नयाँ बसपार्कमा आधुनिक सपिङ कम्प्लेक्स बिजिमल सञ्चालन, ग्राहकलाई २० प्रतिशत छुट

Advertisement

काठमाडौं । नयाँ बसपार्कमा आधुनिक सपिग कम्प्लेक्स बिजिमल सञ्चालनमा आएको छ । पूर्वअर्थमन्त्री रामशरण महत र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बुधबार मलको संयुक्तरुपमा उद्घाटन गरे । 

पूर्वअर्थमन्त्री महतले उदार अर्थनीति लागू भएपछि मुलुकको आर्थिक विकासमा कायापलट भएको दावी गरे । उनले काठमाडौं–निजगढ द्रुतमार्ग, बुढीगण्डकी जलविद्युत आयोजना जस्ता जस्ता आयोजना नेपालीकै लगानीमा निर्माण गर्न सके राम्रो हुने बताए । 

Advertisement

उनले द्रुतमार्ग आफ्नै लगानीमा पाँच वर्षभित्र निर्माण पूरा गर्नुपर्ने भन्दै यसको लागत र समय थोरै बनाउनुपर्ने बताए । तर विदेशी लगानीलाई पनि स्वागत गरिएको अवस्थामा यस्ता आयोजनामा विदेशी लगानी स्थगित गर्ने वा आफैंले लगानी गर्ने भन्नेमा ठोस निष्कर्ष निकाल्नुपर्ने बताए । 

ओली नेतृत्वको सरकारलाई लक्षित गर्दै महतले भने ‘हल्ला गरेर केही हुँदैन, काम गरेर देखाउनुपर्यो । हामीसँग नीतिको हैन, कार्य क्षमताको मात्र अभाव छ । भाषणले मुलुक बन्दैन ।’

महासंघका अध्यक्ष पशुपति मुरारकाले खुला अर्थव्यवस्थामा निजी क्षेत्रको सहभागिताका कारण नै अर्थतन्त्र फष्टाएको बताए । बिजिमल जस्ता ठूला व्यवसायिक प्रतिष्ठानले रोजगारी सिर्जना गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताए । सरकारमा जोसुकै भएपनि निजी क्षेत्रलाई प्रोत्साहित गर्दै हातेमालो गर्नुपर्ने उनले बताए । 

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले बिजिमल जस्ता व्यवसायिक प्रतिष्ठानका कारण पनि राजश्व असुली बढेको भन्दै बिजिमलले आगामी दिनमा करका माध्यमबाट योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

विजिमलका निर्देशक राजु गिरीले गुणस्तरीय वस्तु तथा सेवाको उपभोग बढ्दै गएको अवस्थामा सम्पूर्ण आवश्यकीय सामग्री तथा मनोरञ्जनका स्थलसहित आफूहरुले मल सञ्चालनमा ल्याएको बताए । उद्घाटनको अवसरमा मलले ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गरेको छ । 

मलमा घरायसी तथा विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्जलगायत ६० वटा पसल तथा शोरुम सञ्चालनमा आइसकेका छन् । 

Advertisement

Advertisement