गैरआवासीय नेपाली विश्व सम्मेलनको अघिल्लो दिन संघको कार्यालय अस्तव्यस्त (फोटोफिचर)

Advertisement

काठमाडौं । हरेक पटक अव्यवस्थित र होहल्लाका बीच हुने गरेको गैरआवासीय नेपाली संघको महाधिवेशन यस पटक पनि उही शैली देखिएको छ । नाम दर्ताको अन्तिम दिन सोमबार संघको बालुवाटारस्थित मुख्यालयमा अनियन्त्रित भीड देखिन्थ्यो ।

नाम दर्ताका लागि एक साताअघिदेखि समय भए पनि अधिकांशले अन्तिम समयमा आएर दर्ता गर्न खोज्दा अव्यवस्थित हुन पुगेको हो । दुई हजार आठसयभन्दा बढि प्रतिनिधि सहभागी हुने संघको यस महाधिवेशनमा आइतबारसम्म जम्मा सात सयले नाम दर्ता गरेका थिए ।

आयोजकले नामावली दर्ता व्यवस्थित गर्न नसकेको भन्दै सोमबारको पत्रकार सम्मेलनमै केही सदस्यले आपत्ति समेत जनाए । आयोजकमध्येका एक संघका महासचिव बद्र केसीले भने लामो समय दिँदा पनि अगाडि नाम दर्ता नगर्ने र अन्तिममा आएर भीड लाग्ने नेपालीहरुको पूरानो बानी रहेको भन्दै यसमा आफूहरुको दोष नरहेको बताए ।

उनले एमआईएस सिस्टम प्रयोग गरेर नाम गर्दा गर्न आग्रह गर्दा साना मुलुकका प्रतिनिधिहरुले नाम दर्ता गरे पनि ठूला मुलुकका प्रतिनिधिहरुले सिस्टम प्रयोग नगर्दा समस्या सिर्जना भएको बताए ।

अस्तव्यवस्ताका बीच गरिएको पत्रकार सम्मेलनमा केसीले लाप्राकमा भूकम्प पीडितलाई घर बनाउँदा तथा संघको मुख्य कार्यालय बनाउँदा पैसा धेरै खर्च भएकाले ऋण लिनुपरेको स्वीकार गर्दै यद्यपि संघ आर्थिकरुपमा कमजोर भने नरहेको जिकिर गरे । सरकारी जग्गामा संघको भवन बनेको विषयमा रहेको अन्योलताबारेको प्रश्नमा उनले आफूहरुले १२ करोड ७० लाख तिरेर किनेको जग्गाको लालपुर्जा रहेको तर पछि मात्रै जग्गाको विवाद बाहिर आएकाले आफूहरु ठगिएको बताए ।

यो चुनावी बर्ष भएकाले पनि संघको कार्यालय परिसरमा भोट माग्ने र रमाइलो हेर्नेहरुको निकै ठूलो भीड लागेको थियो । अधिकांश प्रतिनिधिहरु राजनीतिक गफगाफ र एकले अर्काको आलोचना गर्नमा व्यस्त देखिन्थे । प्रतिनिधिहरुको भीड लाडिरहँदा भवनभित्र निर्माणको काम पनि धमाधम यही बेला भईरहेको थियो ।

संघको नयाँ अध्यक्षका लागि हालका महासचिव कुमार पन्त र उपाध्यक्ष कुल आचार्यले प्रतिस्पर्धा गर्दैछन् । पन्त सत्तारुढ दल नेकपाका निकटका हुन भने आचार्य काँग्रेसनिकटका हुन् । गैरआवासीय नेपाली संघमा ८१ मुलुकका झण्डै एक लाख सदस्यहरुबाट दुई हजार आठसय भन्दा बढि प्रतिनिधिहरु अधिवेशनमा सहभागी हुँदैछन् ।

मगलबारबाट सुरु हुुने संघको महाधिवेशनसँगै गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको राष्ट्रपति विद्या भण्डारीले उदघाटन गर्ने जनाइएको छ । महाधिवेशनबाट ४२ जना पदाधिकारीहरु निर्वाचित हुनेछन् । तीन दिने यस कार्यक्रममा नेतृत्व चयनबाहेक विभिन्न विषयहरुमा कार्यपत्र प्रस्तुती र छलफलसमेत हुने जनाइएको छ । संघका प्रवक्ताले सम्मेलन तथा महाधिवेशनका लागि आवश्यक सबै तयारी भइरहेको बताए ।

Advertisement

Advertisement

Advertisement