ओली भन्छन– स्वदेशी वस्तु प्रयोग गरौं भन्ने कर्मचारीलाई पुग्ने टोपी पनि उत्पादन हुन सकेको छैन

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली मुलुकलाई आत्मनिर्भर हुने गरी पर्याप्त मात्रामा गुणस्तरीय वस्तुको उत्पादन गर्न उद्यमी व्यवसायीलाई सुझाव दिएका छन् । 

घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा मंगलबारबाट भकुटीमण्डपमा सुरु भएको छ दिने २७औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटनका क्रममा उनले मागअनुसार पर्याप्त वस्तुहरु उत्पादन गर्न नेपाली उद्यमी व्यवसायी असक्षम रहेको र उत्पादित वस्तुमा पनि गुणस्तरको समस्या रहेको बताए । 

Advertisement

उनले भने– कर्मचारी (सरकारी)ले स्वदेशी कपडा प्रयोग गर्ने भन्यो भने हामीसँग पर्याप्त उत्पादन छैन । ल टोपी मात्रै स्वदेशी लगाउने भन्यो भने पनि उत्पादनै पुग्दैन । नेपाली व्यवसायीले आर्थिक लाभसँगै मुलुकको आत्मनिर्भरताको कुरामा पनि ध्यान दिनुपर्यो जसले मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ, ओलीले भने । 

हामी आफैले उत्पादन गर्नसक्ने कुरा पनि बाहिरबाट ल्याउनुपरेको प्रति उनको गुनासो थियो । प्रधानमन्त्री ओलीले एकआध वस्तुबाहेक धेरै कुरामा हामी आत्मनिर्भर हुनसक्ने प्राकृतिक स्रोत साधन हामीसँगै हुँदाहुँदै पनि बाहिरबाट आयात गर्ने परिस्थिति अन्त्य गर्न उद्यमी व्यवसायीसँग आग्रह गरे । 

नेपाली उत्पादन लगाउँदा गुणस्तरीय नै नहुने नहोस भन्दै उनले भने– हाम्रो उत्पादनका गुणस्तर यस्तो हुनुपर्यो की अरुको लगाउँदा व्यर्थ किनिएछ । यो भन्दा त हाम्रै राम्रो छ भन्ने हुनुपर्यो । ठूलो परिणाममा उत्पादनको कमी र प्रविधिको उचित प्रयोगको अभावले हाम्रा उत्पादनको गुणस्तरमा समस्या हुनुको साथै महङ्गो हुने गरेको ओलीले बताए । 

उनले मुलुक आत्मनिर्भर नहुँदा दाउरा खोज्नुपर्ने जमानामा पुग्नुपर्यो भन्दै अब त्यो स्थिति आउन दिनु हुँदैन भने । अझ हाम्रै कच्चा पदार्थमा आधारित उत्पादनलाई जोड दिन उनले व्यवसायीलाई सुझाव दिए । स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि जस्तोसुकै सहयोग गर्न सरकार तयार रहेको ओलीको भनाई छ । 

 

Advertisement

Advertisement