इन्धनको मूल्य फेरि पनि बढाइयो, पेट्रोल अब प्रतिलिटर ११३ रुपियाँ

Advertisement

काठमाडौंः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा तीन तीन रुपियाँका दरले मूल्य बढाउने निर्णय गरेको हो ।

त्यसैगरी, हवाई इन्धनमा आन्तरिकतर्फ पाँच रुपियाँले मूल्यवृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोहितले बताए । यसअघि पनि अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको भन्दै लगातार मूल्यवृद्धि गर्दै आएको निगमले आज पनि भारी मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११३ रुपियाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य भने ९५ रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेशनले प्रत्येक १ र १६ तारिखमा मूल्यसुची पठाएअनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्छ ।

खाना पकाउने ग्यासको मूल्य लामो समयदेखि यथावत राखेको निगमले अरु इन्धनमा भने लगातार भाउ बढाउँदै आएको छ । इन्धनको भाउ बढाउँदा समेत निगमलाई १५ दिनमा अझै १८ करोड ६२ लाख घाटा हुने भएकाले आन्तरिक तथा बाह्य हवाई इन्धनको मूल्य बढाइएको निगमले जनाइएको छ । अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिहजार लिटर ७५ डलरले बढाइएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement