‘टुर दी पोखरा’ मार्फत ‘थोपा थोपा इन्धन बचाऔँ’को सन्देश(फोटो फिचरसहित)

Advertisement

पोखरा । शनिबार बिहानै पोखराको प्रदर्शनी केन्द्रमा हजारौँ साइकल यात्रीको जमघट थियो । एकै स्थानमा यतिधेरै साइकल यात्रीको जमघट गराएको थियो साइकल सिटी पोखराले । उक्त पाँचौ संस्करणको ‘टुर दी पोखरा’ कार्यक्रममा सहभागी हुन ती साइकल यात्री उपस्थित भएका थिए, कार्यक्रम नेपाल आयल निगमको सहयोगमा सम्पन्न भयो ।

‘थोपा थोपा इन्धन बचाऔँ’ भन्ने नारा सहित उक्त साइकल र्याली सम्पन्न भएको हो । उक्त कार्यक्रममा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी, वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा प्रमुख अतिथि पोखराका मेयर जिसीले साइकल चलाउन स्वास्थ्यका लागि फाइदाजनक रहेको बताए । ‘साइकल चलाउँदा एकातिर स्वास्थ्य राम्रो हुन्छ, अर्कातिर इन्धन बचत हुन्छ’–उनले भने । अहिले पोखरा महानगरले भौतिक संरचना बनाउँदा साइकल लेन बनाउने गरेको बताए । उनले भने–‘पोखरालाई साइकल सिटीका रुपमा विकास गर्न जुटेका छौँ ।’

त्यसैगरी उक्त कार्यक्रमलाई संबोधन गर्दै विशिष्ट अतिथिद्वय मह जोडीले समेत साइकल चलाउनुको महत्वबारेमा बताउँदै बेलैमा स्वास्थ्यप्रति सचेत हुन आग्रह गरे । इन्धनको प्रयोग घटाउन र हाम्रो देशको आर्थिक उन्नत्तिका लागि समेत धेरै भन्दा धेरै जनताहरुले साइकल चलाउनु पर्छ–महजोडीको अनुरोध थियो ।

कार्यक्रमको सहयोगी नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले इन्धन बेच्ने संस्था आयल निगम नै ‘थोपा थोपा इन्धन बचाऔँ’ भन्ने अभियानमा लागेको बताए । इन्धन प्रयोग घटाउन र आफ्नो स्वास्थ्य बचाउनका लागि समेत साइकल चलाउनु पर्ने उनले बताए । इन्धन खपत कम गर्दा देशको पैसा कम विदेशिन्छ, जसले गर्दा हाम्रो देशको ब्यापार घाटा कम हुन्छ–प्रबन्ध निर्देशक पौडेलले भने ।

आगामी दिनमा देशका अन्य स्थानमा समेत इन्धन खपत कम गर्ने खालका चेनतामूलक कार्यक्रमहरुमा सहयोगी भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

करीब एक हजार साइकल यात्री सहभागी र्यालीको मुख्य उद्देश्य कास्कीलाई साइकल सिटीका रुपमा विकास गर्ने हो–साइकल सिटीका अध्यक्ष राजन गोंगजुले बताए । साइकल चलाउनका लागि मानिसहरु आकर्षिक भएभने इन्धन बचाउन मद्दत पुग्छ–उनले भने ।

झण्डै ३० किलोमिटर दूरी तय गरेको साइकल र्यालीमा कास्की सहित काठमाडौँ, बाग्लुङ, स्याङ्जा, पर्वत, धरान, नेपालगञ्ज लगायतका जिल्लाबाट पनि सहभागिता रहेको थियो ।

पोखरा प्रदर्शनी केन्द्रबाट शुरु भएको उक्त साइकल र्याली पृथ्वीचोक, पोखरा बसपार्क, बुद्धचोक, रामबजार, अमरसिंहचोक, हस्पिटल चोक, रानीपौवा, महेन्द्र पुल, सिद्धार्थ चोक, भैरव टोल, बगर, पुरानो टुँडिखेल, हरिचोक, हेम्जा, मिलनचोक हुँदै हेम्जाकोटमा पुगेर समापन भएको थियो ।

कार्यक्रममा टुर दि पोखराका लागि सद्भावनादूत घोषित बिशाल गर्बुजा र हालै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद(साग) मा साइक्लिङ प्रतियोगितामा रजत पदक विजेता जमुना थापालाई साइकल सिटी पोखराले सम्मान गरेको थियो ।























Advertisement

Advertisement

Advertisement