गैरआवासीय नेपाली संघ आफ्नै भवनमा, विज्ञ सम्मेलन आजबाट सुरु

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले अब आफ्नै सुविधासम्पन्न भवनमा सचिवालय सञ्चालन गर्ने भएको छ ।

बालुवाटारमा निर्माण गरिएको सुविधासम्पन्न भवनको एनआरएन दिवसका अवसरमा बिहीबार उद्घाटन गरिएको हो । तत्कालका लागि सचिवालय सञ्चालन गर्नेगरी भवन सञ्चालनमा ल्याइए पनि निकट भविष्यमै भवनको औपचारिक उद्घाटन गरिने एनआरएनले जनाएको छ ।

तीन रोपनी क्षेत्रफलमा करीब रु २४ करोडको लागतको निर्माणमा पाँच तले सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । एनआरएनका तत्कालीन अध्यक्ष शेष घले र वर्तमान अध्यक्ष भवन भट्टलगायतको सक्रियतामा भवन निर्माणले मूर्तरुप लिएको एनआरएन उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक कुमार पन्तले जानकारी दिए ।

एनआरएनको आफ्नै भवनमा बस्ने १५ वर्षदेखिको सपना पूरा भएको भन्दै उनले सन् २००३ मा एनआरएन स्थापना भएदेखि नै आफ्नै भवन बनाउने अभियानले सार्थकता पाएको उल्लेख गरे ।

भवनमा सुविधासम्पन्न कन्फ्रेन्स हल, लाइब्रेरी तथा एनआरएन प्रदेश कार्यालयको सचिवालय राखिने योजना छ ।अध्यक्ष भट्ट, संरक्षकहरु उपेन्द्र महतो, घले र जीवा लामिछानेले भवनको सचिवालय उद्घाटन गरी एनआरएनको झण्डोत्तोलन गरे ।

अर्का संरक्षक घलेले भवनलाई भवनको रूपमा सदुपयोग गर्दै एनआरएन ज्ञान र सीप आदनप्रदान तथा देशको आर्थिक विकासमा लगानी प्रवद्र्धन गर्न भवन उपयोगी बन्ने धारणा राखे ।

त्यसैगरी संघले शुक्रबार विज्ञ सम्मेलन सुरु गरेको छ । गैरआवासीय नेपाली, नेपाल र नेपालसँग जोडिएका विदेशी विज्ञलाई एकै थलोमा राखेर गर्न खोजिएको विज्ञ सम्मेलन राजधानीको सोल्टी होटलमा सहभागी भएका छन् ।

हरेक दुई वर्षमा काठमाडौंमा विशेषज्ञ सम्मेलन गर्ने तय भए अनुसार संघले गैरआवासीय नेपाली दिवसको अवसर पारेर आयोजना गरेको हो। कृषि उत्पादन र ऊर्जामा स्व–निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारवणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य शिक्षा, संघीयतामा शिक्षाको मोडल लगायत विषयमा सम्मेलनमा छलफल हुनेछ।

सम्मेलनमा एक सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । नेपालभित्र र बाहिर कार्यरत विज्ञ, नेपालबारे चासो राख्ने विदेशी विज्ञ, नेपाल सरकारका नीति निर्माता, स्वतन्त्र बुद्धिजीवी, नेपालको निजी क्षेत्र, नेपालस्थित कूटनीतिज्ञ लगायत विविध क्षेत्रका विज्ञसहित चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement