काठमाडौंको भूकम्पपछिको लगत सङ्कलन अझै सुरु भएन, विभाग भन्छः पैसा छैन

Advertisement

काठमाडौं । काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ । यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिएका हुन । 

यसअघि विभागले गत जेठ दोस्रो सातादेखि नै लगत सङ्कलन सुरु हुने बताएको थियो । अति प्रभावित १४ जिल्लामध्ये ११ मा लगत सङ्कलन सम्पन्न भए पनि काठमाडौँ, ललितपुर र भक्तपुरमा अझै सुरु नहुँदा यहाँका भूकम्पपीडितले वर्षा अगावै आवास निर्माणका लागि अनुदान नपाउने भएका छन् । 

Advertisement

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका घरधनीले विभागको लगत सङ्कलनपछि मात्र रु दुई लाख अनुदान किस्ताबन्दीमा पाउने व्यवस्था छ । “विश्व बैँंकले लगत सङ्कलनका लागि सहयोग गर्ने वचन दिएकाले एक हप्तापछि सुरु हुनेछ, लगत सङ्कलनमा संलग्न हुने इन्जिनियर र सामाजिक परिचालकलाई तालिम दिने तयारीमा छौँ, भूकम्पका समयमा गृह मन्त्रालयले सङ्कलन गरेको लगत पनि मगाइरहेका छौँ, उपत्यकाका १५ वटा नगरपालिकाको प्राप्त भएको छ, सात वटा प्राप्त हुन बाँकी छ”–उनले भने । 

काठमाडौँमा एक महानगरपालिका, १० नगरपालिका, भक्तपुरमा छ नगरपालिका, ललितपुरमा एक उपमहानगरपालिका, चार नगरपालिका र १९ गाविस छन् । उपत्यकामा लगत सङ्कलन सुरु भएको एक महिनामा काम सम्पन्न हुने विभागले जनाएको छ ।

Advertisement

Advertisement