दुई प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिका लागि विशेष पहल गर्ने अर्थमन्त्रीको भनाई

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा दुई प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्न विशेष प्रयास गरिने बताएका छन् । चालु आवमा छ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य आपूर्ति प्रणालीको अवरोधका साथै कृषि र गैरकृषि क्षेत्रको उत्पादकत्व बढोत्तरी हुन नसकेकाले दुई प्रतिशत बढीको वृद्धि हासिल गर्न विशेष प्रयास थालिने भएको हो । 

चालु आवको बजेटको मध्यावधि समीक्षा बिहीबा अर्थ मन्त्रालयमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले मौसमी प्रतिकूलताले धानको उत्पादन घटेको तथा समयमै हिउँदे वर्षा नहुँदा तथा आपूर्ति प्रणालीको अवरोधले रासायनिक मललगायत उत्पादनका साधनको वितरण हुन नसक्दा कृषि र गैरकृषि क्षेत्रको वृद्धि घट्ने बताए । 

Advertisement

“भारतसँगको सीमा नाकाको अवरोध हटेर आपूर्ति प्रणाली क्रमशः सहज बन्दै गएको तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट भत्केका संरचनाको पुनःनिर्माण थालेकाले अर्थतन्त्रले गति लिने अपेक्षा गरेको छु,”, उनले भने । भौतिक पूर्वाधार एवम् विकास–निर्माणमा सरकारको पुँजीगत खर्च वृद्धि हुने तथा लगानीमैत्री वातावरण सिर्जना भई अर्थतन्त्र चलायमान हुने विश्वास पौडेलको छ । 

गत असोजको पहिलो सातादेखि नै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोधले आपूर्ति प्रणाली असहज हुँदा अर्थतन्त्रका सम्पूर्ण पक्ष र जनजीवनमा परेका प्रतिकूल प्रभावलाई कम गर्न विकास आयोजना तथा कार्यक्रममा गर्ने लगानीको प्राथमिकता परिवर्तन गर्नुपर्ने औँल्याउँदै उनले आगामी आवको बजेटका लागि क्षेत्र र कार्यक्रमका प्राथमिकता पनि परिवर्तन गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन बजेट व्यवस्थापन तथा वित्तीय जवाफदेहितासम्बन्धी कानुन तर्जुमा गर्न र सङ्घीय संरचना अनुकूलको वित्तीय व्यवस्थापनसम्बन्धी कानुन बनाउनुपर्ने बताए । 

पेट्रोलियम पदार्थ, औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको भण्डारण क्षमता विस्तार विपद्का बेला आपत्कालीन उद्धार एवम् सहयोगका लागि आवश्यक पर्ने उपकरण र सामग्री खरिद गरी उपयुक्त भण्डारणको व्यवस्था गर्नुपर्नेमा पनि अर्थमन्त्रीले जोड दिए ।

समीक्षा अवधिमा एक खर्ब ६४ अर्ब ३२ करोड ७७ लाख रुपियाँ राजस्व सङ्कलन भएको तथा विकास आयोजना कार्यान्वयनका निम्ति एक खर्ब आठ अर्ब ४६ करोड ६१ लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको जानकारी पनि उनले दिए । रासस    

Advertisement

Advertisement