माननीयज्यूलाई इज्जत जोगाउनै मुस्किल !

Advertisement

काठमाडौं । ‘मन्त्री सचिवलाई भेट्न खोज्यो भने समय नै नपाइने, धर्ना बसेर भेट्नुपर्ने, लेटर प्याडमा लेखेर बुझायो भने फाइल नै हराउने, गाउँमा जनताले विकास माग्छन्, हामी जन प्रतिनिधीले कसरी इज्जत जोगाउने ?’, यो प्रश्न हो रौतहट क्षेत्र नम्बर १ का सांसद अनिल कुमार झाको ।

उनी राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका सदस्य समेत हुन् । सोमबार विकास तथा प्रविधि समितिको बैठकमा यसरी बिलौना गर्नेहरुमा उनी एक्ला थिएनन् । हुम्लाकी काँग्रेस सांसद रंगमति शाही, बाजुराकी आशा कुमारी बि.क पनि थिए ।

तर उनीहरुको कुरा सुन्न समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ भने थिएनन् ।  मन्त्रालयका सचिव देवेन्द्र कार्की र सडक विभागका महानिर्देशक केशब कुमार शर्मालाई सांसदहरुको बिलौना र आक्रोश सुन्ने अनि आश्वस्त पार्ने जिम्मा आईपरेको थियो ।

हुम्लाकी माननीय रंगमति शाहीले आक्रोश भरिएको मुद्रामा बिलौना पोख्न भ्याइन् । उनले समिति बैठकमा मन्त्री नआएको भन्दै आपक्ति जनाइन् र अघि थपिन–‘लेटर प्याडमा लेखर पुल माग्दै बुझाएको दुई वर्ष भयो, बजेट दिँदैनन्, हामीसँग जनताको आशा छ, अब के भन्दै गाउँ जाने ?’

उनलाई साथ दिँदै अर्की सांसद आशा बिकले गुनासो थपिन–‘विकासका काम अलपत्र पार्ने ठेकेदारसँगै हामी सांसदलाई पनि जुत्ताको माला र कालोमोसो दल्छु भन्छन जन्ता, हामी के मुख देखाउन गाउँ जाने ?’

पूर्व मन्त्री समेत रहेका अर्का सांसद टोप बहादुर रायमाझीले पनि विकास निर्माणबाट जन प्रतिनिधीलाई टाढा राख्न नहुने धारणा राखे । उनले कानुन मार्फत सुशासन र विकास दिन्छौं भन्ने प्रतिवद्धता गरेर जनताबाट निर्वाचित भएकाले विकासबाट अलग राख्न हुने बताए ।

समिति बैठकमा सांसदहरुको बिलौना र आक्रोश सुन्दा लाग्थ्यो उनीहरु कर्मचारीबाट पीडित छन्, अपहेलित र मन्त्रीहरुले समय नदिँदा हैरान भैसकेका छन् । नेपालको भौगोलिक अवस्थिति, आर्थिक, सामाजिक परिवेशका कारण पनि सांसदहरुले आफुलाई विकासँग जोड्न चाहेका हुन् ।

सुबिधा जनक बहुमतका साथ सरकार गठन भएको २ वर्ष पुग्नै लाग्दा पनि विकासले नयाँ फेरो समाउन सकिरहेको छैन् । नागरिकले त परैको कुरा स्वंय सांसदले पनि चि त्त बुझाउन नसकिरहेको स्पष्ट देखिन्छ ।

Advertisement

Advertisement

Advertisement