अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ मा नेपाल राष्ट्रिय दिवस

Advertisement

काठमाडौं । बेइजिङमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ मा आज सोमबार नेपाल राष्ट्रिय दिवस मनाइएको छ । सो कार्यक्रमको आयोजना नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइइजी) को संयुक्त तत्वावधानमा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तव्य राख्दै चीनका लागि नेपाली राजदूत महामहिम लीलामणि पौड्यालले पृथ्वीको कुल भूभागमध्ये सानो अंशमात्र ओगट्ने भएपनि नेपालमा जैविक विविधताको विपुल सम्पदा रहेको उल्लेख गर्दे यस प्रदर्शनीस्थलमा नेपालको सहभागिताको विशेष महत्त्व रहेको बताए। राजदूत पौड्यालले नेपालको अनुपम साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक विशेषताको चर्चा गर्दै आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आमन्त्रण गरे ।

अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी बेइजिङ २०१९ का प्रमुख इन्जिनियर झाङ लानियन ले यस विश्वकै हालसम्मको विशालतम वागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बाटिका नामक नेपाल पभिलियनको विशेष स्थान रहेको उल्लेख गर्दै यस प्रदर्शनी अवधिभरि नेपालको सक्रिय सहभागिताको सराहना गरे ।

प्रदर्शनीका आयोजक एवम् विभिन्न देशका प्रदर्शकहरु, विदेशी कूटनीतिक प्रतिनिधिहरु, बेइजिङस्थित नेपाली समुदाय तथा चिनियाँ सर्वसाधारण सहित् २५० सय जना भन्दा बढी सहभागी रहेको सो कार्यक्रममा कुमारी स्वागत नृत्यका साथै विविध नेपाली नृत्यसहितको साँस्कृतिक कार्यक्रम एवम् नेपाली खानाको व्यवस्था गरिएको थियो ।

प्रदर्शनीस्थलमा रहेको लुम्बिनी शान्ति बाटिका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले २८ अप्रिल २०१९ मा उद्घाटन गरेका थिए । सो प्रदर्शनी अक्टोबर २०१९ सम्म जारी रहनेछ ।

Advertisement

Advertisement

Advertisement