सरकारले सच्यायो आर्थिक वृद्धिको अनुमान, महंगी दोहोरो अंक नजिक

Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरलाई सच्याउन बाध्य भएको छ । यसअघि श्वयतपत्र जारी गर्ने क्रममा अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर दुई प्रतिशत हुने आंकडा प्रस्तुत गरेकोमा बिहीबार प्रस्तुत आर्थिक सर्वेक्षणमा यस्तो वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशतमा सीमित हुने जनाइएको छ । 

यसअघि केन्द्रीय बैंकले भूकम्प र नाकाबन्दीका कारण आर्थिक वृद्धिदर ऋणात्मक हुने अनुमान प्रस्तुत गर्दा अर्थमन्त्री पौडेलले गर्भनर चिरञ्जीवी नेपालसँग असन्तुष्टि जनाउँदै उक्त अनुमान सच्याउन सल्लाह दिएका थिए । तर केही दिनअघि केन्द्रीय तथ्यांक विभागले नै आर्थिक वृद्धि एक प्रतिशतभन्दा कम हुने कुरा सार्वजनिक गरेपछि अर्थ मन्त्रालय आफ्नो पूरानो आंकडा सच्याउन बाध्य भएको हो । 

Advertisement

अर्थमन्त्री पौडेलले बिहीबार संसदमा प्रस्तुत चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकमा आधारित आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको वृद्धिदर शुन्य दशमलव ७७ प्रतिशत हुने जनाइएका हुन । जबकी सरकारले चालु वर्षको बजेटमा आर्थिक वृद्धिको लक्ष्य छ प्रतिशत राखेको थियो । 

भूकम्प र नाकाबन्दीले गर्दा चालु आर्थिक वर्षको वृद्धिदर संकुचित हुन पुगेको अर्थमन्त्री पौडेलले बताए । साथै यो वर्ष मूल्यवृद्धि झण्डै दोहोरो अंकको नजिक (नौ दशमलव सात प्रतिशत) रहेको छ । यस वर्ष आर्थिक वृद्धिदर नौ दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको थियो । 

आर्थिक वृद्धिमा कृषि क्षेत्रको योगदान एक दशमलव तीन प्रतिशतले र गैरकृषि क्षेत्रको योगदान शुन्य दशमलव सात प्रतिशतले बढेको आर्थिक सवेक्षण प्रतिवेदनमा उल्लेख छ । मूल्यवृद्धिका हकमा खाद्य तथा पेयको मूल्य ११ दशमलव तीन प्रतिशतले बढेको छ भने गैरखाद्य तथा सेवा समुहको आठ दशमलव छ प्रतिशतले बढेको छ ।

चालु आवमा राजश्व संकलन लक्ष्यअनुसार हुन नसके पनि १४ दमलव तीन प्रतिशतले वृद्धि भएर बढेर दोस्रो चौमासिक अवधिसम्ममा दुई खर्ब ३१ अर्ब ७० करोड रुपियाँ संकलन भएको । 

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आयात गत वर्षको सोही अवधिभन्दा १३ दशमलव नौ प्रतिशतले घटेर चार खर्ब ३५ अर्ब ८० करोड रुपियाँमा सीमित भएको छ भने निर्यात घटाउँदा व्यापार घाटा तीन खर्ब ९३ अर्ब सात करोड रुपियाँमा सीमित भएको छ । 

यस वर्ष विप्रेषण आय पनि १५ प्रतिशतले बढेर पहिलो आठ महिनामा चार खर्ब २७ अर्ब २७ करोड रुपियाँ भित्रिएको छ । यस अवधिमा सोधनान्तर बचत एक खर्ब ५८ अर्ब १८ करोड तथा कुल विदेशी विनिमय सञ्चिती १० खर्ब छ अर्ब ६८ करोड रुपियाँ रहेको छ । यो संचितिले १८ दशमलव आठ महिनाको वस्तु र १५ दशमलव आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको अर्थमन्त्री पौडेलले बताए ।

Advertisement

Advertisement