डब्लुएफपीको अध्ययन– हिमाली क्षेत्रमा सडक र गोरेटोमा सुधार गरे मात्रै खाद्य सुरक्षा र पोषण सुधार

Advertisement

काठमाडौंः नेपालका हिमाली क्षेत्रमा सडक र गोरेटोमा सुधार ल्याउँदा दुर्गम तथा ग्रामीण समुदायहरूको खाद्य सुरक्षा र पोषणमा सुधार आउनसक्ने राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले गरेको एक अनुसन्धानले देखाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसमेत संलग्न भएर गरिएको जनाइएको उक्त अनुसन्धान प्रतिवेदन शुक्रबार सार्वजनिक गरियो । अनुसन्धान प्रतिवेदनको शीर्षक “नेपालमा सडक तथा बजार पहुँच र घरपरिवार खाद्य सुरक्षा” रहेको छ ।

यस अनुसन्धानको उद्देश्य सुधारिएको सडक तथा गोरेटो पूर्वाधारको घरपरिवार खाद्य सुरक्षामाथिको प्रभावबारे जनचेतना वृद्धि गर्नु रहेको जनाउँदै डब्लुएफपीले अनुसन्धान यस अघि सम्पन्न नेपालमा खाद्यन्न मुल्य, बजार एकीकरण र बाल पोषणको अवस्थामा सडक र पूर्वाधारको प्रभाव अध्ययनमाथि आधारित रहेको जनाएको छ ।

डब्लुएफपीले नेपालभरीका अधिकांश हिमाली समुदायले आफ्नो घरपरिवारको आवश्यकता केही महिनाका लागि पर्याप्त हुने भन्दा बढी उत्पादन गर्न नसक्ने अवस्था रहेको, बोकेर र खच्चडको सहयोगमा ढुवानी गरिने खाद्यान्न त्यसको उत्पत्ति हुने ठाउँ तराईको तुलनामा तेब्बरभन्दा बढी मुल्य पर्न जाने गरेको भन्दै जसका कारण हिमाली समुदायका ६० प्रतिशतसम्म बालबालिकाले पर्याप्त पोषक खाना नपाउने, जीवनभर पुड्कोपना र न्यूनपोषणको असर बहन गर्नुपर्ने बाध्यता रहेको जनाएको छ ।

यस अध्ययनले ग्रामीण सडक, गोरेटो र पुलसहितका पूर्वाधारमा सुधार ल्याउँदा ग्रामीण हिमाली समुदायहरूका लागि जीविकोपार्जनका विविध अवसर उजागर हुने र खाद्य सुरक्षामा सुधार आउने पाएको भन्दै डब्लुएफपीले साथै यस अध्ययनबाट जहाँ मानिसहरूको बजारमा पहुँच द्रुत र सहज हुन्छ, त्यहाँ घरपरिवारहरूले प्रमुख खाद्यान्न बाहेकका खानामा बढी पैसा खर्च गर्छन् र विविधतापूर्ण तथा पोषक खाना खाने हुँदा बालबालिकाहरूमा पुड्कोपनाको सम्भावना कम भएर जाने देखिएको जनाएको छ ।

सुधारिएको सडक र गोरेटोमार्फत समुदायहरूले मालसामानको ढुवानी गर्ने आफ्नो क्षमता बढाए र सामाजिक सेवा तथा बजारमा सहज पहुँच प्राप्त गरे ।

देशका ग्रामीण तथा पुग्न कठिन क्षेत्रहरूमा केन्द्रित हुँदै विभिन्न जिल्लामा सडक र गोरेटोहरूको सुधार गरी पहुँच विस्तार गर्ने कार्यमा आफू संलग्न हुँदै आएको जनाउँदै डब्लुएफपीले हाल सञ्चालित विभिन्न कार्यक्रमहरूमार्फत ४४५ किमी भन्दा बढी ग्रामीण सडक तथा गोरेटो निर्माण वा पुनस्र्थापित गरिएको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement