नेपालमै जडिबुटी उद्योग वा प्रशोधन केन्द्र खोल्न मुख्यमन्त्री पौडेललाई आचार्य बालकृष्णको सुझाव

Advertisement

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसंग आयुर्वेदका ज्ञाता तथा पतञ्जली योगपिठका आचार्य बालकृष्णले सोमबार बिहान भेटवार्ता गरेका छन् ।

मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्व चर्चित बन्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आचार्य प्रति आफूहरुले गर्व गर्ने गरेको बताए ।

पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको समृद्धिमा समेत प्रयोग गर्न अनुरोध गरे । उनले बाग्मती प्रदेश सरकार प्रदेशको जडिबुटीहरुको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभ लिन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकोले लगानी भित्र्याउन अनुरोध गरे । आयुर्बेदमा नेपालीहरुको बिश्वास बढ्दै गएको सन्दर्भमा यसको महत्व झन बढेको बताए ।

जवाफमा आचार्य बालकृष्णले नेपालमा रहेका बहुमुल्य जडीबुटीहरु अन्यत्रबाटै किनेर त्यसबाट आफूहरुले दवाई बनाएर नेपालमा नै पठाइरहेको बताउदै नेपालमै उद्योग वा प्रशोधन केन्द्रहरु खोल्न सके देशले बढी आम्दानी गर्न सक्ने उल्लेख गरे ।

उनले नेपालका बहुमुल्य जडिबुटीहरुको अवैज्ञानिक दोहन भइरहेको समेत बताए । जडिबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा वृक्षारोपण वा त्यसको वृद्धि विकासका कुनैपनि काम नभएको उनको भनाई थियो ।

त्यसो हुँदा अघिल्लो वर्ष प्रशस्त पाइरहेको जडिबुटीहरु अर्को वर्ष कम र अझ अर्को वर्ष झन् झन् कम हुँदै गएको पाइएकोले त्यसतर्फ बेलैमा सोच्न जरुरी रहेको उनको धारणा थियो ।

Advertisement

Advertisement

Advertisement