिषद्बाट प्रश्तावित रायालाई योग्यता, क्षमता र अनुभव समेतको आधारमा महालेखापरीक्षक पदमा लागि उपयुक्त देखिएकाले नाम अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए । 

Advertisement

उनले भने, ‘संवैधानिक परिषद्बाट सिफारिस तोयम रायालाई महालेखापरीक्षक पदमा प्रश्ताव गर्ने नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाईका लागि नाम प्राप्त भएकोमा संसदका संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० तथा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० अनुसार समितिले सुनुवाई गर्दा योग्यता, क्षमता र अनुभव समेतको आधारमा सोही नियमावलीको नियम २६ को उपनियम ५ बमोजिम प्रश्तावित व्यक्तिलाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भयो ।’

संवैधानिक परिषद्को गत चैत्र २८ गते बसेको बैठकले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रायालाई महालेखापरीक्षक पदका लागि सिफारिस गर्ने निर्णय गरेको थियो भने चैत्र १९ गते संसदीय सुनुवाई समितिले १० दिने उजुरी आह्वान गर्दा उनीमाथि एउटा उजुरी र एउटा सूचना प्राप्त भएको थियो । 

ती उजुरी र सूचनामाथि पनि मंगलवारको बैठकले रायाले समितिलाई स्पष्ट पारेका थिए । रायाले स्पष्टीकरण पनि चित्तबुझ्दो भएकाले समितिले महालेखापरीक्षक पदका लागि प्रस्तावित उनको नाम अनुमोदन गरेको पनि संसदीय सुनुवाई समितिले जनाएको छ ।

Advertisement

Advertisement