युके एड सक्षम र एफवान सफ्ट मिलेर ‘अनलाइन रिभर्स फ्याक्टरिङ प्लाटफर्म’ स्थापना

Advertisement

काठमाडौं । साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन भन्दै युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रालिले अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्म तयार पारेको छ।

सोमबार आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र बुद्ध एयरका वित्त निर्देशक रमेश लुईंटेल सहभागी थिए ।

यो साझेदारीअन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ। यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंकमार्फत जोड्नेछ। जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन्।

यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा बिक्री गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन्। यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन्।

सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताए ।

एफवान सफ्टका सिइओ सुवाश शर्माले नेपालको नेतृत्वदायी फिनटेक कम्पनीका रुपमा आफूहरु त्यस्ता फाइनान्सियल टुल तयार गर्न पाउँदा खुशी रहेको भन्दै यसले नेपालको अर्थतन्त्रको सम्भावित ठूलो क्षेत्रलाई परिवर्तन गर्न सक्ने बताए ।

सन् २००४ मा स्थापना भएको एफवान सफ्ट इन्टरनेशनल नेपालको फाइनान्सियल टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो। कम्पनीमा अहिले चार सय जनाले काम गरिरहेका छन्।

Advertisement

Advertisement

Advertisement