मालपोतका थप नौ कर्मचारीविरुद्ध मुद्दा दायर, कीर्ते जग्गाधनी खडा गरी बिक्री गरेको आरोप

Advertisement

काठमाडौं । गएको सोमबार मात्रै मालतोप कार्यालयका १६ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनः नौ जना कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले मालपोत कार्यालय डिल्लीबजार र दमकका कर्मचारीसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि मुद्दा दर्ता गरिएका १६ जनाले जस्तै यी नौ जनाले पनि कीर्ते जग्गाधनी खडा गरी बिक्रीमा संलग्न रहेको अख्तियारको आरोप छ ।

आयोगले मालपोत कार्यालय डिल्लीजारका मालपोत अधिकृत केशव नेउपाने, राजेन्द्र फुयाँल, नायब सुब्बा लक्ष्मणप्रसाद भट्टराई, खरिदार विजयभक्त श्रेष्ठ, मालपोत कार्यालय दमकका मालपोत अधिकृत अग्नि घिमिरे, नायब सुब्बाद्वय डिल्लीराम कोइराला र जयन्द्रराज खड्काविरुद्ध मुद्दा दायर गरेको छ ।

यस्तै वयरवन–९ मोरङका फौदराज लिम्बू र अभिवक्ता चन्द्र खनालविरुद्ध रु एक करोड २० लाख बराबरको बिगोसमेत असुलउपर गर्न माग गर्दै आयोगले मुद्दा दायर गरेको जनाएको छ ।

मालपोत कार्यालय, डिल्लीबजार र दमकका कर्मचारीको मिलेमतोमा टेकमाया आङहाङको नाममा रहेको जग्गाको कीर्ते जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको हो । झापा दमक नगरपालिका–४ मा रहेको कित्ता नम्बर ४८७३ र ४८७५ को जग्गाको कीर्ते जग्गाधनी दर्ता प्रमाणपुर्जा बनाई नक्कली जग्गाधनी खडा गरी मालपोत कार्यालय, डिल्लीबजारबाट २०६९ साल फागुन ३१ मा जिल्ला बाहिरको (बेजिल्ले) रजिस्ट्रेशनको लिखत पारित गराएको आयोगको भनाई छ ।

Advertisement

Advertisement

Advertisement