चौतर्फी दबाबपछि एनसेलले तिर्यो करिव १० अर्ब कर, अझै २९ अर्ब बाँकी

Advertisement

काठमाडौं । चौतर्फी दबाबपछि निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलले सरकारलाई नौ अर्ब ९६ करोड ९५ लाख रुपियाँ पुँजीगत लाभकर बुझाएको छ । 

एनसेलले स्वामित्व बिक्रीवापत सरकारलाई तिर्नपर्ने राजश्वमध्य पहिलो किस्ता आइतबार ठूला करदाताको कार्यालयमा बुझाएको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माका अनुसार पुँजीगत लाभकरवापत करिव १० अर्ब सरकारलाई बुझाएको छ । 

Advertisement

एनसेलको विदेशी (स्वीडिस) लगानीकर्ता टेलियासोनेरा (हालको टेलिया कम्पनी)ले मलेसियन कम्पनी एक्जियटालाई स्वामित्व बिक्रीवापत लाग्ने ३९ अर्ब भन्दा बढी लाभकर बुझाउनुपर्ने भए पनि अहिले अग्रिम कर कट्टिवापत १५ प्रतिशत रकम बुझाइएको र बाँकी १० प्रतिशत मात्रै बुझाउने तयारी एनसेलले गरेको छ ।

एनसेललाई कर तिराउन चौतर्फी दबाब बढनुका साथै बहिस्कार अभियानसमेत चलेपछि कम्पनी दबाबमा परेको थियो । टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा एक्जियटालाई बिक्री गरेको थियो ।

सकेसम्म कर नतिर्ने दाउमा रहेको एनसेलको विदेशी लगानीकर्ताको साख नै गिर्ने अवस्था सिर्जना भएपछि कर तिर्न सुरु गरेको हो । उसलाई कर तिर्न सरकारले आज आइतबारसम्मको समय दिएको थियो । 

Advertisement

Advertisement