दक्षिण कोरियाको सोङ्दो शहर ड्रोन उत्पादनको केन्द्र बन्दै

Advertisement

इन्चोन (दक्षिण कोरिया)। दक्षिण कोरियाको प्रमुख व्यापारिक सहर इन्चोनको पश्चिमी तटीय सहर सोङ्दोले आजभोलि ड्रोन उद्योगको मक्काका रुपमा पहिचान स्थापित गर्न लागेको छ ।

यो सहर न्यूयोर्कको सेन्ट्रल पार्क र सिड्नीको ओपेरा हाउसकैरुपमा बहुआयामिक संरचनाका कारण अहिले चर्चामा छ ।

Advertisement

दक्षिण कोरियाले आर्थिक वृद्धि योजनाकारुपमा ड्रोन उत्पादनलाई उच्च प्राथमिकता दिइआएको छ । सन् २००३ मा दक्षिण कोरिया सरकारले करिब २०९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको सोङ्दोलाई स्वतन्त्र आर्थिक क्षेत्रका रुपमा घोषणा गरेको थियो र विदेशी लगानीकर्ताहरु एवम् स्थानीय जनताबीचको सम्बन्धलाई प्रगाढ बनाइएको थियो । सोङ्दो अन्तरराष्ट्रिय व्यावसायिक जिल्लालाई सन् २०२० सम्ममा उत्तर पूर्वी एसियाली मुलुककै नमुना व्यापारिक, अनुसन्धान र विकास (आर एन्डडी) तथा पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने महत्वाकाँक्षी योजना बनाइएको छ ।

यही महत्वाकाँक्षी योजना सफल बनाउन सोङ्दोको आकाशमा ड्रोन उडाउने सम्बन्धमा कडा नियमन व्यवस्था लागू गरिएको छैन, किनभने दक्षिण कोरियाको राजधानी सहर सिओलभन्दा ५० किलोमिटर दक्षिणमा रहेको भएपनि यो क्षेत्र आसपास कुनै पनि किसिमको सैन्य अखडा छैनन् ।

भू–पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ड्रोनसम्बन्धी नियमअनुसार ड्रोन उडानका लागि सोङ्दोमा कुनै पनि किसिमका प्रतिबन्ध लागू गरिएका छैनन् र यहाँ ड्रोनको स्वतन्त्र उडान गर्न सकिन्छ ।

मानवविहीन आकाशीय उडानका सौखिन इन्टरनेट तथा ब्लगर समुदायहरु देशमै यो स्थान अत्यन्त उपयोगी रहेको बताउँछन् । “सोङ्दोको सर्वाधिक महत्वपूर्ण पक्ष भनेकै सिओलको तुलनामा यहाँ उडान निषेधित क्षेत्रहरु घोषणा गरिएका छैनन्,” वीमेकड्रोन कम्पनीमा कार्यरत ड्रोन इन्जिनियर पार्क साङ–कूक बताउँछन् । यो कम्पनीको मुख्यालय इन्चोनमा छ ।

स्थानीय कानुनहरुले मुलुकका विभिन्न भागमा ड्रोन उडान निषेध गरेका छन्, खासगरी मुख्य सरकारी कार्यालय आसपासका स्थानहरुमा ड्रोन उडान निषेध गरिएको छ । सैन्य अखडाहरु र आणविक भट्टीहरुका आसपासका क्षेत्रहरुमा त ड्रोन उडान पूर्णतःप्रतिबन्धित छन् ।

ड्रोन उत्पादनको व्यावसायिक सम्भावना रहेका कारण इन्चोन महानगर सरकारले ड्रोनसँग सम्बन्धित धेरैवटा परियोजनालाई अगाडि बढाइआएको छ । आर्थिक वृद्धिलाई तिब्रता दिने उद्देश्यले सरकारले ड्रोनसँग सम्बन्धित धेरै किसिमका प्रतिबन्धहरु फुकुवा गरेलगत्तै इन्चोनले ड्रोन उत्पादन र उडानको अनुमति दिएको हो ।

दक्षिण कोरियामा मानवविहीन आकाशीय उडानका साधनहरुको व्यावसायिक प्रविधिको अनुमानित बजार हाल दुई करोड ३४ करोड अमेरिकी डलर (२७ अर्ब ८० करोड वन)को छ, र सरकारी निकायहरुले सन् २०१९ सम्ममा यो लगानी एक खर्ब वन (दक्षिण कोरियाली मुद्रा) को हुने अपेक्षा गरेका छन् ।

इन्चोन नगर सरकारले ७८ अर्ब वनको लागतमा १६ हजार वर्ग मिटर क्षेत्रफलमा उद्योग–प्राज्ञिक एरोनटिक कम्प्लेक्स निर्माण गर्न लागेको जनाएको छ । यो कम्प्लेक्सले ड्रोन समेतको एरोस्पेश अनुसन्धानको कार्यमा सघाउ पुग्नेछ र ड्रोनका क्षेत्रमा कार्य गर्ने गरी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गर्नेछ ।

“नगर सरकारले इन्चोनमा स्थापना गर्न लागिएका ड्रोन उद्योग व्यवसायमा सहयोग पुग्नेगरी विस्तृत उपायहरु निर्माण गरिरहेको छ,” एरोस्पेश उद्योगको विकासमा कार्यरत इन्चोन नगर सरकारका एकजना अधिकारी ली साङ–वूक बताउँछन् । उनी भन्छन्, नगर सरकारले ड्रोन निर्माता कम्पनीका मागका विषयमा उनीहरुसँगै छलफल गरेर नयाँ योजना स्वीकृत गर्ने योजना बनाइरहेको छ ।

इन्चोनमा अहिले ड्रोन उत्पादनमा सक्रिय १० वटा कम्पनीले कार्यालय खोलेका छन् र तीमध्ये आधाभन्दा बढी सोङ्दोमा आइसकेका छन् । “हाम्रो कम्पनी सोङ्दोको स्मार्ट भ्यालीमा खोलेका छौँ र त्यहाँ अरु दुई वटा कम्पनी छन्,” एउटा प्रमुख ड्रोन निर्माता कम्पनी ड्रोजेनका उपप्रमुख ली जून–ताइक बताउँछन् । उनको भनाइमा यहाँ इन्जिनियरले ड्रोनको स्वतन्त्र किसिमबाट परीक्षण गर्न पाउँछन् ।

रिमोट–कन्ट्रोलको सहायताले सञ्चालन गरिने ड्रोनहरु सैनिक क्षेत्र र विशेष किसिमको व्यावसायिक क्षेत्रमा बढी प्रयोग हुने गर्दछ ।

“हामीले हालै मात्र लोबिट १०० सी मोडेलको ड्रोन अमेरिकी निकासी गर्ने सम्झौतामा हस्ताक्षर गरेका छौँ,” लीले बताए ।

यद्यपि, चीनमा ड्रोन निर्माण र प्रविधिका क्षेत्रमा तिब्र विकास भएको छ, र प्रतिस्पर्धा निकै बढी छ । चीनसँग प्रतिस्पर्धा गर्ने गरी नयाँ पुस्ताको प्रविधि प्रयोग गर्नेतर्फ कोरियाली कम्पनीहरुले लगानी बढाइरहेका छन् । रासस÷योन्हाप

 

Advertisement

Advertisement