एकदमै थोरै पुँजी भएकाले पनि सेयर किन्न मिल्नेगरी धितोपत्र ऐन संशोधन गर्दैछौंः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले एकदमै थोरै पुँजी भएकाले पनि लगानी गर्न सक्नेगरी धितोपत्र ऐन संशोधन गर्न लागिएको बताएका छन् । ‘धितोपत्र सम्बन्धी पहिलो संशोधन विधेयक, २०७६’ माथिको छलफलका क्रममा संसदमा बिहीबार बोल्दै उनले, ‘एकदमै आयस्तर कम भएकाहरूले पनि सेयर किन्न सक्ने व्यवस्था यो विधेयकमा गरिएको छ । लघुवित्त संस्थाहरूबाट ऋण लिएर भएपनि सेयर किन्नसक्ने व्यवस्थासम्म पनि गरिएको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पुँजी बजारलाई पुँजीपतिहरूको कारोबार गर्ने थलोको रुपमा मात्रै नहेर्न आग्रह गर्दै सेयर बजारमा सानो पुँजीलाई समेत स्थान दिइएकोले सीमित पुँजीपतिहरूको मात्रै कारोबार गर्ने थलोको रूपमा बुझ्न नहुने तर्क गरे ।

नेपालको धितोपत्र बजारमा १५ लाख १६ हजारभन्दा बढीको सहभागिता रहेको र सानो पुँजीबाट समेत सेयर खरिद गर्न सकिने व्यवस्था गरिएकाले पुँजीबजार सबैको भएको भन्दै उनले पुँजी बजार साना लगानीकर्ताका लागि लगानीको विकल्पको क्षेत्र भएको बताए ।

खतिवडाले ठूलो जोखिम लिएर उद्योग खोल्न नसक्ने तर सानो जोखिममा लगानी गर्न चाहनेका लागि पुँजी बजार एउटा माध्यम भएको भन्दै थोरै सेयर हाल्न चाहनेहरूको लागि पनि सेयर सुनिश्चित गरिदिने व्यवस्था धितोपत्र ऐन र नियमावलीले व्यवस्थित गरेको बताए । अब हरेक किसिमका नेपाली पनि कुनै कुनै रुपमा मालिम हुनसक्ने आधार बनेको उनको तर्क छ ।

खतिवडाले साना लगानीकर्ताहरुको समेत पुँजी बजारमा सहभागिता बढ्यो भने त्यसले अलिकति आफ्नो पूँजी निर्माणमा पनि सहयोग गर्ने भन्दै सोही कुरालाई ममन गरेर धितोपत्र ऐन संशोधन गर्न लागिएको बताए । यसलाई अब सीमित पुँजीपति वर्गको मात्रै पुँजी कारोबार गर्ने अवस्था हो भन्नुपर्छ भन्ने आफूलाई नलागेको उनले बताए ।

धितोपत्रसम्वन्धी विधेयकले पुँजी बजारको नियामक निकायलाई थप स्वायत्त र बलियो बनाउने दावी गर्दै अब नियामकले पुँजी बजारलाई प्रतिस्प्रधात्मक, पारदर्शी र कानुनसम्मत बनाएर अघि बढाउन सक्ने बताए ।

Advertisement

Advertisement

Advertisement