प्रहरीको ‘सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै ३ लाख ठगी गर्ने राजु कार्की पक्राउ

काठमाडोँ । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भनी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ‘नेपाल प्रहरीको सई हुँ, एयरपोर्टमा कार्यरत छु’ भन्दै सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका लक्ष्मण गिरीलाई ठगी गर्ने रामेछापका २६ वर्षीय राजु कार्कीलाई बिहीबार साँझ कलङ्कीबाट पक्राउ गरेको हो ।महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले पक्राउ कार्कीले आफू सई भएको र आफ्नो खातामा ३० लाखभन्दा बढी रकम रहेकामा छानबिन हुने डरले गिरीलाई रकम पठाउनका लागि दुवै व्यक्तिबीच बैंकको ट्रान्जेशन हुनुपर्छ भनी गिरिसँग तीन लाख लिएर ठगी गरेको बताए ।“गिरीसँग कार्कीले तीन लाखको चेक लिएर नेपाल बैंक लिमिटेड कालीमाटीमा पैसा साटी ठगी गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका कार्कीलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ ।प्रहरीले पक्राउ परेका कार्कीसँग नगद रु सात हजार ५००, मोटरसाइकल एक, मोबाइल सेट एक र मोटरसाइकलको ब्लू बुक एक थान बरामद गरेको छ । पक्राउ परेका कार्की यसअघि पनि ठगी मुद्दामा ६ महिना कैद र रु ६८ हजार धरौटीमा छुटेका व्यक्ति हुन् ।