काठमाडौं । अब सिटिजन्स बैंकको एटीएम कार्डले अन्य बैंकको एटीएमबाट पनि पैसा झिक्न मिल्ने भएको छ । गत भदौ १५ गते आइतबारका दिन चिनियाँ ह्याकरले सिस्टम ह्याक गरेर पैसा लुट्ने प्रयास गरेपछि राष्ट्र बैंकले केही समयको लागि सबै बैंकको एटीएम बन्द गर्न निर्देशन दिएको थियो भने पछि एउटा बैंकको एटीएम प्रयोग गरेर अर्को बैंकबाट पैसा झिक्न बन्द गरिएको थियो ।
तर,अब भने सिटिजन्सले ग्राहकको असहजतालाई सहज बनाउन सिटिजन्सको एटीएम कार्ड अन्य बैंकमा पनि प्रयोग गरेर पैसा झिक्न मिल्ने बनाएको हो । बैंकले एक पटकमा २० हजार गरी एकदिनमा ६० हजार रुपियाँसम्म झिक्न मिल्ने व्यवस्था मिलाएको छ ।
त्यस्तै, गत भदौ १५ गते नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेकासँगै प्रहरीले रु एक करोड २६ लाख नेपाली रुपियाँ र नौ हजारभन्दा बढी अमेरिकन डलर बरामद गरेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको थियो ।