अब धरानमै सुरु भयो कोरोनाको परिक्षण, काठमाडौं ल्याउने झण्झट सकियो

,   १५ चैत्र २०७६, शनिबार, ०७:५४ pm   

धरान । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नमूना परीक्षण शनिबारदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुरु गरिएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले धरानबाट पनि शनिबारदेखि नमूना परीक्षण शुरु गरिएको जानकारी दिए । यसअघि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना भाइरस परीक्षण गरिन्थ्यो ।

उनका अनुसार चीनबाट सामग्री आएपछि हेटौँडा, नेपालगञ्ज र पोखरामा पनि नमूना परीक्षण गरिने छ ।
उनले शनिबारदेखि कोभिड–१९ का बारे सर्वसाधारणलाई जानकारी दिन थप एक कल सेन्टर विस्तार गरिएको जानकारी दिए । उनका अनुसार पहिले १११५ नम्बर र अर्को नयाँ ११३३ नम्बरको कल सेन्टर थप गरिएको छ ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार शनिबार थप एक जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै आएकी वाग्लुङ घर भएकी १९ वर्षीया युवतीमा सङ्क्रमण देखिएको छ । ती युवतीसँंगै नेपाली पाँच जनामा सङ्क्रमण देखिएको छ । ती युवतीको वाग्लुङमा नै उपचार हुने उनले जानकारी दिए । दिनदिनै सङ्क्रमण देखिएपछि नमूना परीक्षणको दायरा बढाइने उनले बताए । उनले सङ्क्रमण धेरै फैलिन नदिनका लागि सर्वसाधारणलाई घरभित्र बस्न अनुरोधसमेत गरे ।

aecc

यसैगरी अहिलेसम्म ८७५ जनामा नमूना परीक्षण गरिएकामा पाँच जनामा मात्र सङ्क्रमण देखिएको छ । उनले शुक्रबार धनगढीस्थित प्रादेशिक अस्पतालमा सङ्क्रमण देखिएका एक युवकको अवस्था अहिले सामान्य रहेकाले तिनलाई उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र तालीम दिइएको जानकारी दिए । उनका अनुसार अहिले टेकु अस्पतालमा चार जना आइसोलेशन र छ जना क्वारेन्टाइनमा छन् ।